नेभिगेशन
समाचार

एउटै विद्यालयको साधारण र प्राविधिक धारमा असमान नतिजा, यस्तो छ धरानको एसईई नतिजा

धरान । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा धरानका सामुदायिक विद्यालयबाट ५०.३६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । 

कुल १ हजार १ सय २० परीक्षार्थीमध्ये ५ सय ६४ जना उत्तीर्ण भएका छन् । धरान उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाले नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक धरातलमा ठूलो खाडल रहेको देखिएको छ । 

धरान–१५ स्थित श्री पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयले मात्र शतप्रतिशत नतिजा निकालेको छ । एसईईमा सहभागी ५ जना विद्यार्थी सबैले परीक्षा उत्तीर्ण गरेका छन् । 

व्यावसायिक र प्राविधिक शिक्षातर्फको आकर्षण र नतिजा भने दुवै बलियो देखिएको छ । पब्लिक हाई स्कुल र शिक्षानिकेतन माविको प्राविधिक धारतर्फ क्रमशः ८७.२३ र ७७.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्  । 

साधारण धारतर्फ भानुस्मृति मावि ८७.५० प्रतिशत र सरस्वती मावि ८२.६१ प्रतिशत उत्तीर्ण भएका छन् । तुलनात्मक रुपमा यी विद्यालयले उत्कृष्ट नतिजा निकालेका छन् । 

1000151800-1778650754.jpg
 

धरान–१७ स्थित श्री माध्यमिक विद्यालय र पञ्चकन्या माविको उत्तीर्ण दर क्रमशः ३.८५ र ७.३५ प्रतिशतमा खुम्चिएको छ । 

धरानकै ठूलो विद्यालय मानिने पब्लिक हाई स्कुलको साधारण धारबाट २२० परीक्षार्थी मध्ये १७४ जना उत्तीर्ण भए । नतिजा ७९.०९ प्रतिशत देखिएको छ । 

नतिजाको यो तथ्यांकले धरानका सामुदायिक विद्यालयहरूमा एउटै व्यवस्थापनभित्र पनि प्राविधिक र साधारण धारबीच नतिजामा ठूलो असमानता रहेको देखाएको छ । 

धरान–२ को शिक्षानिकेतन माविको साधारण धारमा करिब १० प्रतिशत मात्र उत्तीर्ण हुँदा सोही विद्यालयको प्राविधिक धारमा ७७ प्रतिशतभन्दा बढी सफल भए । 

श्री पिण्डेश्वर संस्कृत माविको नतिजा प्राविधिक कारणले समावेश नभए पनि बाँकी २० विद्यालयको यो नतिजाले धरानको सामुदायिक शिक्षा सुधारका लागि नगरपालिकाले  विद्यालयगत विशिष्ट योजना बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार