काठमाडौं । विश्वकर्मा पूजाको दिन सवारीसाधन र मेसिनको पूजा गरेर मनाइन्छ । विश्वकर्माको पूजाले यातायातका साधनको सुरक्षा, दुर्घटना टर्ने र व्यवसायमा समृद्धि आउने कामना गरिन्छ । व्यवसायिक बाधा हटाउने र प्रगति हुने विश्वास गरिन्छ । असोज १ गते विश्वकर्मा पूजाकै दिन जन्मिएका पूण्यप्रसाद सिटौला (सरोज) यातायात क्षेत्रका सफल व्यवसायी र यातायात व्यवसायी मजदुरका भरोसायोग्य नेता हुन् ।
धार्मिक रुपमा भगवान विश्वकर्माको जन्मजयन्ती र सृष्टिको स्मरण, सांस्कृतिक रुपमा श्रमिक र प्रविधि क्षेत्रको सम्मान, आर्थिक रुपमा व्यापार, व्यवसायमा प्रगति र सुरक्षा, सामाजिक रुपमा व्यवसायी, श्रमिक एकता र सृजनात्मक कर्मको प्रेरणाको प्रतिक भएजस्तै सरोज सिटौला पनि त्यसैको प्रतिबिम्ब हुन् ।
सरोज पनि विश्वकर्मा जन्मिएकै दिन जन्मिए, सांस्कृतिक रुपमा यातायात मजदुरीनै गरेर हुर्किए, आर्थिक रुपमा यातायात मजदुरी र व्यवसायी हुँदै व्यवसायीक प्रगतिका पाइलाहरु टेके र सामाजिक रुपमा मजदुर, स्वरोजगार र व्यवसायीहरुको एकताको मियो र अधिकारको अभियानमा अभियन्ता बने ।
व्यवसायिक हक, हित, अधिकार र सुरक्षाका लागि निरन्तर योद्धा सरोज सिटौला जसको नसामा रगतसंगै यातायात दौडिरहेको छ । सरोज सिटौला जसको मुखबाट आवाज मात्रै होइन साइलेन्सरको धुँवासंगै यातायात व्यवसायी विरोधीका विरुद्ध मिसाइल निस्किरहेको छ ।
-1777964170.jpeg)
सरोज सिटौला बुकिङ यातायात मजदुर हुँदै यातायात व्यवसायमा फड्को मारे, देशभरीका यातायात व्यवसायीहरुका छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकोषाध्यक्ष, कोषाध्यक्ष, महासचिव, हुँदै वरिष्ठउपाध्यक्ष भएर जीवनका उर्वर समयहरु व्यवसायिक हितका लागि अर्पण गरे । अब उनले पूरा गर्नुपर्ने एउटा मात्रै खुड्किलो बाँकी छ । त्यो हो नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष ।
र त्यो पनि अब धेरै टाढा छैन । सरोज भन्छन् मैलै महासंघको तहगत प्राय सबै पदहरुलाई इमान्दारीपूर्वक पूरा गरेको छु । जीवन यही क्षेत्रमा विताएको छु । अब हुने अध्यक्ष हो । देशैभरीका व्यवसायीहरुले मलाई अध्यक्ष भएको हेर्न चाहेका छन् । बैशाख २७ देखि २९ गतेसम्म पोखरामा हुन गइरहेको सातौं महाधिवेशनबाट व्यवसायीका प्रतिनिधिहरुले त्यो काम पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । सरोज सिटौलाले ढुक्कले आफ्नो अनुभूति सुनाए ।
जन्म र कर्मको संयोगले विश्वकर्माको सेवामा लागेको ३८ वर्ष पूरा भएको छ । सरोज सिटौला यातायात क्षेत्रसँग जोडिएको २०४५ सालदेखि नै हो । उनी एकपटक गाडी खरिद गरेर व्यवसायी र कसैको दयामायाले व्यवसायीका नेता बनेको सौभाग्यशाली मान्छेमा पर्दैनन् । उनी मैदानबाट उठेर दुःख र संघर्ष गर्दै अघि बढेका मेहनती र साहसी योद्धा हुन् । अर्को संयोगको विषय के छ भने सरोज सिटौलाले जीवनमा गरेको पेशा पनि यातायात क्षेत्र नै हो । जीवनको सुरुवातीदेखि हालसम्म उनले रोजेको र गरेको पेशा यातायात सेवा नै हो ।
सरोज सिटौला विगत सम्झन्छन्, '२०४५ साल भदौ ५ गते झापाको काकडभिट्टाबाट बुद्ध ट्राभल्स नामको नाईट बसको ‘ए’ को ५ नम्बर सिटमा ९६ रुपैयाँ भाडा तिरेर काठमाडौं आएको हुँ । काठमाण्डौं आएपछि बागबजारको पुराना बसपार्कमा मजदुरी गर्न थालेको हुँ । मजदुरबाट दुःखका साथ व्यवसायी हुँदै व्यवसायीको प्रतिनिधिमुलक संस्था यातायात व्यवसायी महासंघको २०६२ सालमा महासंघको सह कोषाध्यक्ष, २०६३ साल भदौ १७, १८ र १९ गते बुटवलमा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्ष बनेर व्यवसायीहरुको हक, हित, अधिकार र सुरक्षाका लागि बोल्न र गर्न थालेको हुँ । तीन कार्यकाल लगातार केन्द्रीय कोषाध्यक्षका रुपमा भूमिका निर्वाह गरेँ ।'
महासंघको चौथो र पाचौँ महाधिवेशनबाट दुई पटक लगातार केन्द्रीय महासचिव भूमिका निर्वाह गर्दै ललितपुरको गोदावरी महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षका रुपमा सम्पूर्ण जीवन यातायात व्यवसायीका मुद्धामा अहोरात्र खटेर निरन्तर काम गरिरहेका उनी पछिल्ला समय देशको राजनीतिक उथलपुथलकाबीच उत्पन्न जटिल परिस्थितीका बावजुत व्यवसायीका मुद्धालाई सरकार समक्ष राख्ने, वकालत गर्ने, दवाव सिर्जना गर्ने काममा सबै नेताहरु र यातायात सम्बध मजदुर संगठनका प्रतिनिधिहरुको समेत साथ लिएर काम गरिरहेका छन् ।
उनी आफ्ना अनुभव सुनाउँदै भन्छन्- 'मेरो जीवनमा पञ्चायती व्यवस्था अन्त्यको २०४६ को आन्दोलन र परिवर्तन, जनयुद्ध, तराई मधेशको आन्दोलन र ०६२/६३ को जनआन्दोलन र परिवर्तनका उतार चढाबहरुलाई प्रत्येक्ष अनुभव गरिएको छ । म सम्झन चाहन्छु कि २०६२/६३ को जनआन्दोलनमा देशभरका यातायात सवारीहरु थन्क्याउनुहोस्, ब्याज मिनाहा गरिदिन्छौं आन्दोलनमा सहयोग गर्नुस् भनेर गीरीजाप्रासद कोइरालाले आह्वान गर्नुभएपछि हामी आन्दोलनमा सहभागी भयौं । 'यसरी यातायात व्यवसायीका मुद्धाहरुका विषयमा समेत निरन्तर लाग्दै आएँ । संविधानसभाबाट नयाँ संविधान आउँदै गर्दा यातायात क्षेत्रका विषयहरुलाई समेत संबोधन गर्ने अभियानमा समेत लागियो ।'
आफ्ना अभिष्ट पूरा गर्न राजनीतिक दल, नेताहरुले यातायात क्षेत्रलाई उपयोग गरे तर सरकारमा पुगिसकेपछि यातायात क्षेत्रको मर्म बुझ्ने प्रयास कसैले पनि नगरेकाले यस विषयमा सधैँ दुःख लागेको उनी सुनाउँछन् । जहाँ सडक, त्यहाँ विकास । अहिले जुनसुकै विकट ठाउँहरु राजधानीसँग जोडिएको छ । विकासको मेरुदण्ड यातायात हो, यसैबाट आर्थिक समृद्धिको यात्रा समेत अघि बढ्छ भन्ने कुराको महत्वलाई सार्थक तुल्याउनका लागि लागिरहेको सिटौला बताउँछन् ।
उनी भन्छन् 'यातायात क्षेत्रलाई लगानी मैत्री बनाउने, यात्रुमैत्री बनाउने, पेशा गर्ने मजदुर मैत्री बनाउने यि तीनवटा विषयलाई प्राथमिकतामा राखेर नेतृत्व गरिरहेको छु । अब महासंघको अध्यक्ष भएर आफ्नो क्षमता प्रस्तुत गर्ने चाहना छ । सबै व्यवसायीहरुको उत्साहजनक साथ पनि पाइरहेको छु । सम्भवतः निर्विरोध हुन्छु होला । चुनाव नै भएछ भने पनि मेरो जीवनमा चुनावमा कहिल्यै हार्नुपरेको अनूभव छैन । म सर्वप्रिय नै भइरहेँ, सबैको माया र विश्वास पाई नै रहेको छु । र अध्यक्ष पनि जित्छु ।'
'ममा यस्तो आत्मविश्वास जाग्नुको मुख्य कारण व्यवसायीको काम गर्नका लागि मलाई राजनीतिक असहजताले कहिल्यै रोक्न सकेन । म जस्तोसुकै असहजता र विपद्मा पनि काम गर्नसक्छु । भूकम्प, प्राकृतिक प्रकोप, कोभिड महामारीमा पनि आफ्नो ज्यान नभनी व्यवसायी, स्वरोजगार र मजदुरहरुको काममा डटेर लागेको छु । मेरो व्यक्तिगत जीवन, घर परिवार भन्दा पहिलो प्राथमिकता यातायात व्यवसायीहरुको सेवा हो । म जन्मिएकै यातायातकर्मको लागि हो । मेरो धर्म यातायात व्यवसायीको सुरक्षा, मेरो कर्म यातायात व्यवसायीको सेवा हो । अबको मेरो जीवन नेपालको सार्वजनिक यातायात क्षेत्रलाई सुधार गर्न भूमिका खेल्छु । सार्वजनिक यातायात क्षेत्रमा राज्यको संलग्नताका लागि काम गर्छु ।'
-1777964194.jpeg)
'नेपालको सार्वजिनक यातायात क्षेत्रको विकास र विस्तारका लागि धेरै कुरा गर्नुपर्ने छ । अधिकारसम्पन्न प्राधिकरणले मात्रै नेपालको यातायात क्षेत्रको उन्नति प्रगति हुन्छ । जसलाई लगानीमैत्री, मजदुर, कर्मचारीमैत्री बनाउन सकिन्छ, जसलाई यात्रु उपभोक्तमैत्री बनाउन सकिन्छ । समग्रमा नेपालको संघीय प्राधिकरण र प्रादेशिक प्राधिकरण नै भोलिको समृद्ध यातायात क्षेत्रको उपयुक्त विकल्प हो ।'
पूण्यप्रसाद सिटौला (सरोज) भन्छन्, 'सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई समयसापेक्ष संशोधन गर्नुछ । कानुनलाई लगानीमैत्र, यात्रुमैत्री, श्रमिकमैत्री र हाम्रो पूर्वाधार अनुकुल बनाउनुछ । यातायात नीति २०५८ लाई समयसापेक्ष बनाउँदै बढ्दो निजी लगानीलाई नियमन गर्दै यातायात क्षेत्रमा सरकारलाई समेत जोड्नुछ । बढ्दो सडक दुर्घटना न्यूकीकरणका लागि सडक सुरक्षा परिषद् ऐन र स्थायी संरचना बनाउनु छ । नेपालको सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै जीपीएस प्रणाली र यात्रुको सुविधाका लागि अनलाइन टिकेटिङको व्यवस्था गर्नुछ । देशका महत्वपूर्ण सहरका सवारीहरुमा नगदरहित कारोबारमा जानुपर्छ । यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सामाजिक सुरक्षा योजनाभीत्र समेट्दै उनिहरुको रोजीरोटीको ग्यारेन्टी गर्नुछ ।'
'देशको सार्वजनिक यातायात सेवा क्षेत्र कस्तो हुने भन्ने विषयमा अन्यौलता रहेको र सार्वजनिक यातायात सेवा क्रमशः भद्रगोल बन्दै गइरहेको अवस्थामा सरकारलाई सुझाव प्रस्तुत गर्नेगरी विज्ञहरुको सहयोगमा अबको सार्जजनिक यातायात सेवा बारे बृहत कार्यशाला गर्नुछ । यी सम्पूर्ण काम गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको छु । अध्यक्षका रुपमा मेरो उमेदवारी रहनेछ सबैको मतको अपेक्षा गरेको छु । र भविष्यमा पनि सबैको साथ, सहयोग र सल्लाहबाट नै काम गर्ने प्रतिबद्धता जनाउँछु ।'
भीमज्वाला राईसँगको संवादमा आधारित