नेभिगेशन
समाचार

आईटी व्यवसाय गर्ने चिनियाँ नागरिक खुद्रा व्यापारमा संलग्न रहेको आशंकामा पक्राउ

विराटनगर । आईटी क्षेत्रमा वैदेशिक लगानी र सफ्टवेयर विकास गर्ने उद्देश्यले नेपालमा रहेका चिनियाँ नागरिक विराटनगरको एक मार्टमा खुद्रा व्यापारमा संलग्न रहेको आशंका गरिएको छ ।

विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलको ‘योनो मार्ट’मा प्यान/भ्याट बिलबिना कारोबार गरेको आरोपमा चिनियाँ नागरिक जिङ्सियान सिए पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो ।

मोरङ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त अनुगमन टोलीले बुधबार साँझ सिएलाई नियन्त्रणमा लिएको हो । अनुगमनपछि मार्टमा सिलबन्दी गरिएको छ ।

सिए व्यावसायिक भिसामा नेपाल बसेको र उद्योग विभागको अभिलेखअनुसार उनको समेत लगानी रहेको ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ सफ्टवेयर विकासका लागि दर्ता भएको पाइएको छ । तर, उनी विराटनगरमा खुद्रा व्यापारमा संलग्न रहेको आशंका गरिएको हो ।

‘योनो मार्ट’ नेपाली नागरिक धिरेन बीकेको नाममा दर्ता भए पनि यसको लगानी, सामान आपूर्ति र आर्थिक कारोबारमा चिनियाँ नागरिकको संलग्नता रहेको अनुसन्धानबाट खुलेको स्रोतले जनाएको छ ।

मार्टबाट राजस्व छली भएको आशंकामा वाणिज्य कार्यालयले अनुसन्धान गरिरहेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले एक चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार पक्राउ परेका सिएलाई काठमाडौं पठाउने तयारी गरिएको छ । घटनाबारे अध्यागमन, आन्तरिक राजस्व तथा अन्य सम्बन्धित निकायले समेत थप अनुसन्धान गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार