नेभिगेशन
समाचार

देशीलाइन आन्दोलन : छलफलमै चर्काचर्की, एकल निर्णय नगर्ने कार्यवाहकको कुराले बिच्किए व्यवसायी

 धरान । धरान उपमहानगरपालिकाका कार्यवहाक प्रमुख अइन्द्रविक्रम बेघाले आन्दोलनरत देशीलाइनका व्यवसायीलाई वार्तामा बोलाए तर छलफलले कुनै निष्कर्ष निकालेन ।

छलफलपछि कार्यवहाक प्रमुख बेघाले दोस्रो चरणको छलफलका लागि व्यवसायीबाट दुई जना प्रतिनिधिको नाम प्रशासन महाशाखामा टिपाउन आग्रह गरे । धरानमा एकतर्फी सडक सञ्चालन गर्ने निर्णय कार्यपालिका बैठकले गरेकाले आफूले तत्कालै एकल निर्णय गर्न नसक्ने र व्यवसायीका प्रतिनिधिसँग छलफल अगाडि बढाउन दुई जना प्रतिनिधिको नाम टिपाउन आग्रह गरे । चर्काचर्कीपछि आफ्नो निर्णय सुनाएका कार्यवाहक प्रमुख बेघाको कुरा सुनेपछि व्यवसायी झन सारो बिच्किए । 

व्यवसायीको मुख्य माग सडक दुईतर्फी सञ्चालन गरिनु हो । तर छलफलमा बोलाएपछि आन्दोलनकारीको सामान्य मागसमेत पूरा नभएको व्यवसायीको गुनासो छ । 

'ट्रक पसेको ठाउँमा बस पसाउँदा के हुन्छ त ? बाइक पनि उहाँहरूले ट्रायलमा छिराउने निर्णय गर्नुभएको रहेछ, बसलाई पनि देशीलाइन हुँदै भानुचोक छिराउँदा के हुन्छ ?,' व्यवसायीका प्रतिनिधिले भने, 'भानुचोकमा पिक अप एण्ड ड्रपको नीति लागू गर्नुपर्छ ।' 

देशीलाइन दुईतर्फी सडकमा देखिएको विवाद समाधानका लागि वार्ता सुरु भएपछि व्यवसायीले आन्दोलनका क्रममा धरपकड भएको र मरणासन्न हुने गरी व्यापारीले कुटाइ खाएको बताए । 

छलफलमा धरान-२ का वडाध्यक्ष रमेश राई र व्यवसायीबीच चर्काचर्की नै पर्‍यो । व्यवसायीका प्रतिनिधि भूपाल चाम्लिङलगायतले व्यवसायीले देशीलाइन सडक दुईतर्फी हुनु पर्ने माग राखे । तर प्रक्रियाअनुसार निर्णय हुने भन्दै लामो विवाद, छलफल र चर्काचर्कीबीच कार्यवहाक प्रमुख बेघाले छलफल सकिएको घोषणा गरे । 

यता व्यवसायीले छलफल नसकी मेयर भागेको आरोप लगाए । व्यवसायी भूपाल चाम्लिङले अब नियमित आन्दोलनका कार्यक्रम जारी राख्ने बताए । उनले माग पूरा नहुन्जेल आन्दोलित हुने बताए । देशीलाइनका व्यवसायी ३ दिनदेखि सटर बन्द गरेर देशीलाइन दुईतर्फी हुनुपर्ने माग गर्दै आन्दोलित छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार