नेभिगेशन
समाचार

भाडाको कोठामा तस्करीका कपडाको गोदाम

विराटनगर । परिवार बस्ने भन्दै घरको कोठा भाडामा लिएर भारतबाट तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गरिएको खुलेको छ । विराटनगर महानगरपालिका–८ मधुमारास्थित एक घरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भण्डारण गरिएका रेडिमेड कपडा बरामद गरेपछि यस्तो तथ्य खुलेको हो ।

सशस्त्र प्रहरीका अनुसार परशुराम पौडेलको घरमा भाडामा लिइएको कोठाबाट ११ बोरा रेडिमेड कपडा बरामद गरिएको छ । बरामद कपडामा कुर्ता, टप्सलगायत छन् । ती कपडाको मूल्य ७ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ । कपडासँगै एउटा स्टेपलाइजर पनि बरामद भएको छ ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीका अनुसार उक्त कोठा परिवार बस्ने प्रयोजनका लागि भन्दै करिब ६ महिनाअघि भाडामा लिइएको थियो । तर, कोठामा मानिस नबसी भारतबाट रातको समयमा तस्करी गरी ल्याइएका कपडा भण्डारण गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

भारतको जोगबनीबाट भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा मधुमारास्थित उक्त घरमा ल्याएर राख्ने र मागअनुसार विराटनगरसहित विभिन्न सहरमा पठाउने गरिएको पाइएको एसपी भण्डारीले बताए ।

‘तस्करी गरी ल्याइएका कपडा भण्डारण गरिएको सूचना पाएपछि शनिबार बिहान करिब २ बजेदेखि घरलाई निगरानीमा राखेका थियौँ,’ उनले भने, ‘उज्यालो भएपछि नेपाल प्रहरी, भन्सार कार्यालयका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा कोठाको ताला फुटाएर खानतलासी गरिएको हो ।’

प्रारम्भिक अनुसन्धानबाट उक्त कोठामा करिब ६ महिनादेखि कपडा भण्डारण हुँदै आएको देखिएको प्रहरीले जनाएको छ । कोठा भाडामा लिएर कपडा राख्ने व्यक्ति भने फरार छन् । उनको खोजी भइरहेको एसपी भण्डारीले बताए ।
बरामद कपडा तथा अन्य सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यसैगरी विराटनगर–५ हरिहरपथस्थित हरिबहादुर कार्कीको घरमा मनोज चौधरीले भाडामा लिएको कोठाबाट पनि तस्करी गरी ल्याइएको कपडा बरामद भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उक्त कोठाबाट सानो–ठूलो गरी १० पोका कपडा बरामद गरेको हो ।

चाडपर्व नजिकिँदै गर्दा खुला सीमाको प्रयोग गरी तस्करी बढ्न थालेको सुरक्षा निकायको आकलन छ । भारतबाट क्यारिङमार्फत भन्सार छली गरी ल्याइएका लत्ताकपडा, खाद्यान्न, मोटर पार्ट्सलगायत सामग्री विराटनगरका विभिन्न स्थानमा अस्थायी रूपमा भण्डारण गर्ने र पछि अन्य सहरमा पठाउने प्रवृत्ति देखिँदै आएको छ ।

तस्करीका सामान बजारमा सस्तो मूल्यमा पुग्दा वैधानिक रूपमा कारोबार गर्ने व्यवसायी प्रभावित हुने गरेका छन् । व्यवसायीहरूले तस्करीका सामानका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको गुनासो गर्दै आएका छन् ।

सुरक्षा निकायले समय–समयमा तस्करीका सामान बरामद गर्दै आए पनि खुला सीमाको फाइदा उठाउँदै अवैध रूपमा सामान भित्र्याउने क्रम रोकिएको छैन । चाडपर्वका बेला तस्करी बढ्न सक्ने भएकाले सीमा क्षेत्रदेखि सम्भावित भण्डारणस्थलसम्म निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको एसपी भण्डारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार