नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

धरानका २८ विद्यालयका ७ सय स्काउट विद्यार्थीको बृहत् पदयात्रा

धरान । धरानका २८ वटा विद्यालयमा सञ्चालित स्काउटमा आबद्ध करिब ७ सय विद्यार्थीको सहभागितामा बृहत् पदयात्रा सम्पन्न भएको छ । स्थानीय स्काउट कार्यालय धरानको वार्षिक कार्यतालिकाअनुसार स्काउटर रामकुमार राईको स्मृति दिवसको अवसर पारेर शनिबार बृहत् हाइकिङ आयोजना गरिएको हो ।

पदयात्रा धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयबाट सुरु भएर धरान–१७ स्थित ज्वालामुखी माध्यमिक विद्यालयमा पुगेर समापन भएको थियो । सहभागी विद्यार्थीलाई सुरुवातमा ‘ए’ र ‘बी’ दुई समूहमा विभाजन गरी पदयात्रा गराइएको थियो ।

स्काउट शिक्षामा सिकाइएका विभिन्न हाइकिङ सङ्केतको खोजी गर्दै दुवै समूह निर्धारित मार्गबाट अघि बढेका थिए । फरक–फरक मार्गबाट अघि बढेका दुवै समूहको सर्दु खोला पुलमा भेट भएको थियो । त्यसपछि पुनः विभिन्न सङ्केत पहिचान गर्दै विद्यार्थीहरू ज्वालामुखी माध्यमिक विद्यालय पुगेका थिए ।

1000232403-1788104585.jpg
पदयात्रा समापनपछि सहभागी विद्यार्थीले ज्वालामुखी माध्यमिक विद्यालयमै बिहानको खाना खाएका थिए । त्यसपछि विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो । विभिन्न विद्यालयबाट सहभागी स्काउट विद्यार्थीबीच मित्रता विस्तार तथा जीवनोपयोगी सीपसम्बन्धी गतिविधिसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।कार्यक्रमको संयोजन कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त तथा धरान क्रियुका लिडर सुशील राईले गरेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघा, प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी, वराहक्षेत्र नगरपालिकाका प्रमुख आयुक्त चेतनाथ भट्टराई, एभरेस्ट बोर्डिङ स्कुलका प्रिन्सिपल खगेन्द्र श्रेष्ठ तथा हिबिस्कस बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल विजय सिंह थेबेलगायतको उपस्थिति थियो ।

ज्वालामुखी माध्यमिक विद्यालयका स्काउट शिक्षक इन्द्रमणि ढुङ्गानाले समापन सत्र सञ्चालन गरेका थिए । स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

स्थानीय स्काउट कार्यालय धरानले युवा तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । हाइकिङ तथा पदयात्राका माध्यमबाट विद्यार्थीमा प्रकृतिसँग नजिक हुने भावना, साहसिकता, सामूहिकता र शारीरिक तन्दुरुस्तीको विकास हुने विश्वास गरिएको छ ।

स्काउट अभियानले युवा तथा विद्यार्थीको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक र आध्यात्मिक विकासमा जोड दिँदै वातावरण संरक्षण, विपद्का समयमा सहयोग तथा विभिन्न जीवनोपयोगी सीप विकासमा समेत प्रशिक्षण दिँदै आएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहभागी, व्यवस्थापनमा खटिएका व्यक्ति, अभिभावक तथा धरान क्रियु र वराहक्षेत्र क्रियुका रोभर तथा रेन्जरलाई स्थानीय स्काउट कार्यालय धरानले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा