नेभिगेशन
आर्थिक

धरान कृषि बजारका प्याज व्यापारी भन्छन्, केजीमा १६ रुपैयाँ भन्सार तिर्छौं

धरान । धरानस्थित कृषि बजारका व्यापारीले भारतबाट आउने प्याजमा अत्यधिक भन्सार तिर्नु परेको गुनासो गरेका छन् । नेपालमा उत्पादन हुने प्याज कृषि बजारसम्म आइनपुग्ने भएकाले भारतीय बजारमा निर्भर रहनुपर्ने प्याज व्यापारी मनोजकुमार चौधरीले बताए । 

'अहिले भारतको इन्दौरबाट प्याज आइरहेको छ, महङ्गो भएका कारण पहिले जस्तो धेरै प्याज ल्याउन सकिएको छैन,' प्याज व्यापारी चौधरी भन्छन्, 'पहिले ५/७ गाडी दिनै आउँथ्यो, अहिले १ गाडीमात्र आउँछ ।'

1000233283-1788416246.jpg
भाडा र भन्सार गरी प्याजमा प्रतिकेजी १६ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवसायीको गुनासो छ । अर्का व्यापारी सुशील चौधरी भन्छन्, 'एक केजीमा १६/१७ रुपैयाँ कर लाग्छ । कर बढी भएपछि खरिद दर पनि बढ्छ, यहाँ आइपुग्दा उपभोक्ताले महङ्गो मूल्य तिर्नुपर्छ ।' 

प्याज व्यवसायीले करको दर सहुलियत बनाउन सरकारसँग माग गरेका छन् । 'कृषि बजारमा अहिले प्याजको दाम मोटामोटी ९५/९६ रुपैयाँ छ, ९७ रुपैयाँ ६० पैसा हामीलाई नै पर्छ,' प्याज व्यवसायी मनोजकुमार चौधरी भन्छन्, 'बिक्री नभएपछि सस्तोमा (घाटा खाएर) बेच्नुपर्ने अवस्था छ ।' 

हप्तामा ४/५ गाडी बिक्ने प्याज हाल हप्तामा १ गाडीमात्रै बिक्ने गरेको व्यापारी चौधरी बताउँछन् । 'प्याजको बजार भाउ प्रतिकेजी ८५ रुपैयाँसम्म गिरावट भइरहेको छ,' उनी भन्छन्, 'यहाँ आलु हेर्नुस् ६०/७० बोरा कुहिरहेको छ, प्याजको हालत पनि त्यस्तै भयो भने त बर्बाद हुन्छ, घाटा खाएरै भए पनि बेच्नुपर्ने अवस्था छ ।' 

भाडा र भन्सार गरेर प्रतिकेजी १६ रुपैयाँ व्यापारीले तिर्दै आएको चौधरी बताउँछन् । भारतीय बजारमा हाल प्याज प्रतिकेजी भारतीय रुपैयाँँ ५० देखि ६० रुपैयाँ छ । गत वर्षको तुलनामा ७४ प्रतिशतले प्याजको दाम बढेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भारतमा प्याज उत्पादनमा कमि आएको, मागअनुसार आपूर्ति हुन नसकेको र चाडपर्व नजिकिएका कारण मूल्यवृद्धि भएको उल्लेख छ । 

1000233282-1788416296.jpg
भारतीय सञ्चार माध्यम दैनिक जागरणले लेखेको छ, 'भारतमा प्याजको मूल्यवृद्धि कसैबाट लुकेको छैन । देशका धेरै क्षेत्रमा रहेका स्थानीय बजारमा प्याजको मूल्य प्रतिकिलो ७० भारतीय रुपैयाँसम्म पुगेको छ । भारतमा प्याजको बढ्दो मूल्यको असर नेपालमा पनि देखिएको छ । नेपाल आफ्नो प्याजको माग पूरा गर्न लगभग पूर्ण रूपमा भारतमा निर्भर छ र आयातमार्फत माग पूरा गर्दै आएको छ । त्यसैले दक्षिणी सीमावर्ती क्षेत्रमा हुने मूल्य र आपूर्तिको उतारचढावको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने गरेको छ । पछिल्लो समय भारतमा पनि प्याजको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा खुद्रा प्याजको मूल्य प्रतिकिलो करिब ६५ भारतीय रुपैयाँ अर्थात् करिब १०४ नेपाली रुपैयाँ पुगेको छ । एक वर्षअघि यसको मूल्य प्रतिकिलो ३५ भारतीय रुपैयाँ अर्थात् नेपाली मुद्रामा करिब ५६ रुपैयाँ थियो ।' 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक