नेभिगेशन
समाचार

लागूऔषधविरुद्ध विद्यार्थीलाई सचेतना, अशक्तलाई ह्विलचेयर

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलले लागूऔषध दुर्व्यसनविरुद्ध विद्यार्थीलाई सचेतना दिनुका साथै सुनवर्षी नगरपालिकाका दुई जना शारीरिक रूपमा अशक्तलाई ह्विलचेयर वितरण गरेको छ ।

क्लबले सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीको सहकार्यमा विराटनगर–२ शंकरपुरस्थित जनता नमुना माध्यमिक विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई लागूऔषधको असर, दुर्व्यसनबाट जोगिने उपाय तथा यसले व्यक्ति, परिवार र समाजमा पार्ने प्रभावबारे जानकारी दिएको हो ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजन महतोले विद्यार्थीलाई लागूऔषधबाट टाढा रहन र समुदायमा समेत सचेतना फैलाउन आग्रह गरे ।

यसैगरी, क्लबले सुनवर्षी नगरपालिका–५ झुंगिटोलका मानिकचन्द ऋषिदेव र वडा नम्बर २ अमरदहका हरिलाल ऋषिदेवलाई एक–एक थान ह्विलचेयर प्रदान गरेको छ ।
ह्विलचेयर वितरण कार्यक्रममा कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, लायन्स क्लब मल्टिपलका काउन्सिल सदस्य लिला ढुंगेललगायत सहभागी थिए ।

क्लबका अध्यक्ष देवकीनन्दन अग्रवालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । क्लबका सचिव प्रकाश शर्माले सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार