नेभिगेशन
समाचार

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा मेला हुँदै : एसईई दिएका विद्यार्थी लाभान्वित हुने  

धरान ।  कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभीटी) कोशी प्रदेश कार्यालयको संयुक्त आयोजनामा आगामी  जेठ २ र ३ गते विराटनगरमा मेला शिक्षा मेला आयोजना हुने भएको छ ।

एसईई दिएका विद्यार्थीलाई लक्षित गर्दै वृहत प्राविधिक तथा व्यावसायिक शिक्षा मेला तथा सीप प्रदर्शनी आयोजना हुने भएको हो ।  मेलामा   स्वास्थ्य, इन्जिनियरिङ, कृषि, सूचना प्रविधि तथा हस्पिटालिटीलगायतका विषयमा अध्ययनरत विद्यार्थीका सीप प्रदर्शनी गरिनेछ ।  प्रदर्शनीमार्फत प्रयोगात्मक कार्य, परियोजना तथा नवीनतम प्रविधिको अवलोकन गर्न सकिने बताइएको छ ।   

मेलामा ४० वटा शैक्षिक स्टल रहनेछन् । परिषद अन्तर्गतका आङ्गिक शिक्षालय, टेक्स विद्यालय, साझेदारी शिक्षालय, सम्बन्धन प्राप्त निजी शिक्षण संस्था तथा विभिन्न तालिम प्रदायक निकायहरूले आफ्ना शैक्षिक कार्यक्रम, अध्ययन अवसर तथा प्रयोगात्मक गतिविधि प्रस्तुत गरिनेछ  । 

'सीप आजको आवश्यकता, भविष्यको सुनिश्चितता' नारा दिइएको मेलामा विद्यार्थीको भविष्यको अध्ययन, करिअर तथा सीपमूलक शिक्षाको सही मार्ग पहिचान गर्न महत्वपूर्ण सहयोग पुग्ने  परिषदका वरिष्ठ प्राविधिक अधिकृत शिशिर सुब्बाले जानकारी दिए । 

मेलामा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो, मन्त्रालयका सचिव, स्थानीय तहका जनप्रतिनिधि, रोजगारदाता संस्था तथा शिक्षा क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने जनाइएको छ । विराटनगरस्थित आदर्श माध्यामिक विद्यालय परिषरमा हुने मेलामा कोशी प्रदेशका १४ जिल्लाका शिक्षक, विद्यार्थी अभिभावक तथा जनप्रतिनिधि सहभागी हुने वरिष्ठ प्राविधिक अधिकृत सुब्बाले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार