नेभिगेशन
समाचार

कोशीमा चार नमुना अस्पताल बनाइने, ६ पहाडी जिल्लामा तत्काल विशेषज्ञ सेवा

विराटनगर । कोशी प्रदेश सरकारले चारवटा अस्पताललाई ‘नमुना अस्पताल’ का रूपमा विकास गर्ने भएको छ । साथै, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला अस्पतालमा तत्काल विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ ।

स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री इन्द्रमणी पराजुलीले स्वास्थ्य सेवा सुधारका लागि प्रदेशका चार अस्पताललाई रणनीतिक क्षेत्रका रूपमा छनोट गरी नमुना अस्पताल बनाउने तयारी थालिएको जानकारी दिए ।

पाँचथर र संखुवासभाका जिल्ला अस्पताल, उदयपुर जिल्ला अस्पताल तथा मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्न लागिएको हो ।

प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गरी शिक्षण अस्पतालका रूपमा विकास गर्ने तथा झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताललाई २०० शय्यामा विस्तार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ ।

त्यस्तै, प्रदेशका सबै जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा विकास गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने मन्त्रालयको योजना छ ।

प्रदेशका नागरिकलाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराउने कार्यक्रमलाई प्राथमिकतामा राखिएको मन्त्री पराजुलीले बताए । आगलागी तथा जलनका बिरामीको उपचार सहज बनाउन प्रदेशका सबै अस्पतालमा जलन उपचार केन्द्र सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए ।

विकट बस्तीमा विशेषज्ञसहितको घुम्ती अस्पताल सञ्चालन गर्ने र विद्यालय नर्सिङ कार्यक्रमलाई विस्तार गरी प्रदेशका सबै विद्यालयमा पुर्‍याउने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

यसैगरी, प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति गर्दै जिल्लामा रहेका आयुर्वेद केन्द्रलाई व्यवस्थित अस्पतालका रूपमा विकास गरिने जनाइएको छ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री पराजुलीले प्रदेशका स्वास्थ्य निर्देशनालय, अस्पताल तथा कार्यालयहरूको स्थलगत अनुगमन गरी देखिएका समस्या समाधानका लागि काम अघि बढाइएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार