नेभिगेशन
समाचार

वराहक्षेत्र मन्दिर परिसरको बस्तीमा सप्तकोशीले कटान गर्न थाल्यो, बस्तीमुनिको पहिरो खस्दै

वराहक्षेत्र (सुनसरी) । सुनसरीको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर र बस्ती कोशी कटानको चपेटामा परेको छ । वराहक्षेत्र बस्तीमुनि बगिरहेको नदीले कटान गर्न थालेको छ । 

सप्तकोशी नदीले कटान गर्न थालेपछि वराहक्षेत्र मन्दिर परिसरका झण्डै ५० घरसहित धर्तीको पहिलो तीर्थस्थलका रुपमा रहेको पुरातात्त्विक मन्दिरसमेत जोखिममा परेको छ । 

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बस्ती जोखिममा रहेको र नदीले कटान गर्न थालेको बताए । २० वर्षको अन्तरालमा सप्तकोशी नदीले २० मिटरभन्दा बढी कटान गरिसकेको अध्यक्ष श्रेष्ठले बताए । 

'२० वर्षको अन्तरालमा कोशीले २० मिटर लगिसक्यो, अब ८/१० मिटर भन्दा कम दूरीमा नदी बगिरहेको छ, कटान पनि गरिरहेको छ,' अध्यक्ष श्रेष्ठले भने,' हिजोमात्रै पहिरो खसेको छ ।' 

पहिरोको अवस्था देखाउँदै अध्यक्ष श्रेष्ठले कोशी नदीले देख्दा देख्दै केही वर्षको अन्तरालमा पुरानो बाटो, बाटोमाथिको ठूलो आँपको रुख, आँपको रुखमाथि रहेको विद्यालयको पुरानो संरचना र विद्यालयको चउरसमेत कोशीले बगाइसकेको बताए ।

वराहक्षेत्र मन्दिर परिसरको बस्तीमा रहेको वराहक्षेत्र आधारभूत विद्यालय २०४५ सालमा आएको बाढीले जोखिमपूर्ण अवस्था बनाएपछि २०४६ सालमा स्थानान्तरण गरिएको थियो । विद्यालय स्थानान्तरण गरिए पनि त्यहाँ विद्यालयको पुरानो संरचना यथावत् थियो । विद्यालयको पुरानो संरचना कोशीले लगिसकेको छ भने उक्त स्थानमा रहेको सरस्वती माताको मन्दिरको भग्नावशेष भने देख्न सकिन्छ । उक्त विद्यालय पहिरोको जोखिमले दुई पटक स्थानान्तरण भइसकेको छ । 

'कोशी किनार हुँदै वराहक्षेत्र आउने बाटो बाढीले लगेपछि हालको नयाँ बाटो खोलिएको थियो,' गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, 'अब त बस्ती नै लाने हो कि भन्ने त्रास फैलिएको छ ।' 

सोमबार सङ्घीय सांसद सिर्जना श्रेष्ठले वराहक्षेत्र मन्दिरको स्थलगत अवलोकन गरेकी थिइन् । उनले वराहक्षेत्र जोगाउने प्रतिबद्धता गरेकी छन् । 'वराहक्षेत्रको विषय सदनमा उठाउने र कोशीको त्रासबाट वराहक्षेत्रलाई मूक्त गर्ने माननीयज्यूले प्रतिबद्धता गर्नु भएको छ ।' समितिका अध्यक्ष श्रेष्ठले सुनाए । 

केही दिनअघि सङ्घीय पर्यटन मन्त्री खडकराज पौडेलले सुनसरी जिल्लाका विभिन्न धार्मिक पर्यटकीय स्थलको अवलोकन गरेका थिए । तर उनी वराहक्षेत्र भने आएनन् । समय अभावले उनी वराहक्षेत्र आउन नपाएको उनको सचिवालयले जनाएको छ । यद्यपि सांसद सिर्जना श्रेष्ठले मन्त्री पौडेललाई सबै कुरा अवगत गराउने र वराहक्षेत्रको संरक्षणका लागि पहल गर्ने बताइएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार