नेभिगेशन
समाचार

बस्तीभन्दा अग्लिंदैछ सप्तकोशी, सिपेजका कारण खेतीयोग्य जमिन डुबानमा

वराहक्षेत्र । कोशी नदीको सिपेज (पानी रसाउने) का कारण खेतीयोग्य जमिन जोखिममा परेको भन्दै सुनसरीको वराहक्षेत्रस्थित राजाबासका स्थानीयले चिन्ता व्यक्त गरेका छन् । 

खेती योग्य सयौं बिघा जमिनमा अत्यधिक पानी जमेका कारण खेती गर्नै नसक्ने अवस्थामा पुगेको स्थानीयले बताएका छन्  । कोशी नदीबाट सिर्जित 'सिपेज' लगायतको समस्या समाधानका लागि 'कोशी सरोकार समिति' निर्माण गरी स्थानीय सङ्गठित भएका छन् ।

' ठूलो बाढी आउँदासमेत कोशी नदी बस्तीमा प्रवेश गरेको थिएन अहिले खेतीयोग्य सयौं बिघामा प्रवेश गरेको छ', समितिका सचिव खेम दुमीले भने, 'अहिले सामान्य वहावमै सिपेज भएर खेतीमा पानी पसेको छ ।' 

सचिव दुमीका अनुसार २०४५ साल यता ३ लाख क्युसेकसम्म नदीको वहाव हुँदासम्म सिपेज भएको थिएन । गत वर्षदेखि सिपेज हुन थालेको हो । यो वर्ष एक लाख ५० हजारदेखि एक लाख ८० हजार क्युसेक पानीको वहावमै राजाबासका खेतीमा सिपेज हुन थालेको छ ।

1000234115-1788757505.jpg
'सन्धिअनुसार भारतको जिम्मामा छ कोशी नदी, 
स्थानीय सरकार गुहार्दै प्रदेश र सङ्घीय सरकारलाई दीर्घकालीन समाधानका लागि पहल गर्न सङ्गठित भएका हौं ।' उनले भने ।

समितिले वराहक्षेत्र नगरपालिकालाई ध्यानाकर्षण-पत्र बुझाउँदै समस्याको दीर्घकालीन रुपमा समाधान गरिदिन अनुरोध गरेको छ । समितिले कोशीमा च्यानल खोलेर बालुवा निकाल्ने व्यवस्था गर्न नगरपालिकासमक्ष आग्रह गरेको छ । 

कोशी नदीको उचाई बढ्दै जाँदा २०६८ सालमा च्यानल खनिएको समितिका सचिव दुमीले बताए । कोशी नदीले प्रत्येक वर्ष ५.७ सेन्टिमिटर बालुवा थुपार्दै आएको छ भने नदीको सतह पनि बढ्दै गएको छ । 

समुद्री सतहदेखि राजाबासको उचाई ९९ मिटर छ । यस्तै प्रकाशपुर ९२ देखि ९६ मिटरको उचाईमा छ । सप्तकोशी नदीको उचाई भने ११५ देखि १२० मिटरको उचाईमा छ ।

'तुलनात्मकरुपमा कोशी तटबन्धभन्दा पूर्व पट्टीको भूभाग ६.५ फिटभन्दा अग्लो भइसकेको हुँदा तिनै तहको सरकारले पहल गरी भारतलाई पाइलट च्यानल खन्न दबाब दिनुपर्छ ।' सचिव दुमीले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार