नेभिगेशन
समाचार

धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा हुँदैछ क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन, ३४ कार्यपत्र प्रस्तुत हुँदै

धरान । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा आगामी वैशाख १८ गतेदेखि २ दिवसीय दोस्रो क्षेत्रीय विज्ञान प्रविधि सम्मेलन आयोजना हुने भएको छ ।

सम्मेलनमा विज्ञान प्रविधिसम्बन्धी ३४ वटा कार्यपत्र तथा शोध प्रस्तुत हुँदैछन् । बुधबार सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा सहायक क्याम्पस प्रमुख तथा संयोजक डा. बन्टी मास्केले शोधसँगै सम्मेलनमा ३ वटा कि-नोट प्रस्तुत हुने बताए । 

सम्मेलनको पहिलो दिन डा. माधवप्रसाद घिमिरेले 'डाटा विज्ञान र मटेरियल्स मोडेलिङका लागि उच्च कार्यसम्पादन कम्प्युटिङ (त्रिभुवन विश्वविद्यालय सुपरकम्प्युटरको प्रयोग)' विषयमा की-नोट प्रस्तुत गर्दै छन् । यस्तै पहिलो दिन नै डा. देवराज आचार्यले 'खाद्य विज्ञान र पोषण अनुसन्धान: विश्वव्यापी प्रगति, नेपालको वर्तमान अवस्था, चुनौती र सुधारका रणनीति' विषयक कि-नोट प्रस्तुत गर्दैछन् । 

सम्मेलनको दोस्रो दिन डा. गणेश तामाङले 'धरानमा मानव–बाँदर द्वन्द्व र सहरी वन्यजन्तु व्यवस्थापन' विषयमा कि-नोट प्रस्तुत गर्नेछन् । यी की–नोट प्रस्तुतिले सम्मेलनका प्रमुख क्षेत्र उच्च प्रविधि, खाद्य तथा पोषण, र मानव–वन्यजन्तु सम्बन्धलाई केन्द्रित गरेको डा. तामाङले बताए । 

सम्मेलन ६ वटा सेसनमा चल्नेछ, जसको अध्यक्षता र सहजीकरण विषय विज्ञहरूले गर्ने छन् । पहिलो सेसनको अध्यक्षता क्याम्पस प्रमुख प्रा. वसन्तकुमार राईले गर्ने छन् भने विशेष प्रतिवेदक र टिप्पणीकर्ताका रुपमा प्रेमसागर दाहाल र सुस्मिता पौडेल रहनेछन् । 

दोस्रो सेसनको अध्यक्षता डा. धनबहादुर कार्कीले गर्नेछन् भने विशेष प्रतिवेदकका रुपमा महालक्ष्मी प्रधानाङ्ग र सङ्गीता रुम्बा राईले टिप्पणी गर्नेछन् । तेस्रो सेसनको अध्यक्षता बबिता अधिकारीले गर्ने कार्यक्रम छ भने विशेष प्रतिवेदकका रुपमा कविन्द्र भट्टराई र कुन्जल श्रेष्ठ रहनेछन् ।

चौंथो सेसनको अध्यक्षता डा. सावित्री श्रेष्ठ र विशेष प्रतिवेदक देवेन्द्र राई र किशोर राई छन् । पाँचौं सेसनमा डा. गणेश तामाङले अध्यक्षता गर्ने छन् भने विशेष प्रतिवेदकमा अमृता माया लावती र रोमा घिमिरे रहने छन् । यसैगरी छैठौं सेसनको 
अध्यक्षता डा. ललितकुमार राईले गर्ने छन् भने विशेष प्रतिवेदकमा बलभद्र भण्डारी र सूर्य रिजालले टिप्पणी गर्नेछन् ।

प्रत्येक सेसनमा विषयगत छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन अध्यक्ष तथा विशेष प्रतिवेदकको भूमिका निर्धारण गरिएको आयोजकले जनाएको छ ।

सम्मेलन शुक्रबार बिहान ८ बजेदेखि सुरु हुनेछ । केन्द्रीय प्रविधि क्याम्पसको आयोजना र खाद्य प्रविधि केन्द्रीय विभागले सम्मेलनको सहआयोजना गर्ने क्याम्पसका अध्यापक तथा सम्मेलनका प्रचार संयोजक धिरेन लिम्बूले जानकारी दिए । 

1000148483-1777455892.jpg

यस्ता छन् सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र तथा शोध 

सम्मेलनको पहिलो दिन (वैशाख १८) बिहान ७ बजेबाट दर्ता र किट वितरणसँगै कार्यक्रम सुरु हुनेछ । उद्घाटन सत्रपछि प्रमुख वक्ता डा. माधवप्रसाद घिमिरेले 'डाटा विज्ञान र मटेरियल्स मोडेलिङमा उच्च कार्यसम्पादन कम्प्युटिङ' विषयमा कीनोट प्रस्तुति दिनेछन् । त्यसपछि सञ्चालन हुने सत्रमा व्यक्तिगत विकिरण मापन, वातावरणीय विकिरण अध्ययन, सौर्य अनुसन्धान, वेब प्रविधि, एरोडाइनामिक्स, जलीय प्रणालीमा औषधीय प्रभावजस्ता विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिनेछन् ।

पहिलो दिनकै दोस्रो सत्रमा खाद्य विज्ञान र पोषण, डेयरी प्रविधि, प्रोटिन विश्लेषण र खाद्य संरक्षणसँग सम्बन्धित अनुसन्धान प्रस्तुत गरिनेछ भने तेस्रो सत्रमा पोषण अवस्था, जावरोट (झोल खाना) उत्पादन तथा गुन्द्रुक निर्माणमा नयाँ प्रविधि सम्बन्धी अध्ययनहरू प्रस्तुत हुनेछन् ।

सम्मेलनको दोस्रो दिन (वैशाख १९) मा मानव–वन्यजन्तु द्वन्द्व, फर्मेन्टेसनबाट उत्पादित खाद्य पदार्थ, बहुऔषधि प्रतिरोधी जीवाणु, जैविक विविधता, जडीबुटीको औषधीय गुण, भूमिगत पानीको गुणस्तर, र रोगजन्य जीवाणु पहिचान जस्ता विषयमा शोधपत्र प्रस्तुत हुने कार्यक्रम छ ।

यसैगरी, दोस्रो दिनका अन्य सत्रहरूमा डढेलो प्रभावित क्षेत्र, त्रिजुगा वन क्षेत्रको सरीसृप विविधता, खाद्यजन्य जीवाणुको एन्टिबायोटिक संवेदनशीलता, कीराको संरचनात्मक अध्ययन, र उच्च हिमाली क्षेत्रमा पाइने सूक्ष्म जीवाणु सम्बन्धी अनुसन्धान प्रस्तुत गरिनेछन् ।

अन्तिम सत्रमा भूगर्भीय अध्ययनअन्तर्गत हिमालय क्षेत्रको शिलास्तर, जलस्रोत मूल्यांकन, तथा धरान–केराबारी क्षेत्रको भूगर्भीय संरचना सम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनको समापन सत्रअघि प्रतिवेदन प्रस्तुति राखिएको छ ।

आयोजकका अनुसार सम्मेलनले क्षेत्रीय स्तरमा विज्ञान तथा प्रविधिको अनुसन्धानलाई प्रोत्साहन गर्नुका साथै शैक्षिक तथा प्राविधिक सहकार्यलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार