नेभिगेशन
समाचार

भारी वर्षाको पूर्वानुमानपछि कोशी सरकार विपद् उद्धारका लागि तयार

विराटनगर । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि कोशी प्रदेश सरकारले विपद् व्यवस्थापन र उद्धारका लागि संयन्त्रलाई तयारी अवस्थामा राखेको जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १४ वटै जिल्लाका मातहतका कार्यालयलाई उपकरण र जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । वर्षाका कारण हुनसक्ने प्राकृतिक विपत्तिमा तत्काल उद्धार तथा राहतका काम गर्न स्थानीय तह र सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न पनि निर्देशन दिइएको मन्त्री जीवन आचार्यले जानकारी दिए ।

उनका अनुसार जोखिमयुक्त सडक, पुल तथा अन्य पूर्वाधारमा निगरानी बढाउन भनिएको छ । विपद् आइपरे तत्काल परिचालन हुने गरी जनशक्ति, मेसिन र उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । मन्त्री आचार्यले आम नागरिकलाई पनि उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले पूर्वतयारी गरिसकेको बताए । उनका अनुसार भदौ १५ गते बसेको प्रदेश सुरक्षा समिति र विपद् समितिको बैठकले प्रदेश सरकारसहित सम्बन्धित सबै निकायलाई तम्तयार अवस्थामा रहने निर्णय गरेको थियो ।

मन्त्री शेर्पाका अनुसार जोखिमयुक्त बस्तीमा पूर्वसूचना पुर्‍याउने काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायबीच निरन्तर समन्वय भइरहेको उनले बताए ।

सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारमा खटिने टोलीलाई तयारी अवस्थामा राखिएको मन्त्री शेर्पाले जानकारी दिए । उनका अनुसार नागरिकलाई पूर्वसूचनामार्फत जोखिमबाट जोगाउने र विपद् आइपरे तत्काल उद्धार गर्ने गरी प्रदेश संयन्त्र तयारी अवस्थामा छ ।

उनले नदी, खोला तथा नालाको आसपास र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई भारी वर्षाका बेला सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गते भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनको अन्त्यतिर विगतमा पनि प्राकृतिक विपद्को जोखिम देखिने गरेको भन्दै मन्त्री शेर्पाले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।
जोखिमयुक्त क्षेत्रमा माइकिङमार्फत पनि सर्वसाधारणलाई सचेत गराइएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार