नेभिगेशन
समाचार

विराटनगरमा घरमा लुकाइएको ४१ बोरा केराउ र चनाको दाल बरामद

विराटनगर । भारतबाट भन्सार छलेर ल्याइएको ४१ बोरा केराउ र चनाको दाल सशस्त्र प्रहरीले विराटनगर–१७ मटेर्वाबाट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले शुक्रबार बिहान मटेर्वाका दुईवटा घरमा छापा मारेर १६ बोरा केराउ र २५ बोरा चनाको दाल बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश शर्माको कमान्डमा खटिएको ३० जनाको टोलीले मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र पाँच बोरा केराउ बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामान मुन्ना मियाँका भिनाजु गुड्डु मियाँको हो । प्रारम्भिक अनुसन्धानमा गुड्डुले भारतबाट भरियामार्फत सामान ल्याएर मटेर्वाका विभिन्न घरमा भण्डारण गर्ने र पछि विराटनगर बजारमा पठाउने गरेको खुलेको छ ।
अवैध रूपमा खाद्यान्न भित्र्याएर घरमा भण्डारण गरिएको सूचनाका आधारमा टोली परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा भारतबाट भन्सार छलेर खाद्यान्नलगायतका वस्तु भित्र्याउने क्रम रोक्न निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार