नेभिगेशन
समाचार

क्युआरटी विघटनको निर्णयले श्रम संस्कृति पार्टीमा विवाद, ३४ सदस्यद्वारा निर्णय फिर्ता लिन माग

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले पार्टीको क्युआरटी (क्विक रेस्पोन्स टिम) विघटन गरी सुरक्षा विभाग गठन गर्ने घोषणा गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। क्युआरटीका सदस्यहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णय विधानविपरीत, अलोकतान्त्रिक र एकपक्षीय भएको आरोप लगाएका छन्।

सोमबार जारी विज्ञप्तिमा अध्यक्ष राईले फेसबुकमार्फत क्युआरटी विघटन गरी सुरक्षा विभाग गठन गर्ने घोषणा गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा आफूहरू पार्टीको क्युआरटीको जिम्मेवारीमा आबद्ध रही पार्टीको विधान र जिम्मेवारीअनुसार आफ्नो क्षमता, ज्ञान, समय तथा श्रममार्फत अधिकतम योगदान गर्दै आएको दाबी गरिएको छ।

क्युआरटी सदस्यहरूले कुनै छलफल वा सरसल्लाह नगरी आफूहरू आबद्ध रहेको टिम विघटन गरी विधानमा व्यवस्था नभएको सुरक्षा विभाग गठन गर्ने घोषणा गर्नु पार्टी विधानविपरीत र अलोकतान्त्रिक कदम भएको बताएका छन्।

विज्ञप्तिमा अध्यक्ष राईसँग उक्त निर्णय तत्काल फिर्ता लिन माग गरिएको छ। अन्यथा क्युआरटीलाई पुनर्गठन गर्दै पार्टीलाई विधान, विधि र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सञ्चालन गराउन अभियान चलाइने चेतावनी दिइएको छ।

त्यस्तै, पार्टीभित्र देखिएका विसंगति, स्वेच्छाचारिता तथा विधानविपरीत गतिविधिहरू सार्वजनिक गर्दै पार्टी शुद्धीकरण अभियान सञ्चालन गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
क्युआरटीका ३४ सदस्यको तर्फबाट जारी गरिएको उक्त विज्ञप्तिमा ज्ञानु चाम्लिङ संयोजक छन्।

क्युआरटीले प्राकृतिक प्रकोप र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ । 

'हामीसँग सल्लाह नगरी नै अध्यक्षज्यूले विघटनको घोषणा गर्नुभयो, पार्टीबाटै हामीलाई निष्कासन गरे पनि क्युआरटी निरन्तर रहने छ ।' सयोजक चाम्लिङले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार