नेभिगेशन
खेलकुद

राउण्ड टेबल फुटसल लिगको उपाधि म्याग्नस फार्मालाई

धरान, धरान राउण्ड टेबलद्वारा आयोजित राउण्ड टेबल फुटसल लिगको उपाधि म्याग्नस फार्माले जितेको छ। कडा प्रतिस्पर्धाबीच उत्कृष्ट खेल प्रदर्शन गर्दै म्याग्नस फार्मा च्याम्पियन बन्न सफल भएको हो।
उपाधिसँगै म्याग्नस फार्माले नगद ४१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल एनआईसी एसिया बैंक टिमले नगद २१ हजार रुपैयाँ पुरस्कार हात पारेको छ।


व्यक्तिगत विधातर्फ म्याग्नस फार्माका नोबेल किशोर राई सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ घोषित भए। उत्कृष्ट गोलकिपरको रूपमा एनएमबी बैंकका सन्नी हमाल ‘गोल्डेन ग्लोभ्स’ विजेता बने। फेयर प्ले अवार्ड एभरेष्ट बैंकले जितेको छ।
धरान–१६ स्थित विग गोर्खा फुटसलमा सञ्चालन भएको प्रतियोगितामा प्रभु बैंक लिमिटेड, एनएमबी बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, म्याग्नस फार्मा प्रा.लि., एनआईसी एसिया बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड तथा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडलगायत विभिन्न बैंक तथा व्यावसायिक संस्थाहरूको सहभागिता रहेको थियो।


समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता टोलीलाई धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्र विक्रम बेघाले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजकले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक दिशामा अघि बढाउन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन्।
धरान राउण्ड टेबल २६ का अध्यक्ष सुमित अग्रवालका अनुसार प्रतियोगिताबाट बचेको रकम धरानका विभिन्न सामुदायिक विद्यालयहरूलाई सहयोगस्वरूप खर्च गरिनेछ। साथै, आगामी दिनमा अझै ठूलो स्तरमा प्रतियोगिता आयोजना गर्ने योजना समेत आयोजकले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद