नेभिगेशन
समाचार

भन्सारबाट जाँचपास भएर निस्किएको ट्रकमा ७ पोका बढी सामान, एजेन्टको लाइसेन्स निलम्बन

विराटनगर । भन्सारबाट जाँचपास भएर बाहिरिएको मालबाहक ट्रकमा प्रज्ञापनपत्रमा घोषणा गरिएकोभन्दा बढी सामान भेटिएपछि विराटनगर भन्सार कार्यालयले भन्सार एजेन्ट विनोद पोद्धारको इजाजतपत्र तीन महिनाका लागि निलम्बन गरेको छ ।

विराटनगर भन्सार कार्यालयले बिहीबारदेखि लागू हुने गरी पोद्धारको लाइसेन्स नम्बर २८१ निलम्बन गर्ने निर्णय गरेको हो । भन्सार कार्यालयका अनुसार प्रज्ञापनपत्रमा घोषणा गरिएकोभन्दा ७ पोका बढी सामान ल्याएको पुष्टि भएपछि भन्सार ऐनअनुसार कारबाही गरिएको हो ।

भदौ १४ गते भन्सारबाट जाँचपास भएर निस्किएको एनएल ०२ क्यू ०५३२ नम्बरको भारतीय ट्रकलाई सशस्त्र प्रहरी बलको गस्ती टोलीले विराटनगर–११ स्थित रोडशेष चोकबाट नियन्त्रणमा लिएर पुनः जाँचका लागि भन्सार कार्यालय पठाएको थियो ।

पुनः जाँचका क्रममा ट्रकमा हार्डवेयर, मेडिकल सामग्री तथा पूजाका सामग्री चन्दन र टीकासहित ७ पोका घोषणा नगरिएको सामान भेटिएको थियो । त्यसपछि भन्सार कार्यालयले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी डम्बरबहादुर बस्नेतले प्रज्ञापनपत्रमा घोषणा गरिएकोभन्दा बढी सामान ल्याएको पुष्टि भएपछि नियमानुसार एजेन्टको लाइसेन्स निलम्बन गरिएको बताए ।

पोद्धारको फर्म ‘पोद्धार क्लिनिक सर्भिस’मार्फत उनका छोराहरू सुनिल र अनिल पोद्धारले भन्सार कारोबार गर्दै आएका थिए । घटनामा अनिल पोद्धार र भन्सार कर्मचारी अरुणकुमार शाहलाई भन्सार कार्यालयले जनही ७९ हजार ४ सय ८४ रुपैयाँ जरिवाना गरेको थियो । उनीहरूलाई जरिवाना तिराएर रिहा गरिएको हो ।

घटनापछि सुरुमा जरिवाना मात्रै गरेर प्रकरण टुंग्याउन खोजिएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । त्यसको दुई दिनपछि भन्सार कार्यालयले एजेन्ट पोद्धारको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको हो ।

भन्सारबाट जाँचपास भएर बाहिरिएको ट्रकमा घोषणा नगरिएको सामान भेटिएपछि जाँचपास प्रक्रियामा संलग्न कर्मचारीको भूमिकामाथि समेत प्रश्न उठेको छ । उक्त सामानको नापजाँच भन्सार अधिकृत भीमराज आङ्देम्बेले गरेको जनाइएको छ ।

घटनामा एजेन्टसँगै जाँचपास प्रक्रियामा संलग्न अन्य कर्मचारीको भूमिकाबारे समेत छानबिन हुनुपर्ने माग उठेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार