नेभिगेशन
समाचार

धमाधम सम्पर्कमा कार्यालय खोल्दै वृहत्तर वराहक्षेत्र विकास समिति

धरान । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय मातहतको वृहत्तर वराहक्षेत्र विकास समितिले धमाधम शाखा कार्यालय उद्घाटन गर्दै आएको छ । 

मुख्य कार्यालय चतरामा रहेको समितिले धनकुटाको भेडेटार र धरानस्थित पिण्डेश्वर मन्दिर परिसरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ भने रामधुनी, उदयपुरको रामपुर र वराहक्षेत्र मन्दिर परिसरमा गरी ५ ठाउँमा शाखा सञ्चालनमा ल्याउने तयारी गरेको समितिका कार्यकारी निर्देशक अविजाल विष्टले बताए । 

बृहत्तर बराहक्षेत्र विकास समिति (गठन) आदेश, २०८१ दफा २० ले समितिको कार्यालय सम्बन्धी व्यवस्था गरेको छ ।

समितिले बराहक्षेत्र मन्दिर र रामधुनी मन्दिर परिसरमा समेत सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरी भेटीघाटी व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन समितिले डिजिटल प्रणालीमा जाने तयारी गरिरहेको छ । 

समितिका कार्यकारी निर्देशक विष्टले मठमन्दिरको भेटिघाटी उठाउने विषय राज्यले उठाइरहेका बेला गुठी संस्थानसँगको सहकार्यमा कार्यान्वयन गर्ने बताए । उनले ५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गर्ने बताए । 

कोशी प्रदेशका सुनसरी, उदयपुर र धनकुटाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन, प्रचारप्रसार र व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको समितिका कार्यकारी निर्देशक अविजाल विष्टले बताए । उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज वातावरण उपलब्ध गराउनुका साथै चतरादेखि बराहक्षेत्र मन्दिर परिसर र आसपासका क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि समेत समितिले सहजीकरण गरिरहेको छ ।

सुनसरी, उदयपुर र धनकुटाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलको जानकारी र सेवा पर्यटकलाई उपलब्ध गराउन सम्पर्क कार्यालयले सहजीकरण गर्ने समितिले जनाएको छ । भेडेटार चोकमा राखिएको डिजिटल डिस्प्लेमार्फत समितिले गरेका काम तथा विभिन्न धार्मिक र पर्यटकीय क्षेत्रका तस्बिर तथा जानकारी प्रदर्शन हुँदै आएको छ ।

यसैगरी विराटनगर विमानस्थलमा राखिएको डिस्प्लेमार्फत रामधुनी, श्रीलङ्का टापु, कोशी करिडोर क्षेत्र, बेलका राजा–बेलका रानी दरबार, मैना राजा–मैना रानी दरबार, खुवालुङ, कुम्भस्तम्भ, औलियामठ, छिन्ताङ, पाथीभरा मन्दिर, दन्तकाली, बूढासुब्बा र विष्णुपादुका मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय स्थलको जानकारी यात्रुलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

समितिले विभिन्न धार्मिक तथा पर्यटकीय स्थललाई जोडेर सर्किटसमेत तयार गर्ने योजना अघि सारेको छ । रामधुनी हुँदै श्रीलङ्का टापु, बेलका राजा–बेलका रानी दरबार, महाकालथान मन्दिर, कोशी नदी हुँदै औलियामठसम्मको एउटा धार्मिक पर्यटन सर्किट तयार गर्ने छ ।

त्यस्तै औलियामठ हुँदै बराहक्षेत्र, खुवालुङ, कोका नदीकोसंगम, मैना राजा–मैना रानी र त्रिवेणीधाम छिन्ताङलाई जोडेर अर्को सर्किट तयार गरिएको विष्टले बताए । अन्य धार्मिक पर्यटन सर्किट निर्माणका लागि समेत सरोकारवालासँग छलफल भइरहेको उनले जानकारी दिए ।

Brihattar-Barahakshetra-Bikash-Samiti-Chatara-1789968290.jpg

यस्तो छ बृहत्तर बराहक्षेत्र विकास समितिको काम कर्तव्य र अधिकार 

(क) बराहक्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गर्ने, गराउने ।

(ख) बराहक्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्नको लागि विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्था, निकाय वा व्यक्तिसँग सम्पर्क र समन्वय गर्ने निकाय वा व्यक्तिसग सम्पर्क गर्ने ।

(ग) बराहक्षेत्रको सामाजिक, आर्थिक, धार्मिक तथा आर्थिक, धार्मिक सांस्कृतिक पक्षको विकासको निमित्त त्यस क्षेत्रभित्रका प्राचीन ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक तथा ऐतिहासिक महत्वका प्राचीन स्थल तथा वस्तुहरूको अन्वेषण तथा अनुसन्धान गर्ने।

(घ) बराहक्षेत्रभित्र पर्यटनको लागि उपयुक्त हुने स्थानहरूमा हरूमा पर्यटन विकासको लागि आवश्यक कार्यक्रमहरू स्वीकृत गर्ने ।

(ङ) बराहक्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र संवेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने ।

(च) बराहक्षेत्रभित्र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम राखे खालका कार्यक्रमहरू सञ्चालन गर्ने ।

(छ) बराहक्षेत्रभित्र संस्था, अस्पताल, पुल, ढल, बिजुली, टेलिफोन, सडक जस्ता सार्वजनिक उपयोगका साधनहरू सुव्यवस्थित गर्ने व्यवस्था मिलाउने, फोहोर मैला हुन नदिने गरी स्वच्छता कायम गर्ने र सो क्षेत्रभित्रका नेपाल सरकार तथा प्रदेश सरकारको कार्यालयहरू, स्थानीय निकायहरू र गैरसरकारी संस्थाहरूसँग समन्वय राखी कार्यक्रमहरू सञ्चालन गर्ने ।

(ज) बराहक्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।

(झ) बराहक्षेत्रको योजनाबद्ध विकास गर्दा सुव्यवस्थित रुपले निर्माण र मर्मत सम्भार कार्य गर्ने ।

(ञ) बराहक्षेत्रभित्र सरकारी, गैरसरकारी, निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण निर्माण कार्यहरू सञ्चालन गर्न विभिन्न निकायहरूबीच समन्वय कायम गर्ने ।

(ट) बराहक्षेत्रभित्रका पुरातात्विक महत्वको स्थानलाई सुरक्षित स्थान घोषणा गर्ने ।

(ठ) यस आदेशबमोजिम समितिको उद्देश्य पूर्तिको लागि गर्नुपर्ने अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार