नेभिगेशन
समाचार

जुनियर धरान आइडल–२ को उपाधि इसाबेला र आराध्य जङलाई

धरान । बालबालिकाको प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रदर्शन गर्ने मञ्चका रूपमा आयोजना गरिएको ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल–२’ को उपाधि इसाबेला शर्मा र आराध्यजङ थापाले जितेका छन् ।

होप धरानको आयोजनामा शनिबार धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशहरा सभाहलमा सम्पन्न फाइनलमा शर्माले मिस र थापाले मिस्टरतर्फको उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा सहभागी ४० जना बालबालिकाले विभिन्न चरणमा आफ्नो प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र मञ्चीय प्रस्तुति प्रदर्शन गरेका थिए । उत्कृष्ट प्रदर्शनका आधारमा मिस्टरतर्फ ओमेहाङ साम्बा दोस्रो र सेसेहाङ लिङ्खिम तेस्रो भए । मिसतर्फ श्रेयसी रौनियार दोस्रो र एलिजाबेथ राई तेस्रो घोषित भए ।

प्रतियोगितामा मुख्य उपाधिसँगै सहभागी बालबालिकालाई उनीहरूको प्रतिभा, व्यक्तित्व र प्रस्तुतिका आधारमा विभिन्न विधागत उपाधिसमेत प्रदान गरिएको थियो ।

मिस्टरतर्फ ओमेहाङ साम्बाले व्यक्तित्व र बौद्धिक विधाको उपाधि पाए । एल्बिन तामाङले नमुना प्रस्तोता, प्रतिभा, बहुमाध्यम र मञ्चीय प्रस्तुति विधाको उपाधि हात पारे ।
रियान गुरुङले सर्वाधिक आत्मविश्वासी, आराध्य जङ थापाले आकर्षक पहिरन र फोटोमैत्री, अविश्कान्त मेहताले समर्पित, सुहाङ राईले आकर्षक व्यक्तित्व, अमृत बीकेले उदाउँदो प्रतिभा, किवाहाङ राईले मैत्रीपूर्ण, सुयोग अग्रवालले समयनिष्ठ तथा सेसेहाङ लिङ्खिमले सर्वाधिक मिहिनेतीको उपाधि प्राप्त गरे ।
मिसतर्फ एलिजाबेथ राईले सुन्दर, अर्चना पुनले उत्कृष्ट शारीरिक बनावट, अक्षता भट्टराईले समर्पित, अनु यादवले केन्द्रित, नुमा लिम्बुले आकर्षक व्यक्तित्व, रिदिमा राईले चम्किलो छाला तथा रोश्ना पराजुलीले मेहनतीको उपाधि पाए ।

ऐश्वर्या लिम्बुले समयनिष्ठ, ऐश्वर्या राईले मैत्रीपूर्ण, डेनिशा मगरले अनुशासित, कृष्णमा कोइरालाले उत्कृष्ट मुस्कान, सोहाना तामाङले छिटो सिक्ने, प्रिन्सेस लिम्बुले उत्कृष्ट केश, श्लेखा भुजेलले व्यक्तित्व, दिव्यांका श्रेष्ठले आत्मविश्वासी, केआना रानाले नमुना प्रस्तोता तथा दुर्गा राईले सुन्दर आँखाको उपाधि प्राप्त गरे ।

त्यसैगरी दीपिका श्रेष्ठले उदाउँदो प्रतिभा, कृतिका बिसुंखेले निर्दोष सौन्दर्य, नुमा चोङबाङले आकर्षक पहिरन र सहयोगी, निरुता बीकेले सजग, डेजी लिम्बुले आकर्षक, इनाया श्रेष्ठले आकांक्षी प्रतिभा, आयाना तामाङले प्यारी, इसाबेला शर्माले आकर्षक व्यक्तित्व, श्रेयसी रौनियारले स्वच्छता तथा त्रिशा शंकरले जिज्ञासुको उपाधि प्राप्त गरे ।

प्रतियोगिताको निर्णायक मण्डलमा मिस्टर नेपाल २०२४ का उपविजेता आदेश प्रधान, मिस्टर नेपालका क्षेत्रीय निर्देशक तथा रोनक फेसन एजेन्सीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत रोनक अग्रवाल, व्यवसायी, फेसन मोडल तथा प्रभावशाली व्यक्तित्व इसा थापा, बहुविधा गायक, संगीत उत्पादक तथा ध्वनि अभियन्ता नट्टु शाह र मोडल हन्ट नेपाल सिजन ९ का विजेता बिवाश बिष्ट रहेका थिए ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम वेघा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । होप धरानका अध्यक्ष निश्चल पलिलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बुले गरेकी थिइन् ।

प्रतियोगितालाई प्रतिभा र व्यक्तित्व विकाससँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको आयोजकले जनाएको छ । फाइनल कार्यक्रमका अवसरमा रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि चन्दा संकलनसमेत गरिएको थियो ।

होप धरानका अनुसार प्रतियोगिताले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने तथा मञ्चीय प्रस्तुति र व्यक्तित्व विकास गर्ने अवसर प्रदान गरेको छ । फाइनलमा विजेता तथा विभिन्न विधाका उपाधि विजेतालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार