नेभिगेशन
समाचार

ठक्कर दिएर घाइते बनाए, अस्पताल लैजानुको सट्टा सडकमा छाडे

विराटनगर । सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई अस्पताल लैजानुको सट्टा सडकमा छाडेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । सडकमा छाडिएका वृद्धको उपचार नपाएर मृत्यु भएको छ ।

आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा सिटी सफारीको ठक्करबाट विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेत गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले सडकमा हिँडिरहेका बस्नेतलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि स्थानीयले बस्नेतलाई उद्धार गरी ठक्कर दिने सिटी सफारीमै राखेर उपचारका लागि कोशी अस्पताल पठाउने व्यवस्था गरेका थिए । दुर्घटनामा सिटी सफारीसमेत सडकमा पल्टिएको थियो । स्थानीयले सिटी उठाएर चालकसँग सोधपुछ गर्दै घाइतेलाई अस्पताल पुर्‍याउन आग्रह गरेका थिए ।

तर चालक कटहरी गाउँपालिका–२ का ५५ वर्षीय अर्जुन भगतले बस्नेतलाई अस्पताल पुर्‍याएनन् । उनले विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा घाइते बस्नेतलाई छाडेर फरार भएको प्रहरीले जनाएको छ । कोशी अस्पताल मालपोत कार्यालयनजिकै रहेको छ ।

सिमसिम पानी परिरहेका बेला सडकमा छाडिएका बस्नेतलाई स्थानीयले मृत अवस्थामा फेला पारेका थिए ।

घटनापछि प्रहरीले भगतलाई उनको घरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनलाई आइतबार बिहान करिब ८ः३० बजे पक्राउ गरिएको हो ।

‘घाइतेलाई अस्पताल लैजानुपर्ने अवस्थामा सडकमा छाडेर चालक फरार भएको देखिन्छ,’ मिश्रले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका भगतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार