नेभिगेशन
समाचार

बेलायतमा हुने 'सन्त संसद' मा नेपालको प्रतिनिधित्व गर्दै जगद्गुरु महायोगी सिद्धबाबा सहभागी हुने

काठमाडौं । आगामी १४ अगस्ट २०२६ मा बेलायतको ह्यारोस्थित ह्यारो लेजर सेन्टर (बायरन हल) मा आयोजना हुने अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन 'सन्त संसद' मा नेपालबाट श्रीराम ताराकब्रह्म पीठ, वराहक्षेत्र–चतराधाम का पीठाधीश अनन्तश्री विभूषित जगद्गुरु महायोगी सिद्धबाबा सहभागी हुने भएका छन् ।

आयोजकका अनुसार साँझ ५ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विश्वका विभिन्न मुलुकका पूजनीय सन्त, आध्यात्मिक गुरु तथा विभिन्न समुदायका प्रतिनिधिहरू सहभागी हुने जगदगुरु रामानन्दाचार्य सेवा पिठले जनाएको छ । सम्मेलनमा मानवता, विश्वशान्ति, सद्भाव, सहअस्तित्व तथा 'विविधतामा एकता' को सन्देश प्रवाह गरिने कार्यक्रम छ ।

आयोजकले नेपालबाट जगद्गुरु महायोगी सिद्धबाबा एकमात्र प्रतिनिधिका रूपमा सहभागी हुने जनाएको छ । उनको सहभागिताले नेपालको सनातन आध्यात्मिक परम्परा र धार्मिक सम्पदालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने विश्वास गरिएको छ ।

सम्मेलनले विभिन्न धार्मिक तथा सांस्कृतिक समुदायबीच आपसी समझदारी, सहकार्य र आध्यात्मिक चेतनाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै सनातन दर्शनका सार्वभौमिक मूल्य र शान्तिको सन्देशलाई विश्व समुदायसमक्ष पुर्‍याउने उद्देश्य पनि सम्मेलनको रहेको आयोजकले जनाएको छ ।

बेलायतको ह्यारोमा आयोजना हुने यस सम्मेलनमा विश्वभरका आध्यात्मिक नेतृत्वलाई एकै मञ्चमा ल्याई मानव कल्याण, सामाजिक सद्भाव र विश्वशान्तिका विषयमा साझा प्रतिबद्धता व्यक्त गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार