नेभिगेशन
समाचार

थन्किएको वर्षौं बित्यो चतरा हाइड्रोपावर, एउटा युनिट मात्रै सञ्चालनमा, बेखबर राज्य

वराहक्षेत्र (सुनसरी) । सुनसरीको वराहक्षेत्रस्थित चतरा जलविद्युत् केन्द्रको एउटा उत्पादन युनिट वर्षौंदेखि बन्द छ। तर यसलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले कुनै प्रभावकारी पहल नगर्दा ३.२ मेगावाट उत्पादन क्षमता भएको आयोजना आधा क्षमतामै सीमित भएको छ।

दुई युनिटमध्ये एउटा युनिटको गभर्नर बिग्रिएपछि केन्द्र लामो समयदेखि एउटै युनिटको भरमा सञ्चालन भइरहेको छ। अहिले केन्द्रबाट करिब १.६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ। केन्द्र प्रमुख अनिल साहका अनुसार बन्द युनिट मर्मत हुन सके केन्द्रले पुनः ३.२ मेगावाट विद्युत् उत्पादन गर्न सक्छ।

चतरा जलविद्युत् केन्द्रले सुनसरी–मोरङ सिँचाइ आयोजनाको मुख्य नहरको पानी प्रयोग गरेर विद्युत् उत्पादन गर्दै आएको छ। उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत धरान सबस्टेसनमा जोडिएको छ। तर उत्पादन दोब्बर बनाउन सक्ने उपकरण वर्षौंदेखि थन्किएको अवस्थामा रहे पनि मर्मतका लागि सम्बन्धित निकायले ठोस निर्णय लिन सकेको छैन।

यो पहिलो पटक भने होइन। केही वर्षअघि यान्त्रिक समस्या देखिँदा दुवै युनिट बन्द भएर केन्द्र करिब सात वर्ष पूर्ण रूपमा ठप्प बनेको थियो। त्यसपछि जर्मन कम्पनी एन्ड्रिज हाइड्रोबाट उपकरण ल्याएर मर्मत गरिएपछि उत्पादन पुनः सुरु भए पनि एउटा युनिट फेरि बिग्रिएर बन्द भयो। त्यसयता उक्त युनिट सञ्चालनमा ल्याउने काम अलपत्र परेको छ।

नेपालमा विद्युत् माग बढिरहेको र उत्पादन वृद्धि सरकारको प्राथमिकतामा रहेको दाबी भइरहेका बेला सञ्चालनमै रहेको जलविद्युत् केन्द्रको एउटा युनिट वर्षौंदेखि निष्क्रिय रहनु नियामक निकाय र व्यवस्थापनको उदासीनताको उदाहरण बनेको स्थानीयको गुनासो छ।

स्थलगत अवलोकनका लागि पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी धरानका सभापति सुमन श्रेष्ठले चतरा जलविद्युत् केन्द्र विद्युत् उत्पादन गर्ने आयोजना मात्र नभई चतरा क्षेत्रको पहिचानसँग जोडिएको सम्पत्ति भएको बताए । उनका अनुसार बन्द युनिट तत्काल मर्मत गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन सके राष्ट्रिय विद्युत् प्रणालीलाई थप ऊर्जा उपलब्ध हुनुका साथै क्षेत्रको गौरवसमेत पुनः स्थापित हुनेछ । केही समयपछि ऊर्जा मन्त्रीले यस क्षेत्रको भ्रमण गर्ने र चतरा हाइड्रोपावरको विषयलाई विशेष रुपमा उठाइने बताए । 

चतरा जलविद्युत् केन्द्र नेपाल–भारतबीच सन् १९५४ मा भएको कोशी सम्झौताअन्तर्गत निर्माण गरिएको सुनसरी–मोरङ सिँचाइ आयोजनासँग जोडिएको आयोजना हो। सप्तकोशी नदीबाट नहरमा आउने बालुवा हटाउन प्रयोग हुने ड्रेडजर मेसिन सञ्चालनका लागि आवश्यक विद्युत् आपूर्ति गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्र अहिले आफ्नै उपकरण बिग्रिएर वर्षौंदेखि आधा क्षमतामा सीमित बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार