नेभिगेशन
आर्थिक

सरकारले इटहरीमा असोज १४ देखि मेला लगाउने, आन्तरिक रोजगारी प्रवर्द्धनको लक्ष्य

धरान । कोशी प्रदेशको इटहरीमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला आयोजना हुने भएको छ । सरकारले ‘रोजगार प्रवर्द्धन दशक’ सुरु गरेसँगै युवा जनशक्तिको सीप र ऊर्जालाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले राष्ट्रव्यापी रूपमा मेला आयोजना गर्न लागेको हो ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ देखि २०९२/९३ सम्मलाई ‘रोजगार प्रवर्द्धन दशक’ घोषणा गरेको छ । त्यसैअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकको अभियानअन्तर्गत राष्ट्रव्यापी रूपमा सीप तथा रोजगार मेला आयोजना गर्ने तयारी गरेको हो ।

मन्त्रालयले ‘सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३’ जारी गरिसकेको छ । निर्देशिकाअनुसार मेला आयोजना तथा सञ्चालनका लागि युवा, श्रम तथा रोजगारमन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समिति गठन गरिएको छ । समितिको असोज १ गते बसेको पहिलो बैठकले असोज १४ देखि २० गतेसम्म इटहरीमा मेला आयोजना गर्ने निर्णय गरेको हो ।

इटहरीमा आयोजना हुने मेलापछि क्रमशः अन्य प्रदेशमा समेत यस्ता मेला सञ्चालन गर्दै यसलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने मन्त्रालयको लक्ष्य छ ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता संघ–महासंघ, उद्योगी–व्यवसायी तथा शैक्षिक र तालिम प्रदायक संस्थाको समन्वय तथा सहकार्यमा मेला सञ्चालन हुनेछ ।

मेलामार्फत सीप, रोजगारी, उद्यमशीलता तथा स्वरोजगार प्रवर्द्धनसँगै श्रमको सम्मान गर्ने संस्कृतिको विकास र स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ । मन्त्रालयले यस अभियानमा सबै सरोकारवालालाई सहभागिताका लागि आह्वान गरेको छ ।

समितिको पहिलो बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउन सरकार र निजी क्षेत्र दुवैको भूमिका महत्वपूर्ण रहेको बताए । युवालाई नेपालमै रोजगारीमा आबद्ध हुन र उद्यमशील बन्न सकिन्छ भन्ने विश्वास दिलाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

आन्तरिक रोजगारी प्रवर्द्धन दशकलाई सफल बनाउन सरकार, निजी क्षेत्रलगायत सबै सरोकारवालाको सहकार्यमा सीप र रोजगारीको बलियो प्रणाली निर्माण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । सीप तथा रोजगार मेला उक्त प्रणाली निर्माणमा कोशेढुङ्गा बन्ने विश्वाससमेत उनले व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक