नेभिगेशन
समाचार

प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ भन्दै अनुगमन गर्ने एक युवा पक्राउ

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री बालेन शाहको सचिवालय सदस्य भएको दाबी गर्दै सरकारी कार्यालयको अनुगमन गर्दै हिँड्ने एक युवक झापामा पक्राउ परेका छन् ।

झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न सङ्घसंस्थामा दबाब र धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्मामाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।

प्रहरीका अनुसार विश्वकर्माले आफू सत्तारूढ रास्वपाको नेता तथा प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गर्दै विभिन्न सरकारी कार्यालयमा पहुँच बनाएका थिए । यही परिचयका आधारमा उनी सरकारी कार्यालय तथा सार्वजनिक सरोकारका बैठकमा सहभागी हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालय सदस्य भएको दाबी गरेपछि जिल्ला प्रशासन कार्यालयले उनलाई अनुगमनका लागि सरकारी गाडीसम्म उपलब्ध गराएको प्रहरी स्रोतले जनाएको छ । सरकारी नम्बर प्लेटको गाडी प्रयोग गरी उनी विभिन्न सरकारी कार्यालयको अनुगमनमा जाने गरेको प्रहरीको भनाइ छ ।

विश्वकर्मा आफ्नै गाउँपालिका हल्दिबारीमा समेत अनुगमनका लागि पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनी रास्वपाको केन्द्रीय सदस्य नरहेको र प्रधानमन्त्रीको सचिवालयमा समेत नरहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनका अनुसार विश्वकर्मा रास्वपाको नेता भएको बताउँदै गाउँपालिकामा आएका थिए । सरकारी नम्बर प्लेटको गाडीमा आएका उनले गाउँपालिकाको विकास निर्माणलगायत विषयमा चासो राखेको अध्यक्ष लिङ्देनले बताए ।

‘ऊ गाउँकै भाइ हो । पहिले पनि आउने गर्थ्यो । रास्वपाको नेता भएको छु भनेपछि गाउँको विकासमा सहयोग गर्नुपर्छ भनेको थिएँ,’ उनले भने, ‘अहिले सबै जेनजी नेता छन्, अरू विषयमा मलाई थाहा भएन ।’

प्रहरीका अनुसार विश्वकर्माले सरकारी कार्यालय तथा शैक्षिक संस्थामा आफ्नो प्रभाव देखाउँदै दबाब दिने र धम्कीपूर्ण व्यवहार गर्ने गरेका थिए । यही आरोपमा उनलाई सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीले बताए ।

विश्वकर्माले झुटो परिचय दिएर कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानि–नोक्सानी पुर्‍याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गरी जानकारी गराउन प्रहरीले आग्रह गरेको छ ।
विश्वकर्मा कुन–कुन कार्यालयमा गएर के–कस्ता गतिविधि गरे भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार