नेभिगेशन
समाचार

काङ्ग्रेसले भन्यो- सरकार सुशासन र जवाफदेहितामा पूर्ण रूपमा असफल

काठमाडौं, साउन २०। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता र जवाफदेहिताका मामिलामा पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको छ। 

कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले सरकारका कार्यशैली र निर्णय प्रक्रियाप्रति गम्भीर असन्तोष व्यक्त गर्दै देशका विभिन्न समसामयिक विषयमा १५ बुँदे कमजोरी तथा असफलता सार्वजनिक गरेको छ।

प्रेस नोटमार्फत कांग्रेसले सुनसरीको देवाञ्जलगञ्ज–कसानगञ्ज घटना, भदौ २४ को आन्दोलन व्यवस्थापन, विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश, राहदानी खरिद प्रकरण र प्रतिनिधिसभाको नयाँ नियमावलीमा देखिएका विवादास्पद प्रावधानहरूलाई सरकारको प्रमुख असफलताका रूपमा औंल्याएको छ। 

त्यस्तै, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारविरुद्धको दोहोरो मापदण्ड, नियुक्तिमा देखिएको दलीयकरण, कूटनीतिक अपरिपक्वता, गृहमन्त्रीसम्बन्धी विवाद र सुकुम्बासी समस्याको स्थायी समाधान दिन नसकेको विषयलाई पनि जोडदार रूपमा उठाइएको छ।

यसैगरी निजी क्षेत्रमाथिको अनावश्यक हस्तक्षेप, किसानले समयमा मल नपाएको अवस्था, एलजी ग्यास संकटको व्यवस्थापनमा कमजोरी, शिक्षा तथा परीक्षा प्रणालीको अस्तव्यस्तता र जनतका माग सम्बोधन गर्ने सन्दर्भमा देखिएको उदासीनताले सरकारको अक्षमता स्पष्ट पारेको पार्टीको ठहर छ। 

सरकारले केवल नारा र आश्वासनमा अल्मलिई राजनीतिक स्टन्टबाट आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले पूर्ण पारदर्शिता र जवाफदेहिता अपनाएर जनविश्वास पुन: स्थापित गर्न आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाचार