नेभिगेशन
समाचार

'दलितमैत्री', श्री भगवान् राम आधारभूत विद्यालय अनि संरक्षण र प्रोत्साहन चाहिँ कहिले ?

धरान । 'मधुवन', सुनसरीको वराहक्षेत्र नगरपालिकाको दक्षिणी सीमा ११ नम्बर वडामा पर्छ । कोशी गाउँपालिकासँग जोडिएको मधुवनको दक्षिणी सीमामा छ- श्री भगवान् राम आधारभूत विद्यालय । 

२०४९ सालमा स्थापना भएको यो आधारभूत विद्यालयमा ९५ प्रतिशत विद्यार्थी 'दलित समुदाय' का छन् । विद्यालयका प्रधानाध्यापक चन्देश्वर मण्डलका अनुसार सर्वरिया मण्डल, मुसहर, ॠषिदेव थरका विद्यार्थीको बाहुल्यता छ । त्यस्तै तराईका आदिवासी जनजाति उराव/झागड र पिछडावर्गका मेहता जातिका विद्यार्थी पनि अध्ययन गर्छन् । 

वराहक्षेत्र नगरपालिकाले २०८१ सालमा दरबन्दी मिलान गर्‍यो । कक्षा-७ सम्म अध्यापन भइरहेको यो श्री भगवान् राम आधारभूत विद्यालयबाट चार वटा दरबन्दी कटौती गर्‍यो । विद्यालयले अपग्रेड गरेको कक्षा-६ र ७ बन्द गर्नुपर्‍यो । कक्षा-७ सम्म अध्ययन/ अध्यापन हुने विद्यालय कक्षा-५ मा घटुवा भयो ।

1000150576-1778219650.jpg
 

'समुदायका केही बिगार्ने मान्छेका कारण विद्यालय अधोगतितर्फ गयो,' विद्यालयका प्रधानाध्यापक मण्डल हाकाहाकी भन्छन्, 'सरकारी अस्पतालप्रतिको नकारात्मक धारणाजस्तो, सरकारी विद्यालयप्रति नकारात्मक धारणा विद्यमान छ ।' 

विद्यालय स्थापना हुँदा नै ४०० विद्यार्थी थिए । ३४ वर्ष पार गरेको विद्यालयले निकै फड्को मार्नु पर्ने थियो । तर हाल विद्यार्थी ४० जना छन् । विद्यालय, भौतिक पूर्वाधारमा कम छैन । प्रअ मण्डल भन्छन्, '२००० विद्यार्थीको क्षमता छ । कक्षा कोठामा स्मार्ट टिभी/ कार्यालयमा कम्प्युटर, सबै कोठामा पङ्खा छन् । मात्र, विद्यार्थी छैनन् ।' 
 
कोशी गाउँपालिकाको सीमामा पर्ने विद्यालयमा स्थानीय तहको पुनर्संरचनापूर्व पनि ३/४ सय विद्यार्थी थिए । सीमामा रहेको विद्यालयको दक्षिणतर्फ कोशी गाउँपालिका भयो । विद्यालय र उत्तरी सीमा वराहक्षेत्र नगरपालिका भयो ।  हालको कोशी गाउँपालिका क्षेत्रबाट आउने अधिकांश विद्यार्थी आफ्नै स्थानीय तहमा गए । 

नियामक निकायले विद्यालयको १ किलोमीटर भन्दा नजिकै निजी विद्यालय सञ्चालन गर्ने स्वीकृति/ अनुमति दियो । नगरपालिका गठन भएपछि पनि विद्यालयलाई विशेष प्रोत्साहन भएन । 

'विद्यार्थी अलपत्र पर्ने हो कि भन्ने अभिभावकमा डर पस्यो ।
विद्यार्थीलाई ब्याग दिने, जुत्ता दिने, चप्पल दिने लगायतका प्रोत्साहन छैन,' प्रअ मण्डल भन्छन्, 'विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।'
1000150579-1778219742.jpg
 

स्थानीय सरकार र नियामक निकायले नै विशेष विद्यालयमा प्रोत्साहनका विशेष नीति निर्माण गर्नुपर्ने प्रअ मण्डल बताउँछन् । विद्यार्थी प्रोत्साहन गर्ने नगरको नीति नभएको उनको गुनासो छ । 

तर पनि प्रअ मण्डल निराश छैनन् । उनी भन्छन्, 'यी सबै समस्याका बीच पनि विद्यालयलाई अङ्ग्रेजी माध्यममा लगेका छौं । अङ्ग्रेजी पढाउन सक्ने योग्य शिक्षक राखेका छौँ ।' 

अहिले अङ्ग्रेजी माध्यममा ९ जना विद्यार्थी भर्ना भएका छन् । 

श्री भगवान् राम आधारभूत विद्यालयमा ४ जना शिक्षकको दरबन्दी छ । २ राहत र २ स्थायी छन् । बालविकासमा १ जना र कर्मचारी १ जना छन् । दलितमैत्री विद्यालय भए पनि संरक्षण  र प्रोत्साह नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार

बर्खाअघि नै टप्पुमा तटबन्ध !