नेभिगेशन
समाचार

मोरङ कारागारमा झडपपछि थप १८ कैदी स्थानान्तरण

विराटनगर । मोरङ कारागारको ‘बी’ ब्लकमा कैदीबन्दीबीच झडप भएपछि प्रशासनले थप १८ जनालाई अन्यत्र स्थानान्तरण गरेको छ ।

सोमबार दिउँसो कारागारभित्र पुनः विवाद र अशान्ति भएपछि उनीहरूलाई चारवटा कारागारमा पठाइएको हो ।
यससँगै पछिल्लो तीन दिनमा मोरङ कारागारबाट स्थानान्तरण गरिएका कैदीबन्दीको संख्या ३७ पुगेको छ । यसअघि प्रशासनले ‘बी’ ब्लकका मुख्य नाइके भारतीय नागरिक चञ्चल बरमन र मनिष विश्वकर्मासहित १९ जनालाई सात जिल्लाका कारागारमा स्थानान्तरण गरेको थियो ।

उनीहरूलाई स्थानान्तरण गरेको तीन दिन नबित्दै सोही समूहका थप १८ जनालाई पनि स्थानान्तरण गरिएको जिल्ला कारागार मोरङका प्रमुख राजन घिमिरेले जानकारी दिए ।

“आज दिउँसो ‘बी’ ब्लकभित्र कैदीबन्दीका दुई समूहबीच आन्तरिक झगडा भएपछि स्थिति नियन्त्रणमा लिन उनीहरूलाई बाहिर निकालिएको हो,” घिमिरेले भने, “यसअघि स्थानान्तरण गरिएका कैदीकै समूहका सदस्यहरू आपसमा भिडेका थिए ।”
कारागार प्रशासनका अनुसार १८ जनामध्ये १० जनालाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ । भीमफेदी पठाइएकामा मो. सरफराज, नजाम अन्सारी, राजेशकुमार कामत, सञ्जय साह, उमेशकुमार कामत, अमन सरदार, श्रीकान्त दास, शिवकुमार राम, जयबहादुर विश्वकर्मा र रमन राई छन् ।

त्यसैगरी, अफ्ताप भनिने अपतकार आलम, ज्ञानेन्द्र ढुंगाना र मुकेशकुमार साहलाई नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) कारागार पठाइएको छ । छिरिङ तामाङ भन्ने छिरिङ घिसिङ, मो. रिजवान र सकिम हुसेनलाई चितवन कारागार तथा इशान चौधरी र प्रेमबहादुर तामाङलाई सुनसरीको झुम्का कारागारमा स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार