नेभिगेशन
समाचार

प्रसिद्ध तीर्थ वराहक्षेत्र र प्रदेश राजधानी विराटनगर जोड्ने हुलाकी मार्ग स्तरोन्नति गर्न माग

धरान । सुनसरीको धार्मिक स्थल वराहक्षेत्रलाई प्रदेशको राजधानी विराटनगरसँग जोड्ने सिधा माध्यम हुलाकी राजमार्गको स्तरोन्नति गरिदिन स्थानीयले माग गरेका छन् । 

वराहक्षेत्र नगरपालिका, उत्तरमा धनकुटा जिल्ला र दक्षिणमा सुनसरीकै भोक्राहा नरसिंह र कोशी गाउँपालिकासँग  जोडिएको छ । उत्तरमा कोकाहा खोला र दक्षिणमा चतरा नहरको हरिपुर शाखाले वराहक्षेत्रको सीमा निर्धारण गरेका छन् । 

चतरा नहरको हरिपुर शाखामा पक्की पुल बनेपछि उत्तर-दक्षिण हुलाकी मार्गले पूर्णता पाउने स्थानीयले आशा राखेका छन् । उनीहरूले यो हुलाकी मार्ग निर्माण र स्तरोन्नतिको काम पूरा भए विराटनगरलाई वराहक्षेत्रसँग र पहाडी जिल्लाहरू उदयपुर, भोजपुर, खोटाङलगायतका जिल्लालाई सिधा सम्पर्क निर्माण गर्न सकिने बताएका छन् । वराहक्षेत्र-१० बकुलाचापमा युवा राकेश गुरागाईंले प्रदेश राजधानीलाई वराहक्षेत्र र पहाडी जिल्लासँग जोड्ने छोटो र सिधा मार्ग हुने बताए । 

1000237394-1789884108.jpg
यो हुलाकी मार्गले विराटनगर- वरगाछी- केशल्या खोला- बर्जु- हरिनगरा- भुटाहा- फूलचोक- शिवगन्ज- खुनियाधार- राधाकृष्ण मन्दिर- शान्तिचोक हुँदै राजाबास जोड्ने गरेको छ । 'खुनियाधारमा पक्की पुल बनेपछि कतै पनि अप्ठ्यारो छैन, सडक चौडा र स्तरोन्नति गर्ने मात्रै हो,' युवा गुरागाईंले भने, 'प्रदेश सरकारले रणनीतिक सडकका रुपमा यसको विकास गर्न आवश्यक छ ।' 

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालयले ७२ लाख ७५ हजार ९ सय ७५ रुपैयाँ ६३ पैसाको लागतमा पक्की पुल निर्माण गरेको हो । 

1000237393-1789884185.jpg
हरिपुर शाखा खुनियाधार नहर बकुलाचापमा पक्की पुल निर्माण भएपछि हुलाकी मार्गको काम सुरु हुने अपेक्षा रहेको स्थानीयको विश्वास छ । स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विषय र प्रशासनिक विषयमा प्रदेशको राजधानी विराटनगरसँग आश्रित हुनुपर्ने भएकाले यो हुलाकी मार्ग चाँडै पूरा गर्नुपर्ने माग छ । प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रलाई विराटनगर र बिहारसँग जोड्ने साथै भारतीय धर्मावलम्बीहरूका लागि पनि वराहक्षेत्र पुग्न सहज हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार