नेभिगेशन
आर्थिक

धरानमा अर्बिन ब्रदर्श अटोले ल्यायो चेतक सी२५०१ र चेतक सी३५०३ मोडलका विद्युतीय स्कुटर

धरान । धरानस्थित अर्बिन ब्रदर्श अटोले चेतकका दुई नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले चेतक सी२५०१ र चेतक सी३५०३ मोडल नेपालमा धरानबाट बिक्री सुरु गरेको हो ।

हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा बजाजले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा यी दुई स्कुटर सार्वजनिक गरेको थियो । अब धरानमा पनि यी मोडल उपलब्ध हुने अर्बिन ब्रदर्श अटोका सञ्चालक अर्बिन तामाङले बताए । 

चेतक सी२५०१ मा २.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ११३ किलोमिटरसम्म यात्रा गर्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर रहेको छ । यसमा छिटो चार्ज गर्ने सुविधा उपलब्ध छ । उक्त सुविधामार्फत ब्याट्रीलाई शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ । स्कुटरमा रङ्गीन एलसीडी पर्दा, ब्लुटुथ जडान, संगीत सञ्चालन तथा रोक्ने सुविधा, पछाडि चलाउने सुविधा र २५ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान रहेको छ ।

चेतक सी२५०१ छवटा रङमा उपलब्ध हुनेछ । ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल र मिस्टी यल्लो रङमा उपलब्ध हुने यो स्कुटरको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, चेतक सी३५०३ मा ३.५ किलोवाट घण्टा क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको पूर्ण चार्जमा १५१ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यसको अधिकतम गति प्रतिघण्टा ७० किलोमिटर रहेको छ ।

सी३५०३ मा डिजिटल एलसीडी पर्दा, ब्लुटुथ जडान, फोनमा आउने कल तथा सन्देशको सूचना र ३५ लिटर क्षमताको सिटमुनिको भण्डारण स्थान रहेको छ । यसमा घोडाको नालजस्तो आकारको अगाडिको बत्ती राखिएको छ, जसले पुरानो चेतकको डिजाइन झल्काउने कम्पनीले जनाएको छ । सी३५०३ इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रङमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

1000230870-1787725194.jpg
धरानमा नयाँ स्कुटर सार्वजनिक गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरेले चेतकको लाइनअप विस्तारसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताए । 

गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि यी दुई नयाँ मोडलमार्फत बजाजले अझ फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको उनको भनाइ छ । 'नेपाली राइडरहरूको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर यी फरक डिजाइन र विशेषतायुक्त इलेक्ट्रिक स्कुटरहरू तयार गरिएका हुन् ।' बिक्री प्रमुख घिमिरेले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक