नेभिगेशन
पर्यटन

कङक्रिटले कुरुप : रामधुनी ! 

सुनसरी । रामधुनी मन्दिर कङक्रिटका संरचनाका कारण कुरुप बन्दै गएको छ ।  स्थानीय सरकार, स्थानीय निकाय र व्यवस्थापन समिति कुरुपताको साँची बनिरहेका छन् । स्थानीय सरकार आफैं पनि पुरातात्विक क्षेत्रमा कङक्रिटको विकास गर्न उद्यत छ ।  प्रदेश सरकार र मातहतका कार्यालय, संघीय सरकार र गुठी संस्थान आफैं पौराणिक मान्यताको मन्दिरलाई पुरातात्विक रुपमा विकास गर्नुको सट्टा कङक्रिटका संरचना थुपारेर झनै कुरुप बनाउन लागि परेका छन् । 

त्रेतायुगमा भगवान् श्रीरामले वनवासका क्रममा धुनी बालेर एक रात बास बसेको र आफ्ना खराउ त्यहीँ छाडेको विश्वास गरिने सुनसरीको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । तर विकासको नाममा मन्दिर परिसरमा कङक्रिटका संरचना थपिँदै जाँदा यसको पौराणिक, प्राकृतिक र पुरातात्त्विक मौलिकता भने क्रमशः ओझेलमा पर्दै गएको छ ।

रामधुनी बाबा बनस्खण्डी मन्दिर गुठी व्यवस्थापन समितिले सात तलाको काठको मन्दिर निर्माण गर्ने कार्ययोजना पास गरेको छ । तर  काठ खोज्नुभन्दा सिमेन्टकै संरचना निर्माणतिर समिति लागि परेको छ । व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले कङक्रिटका संरचना आफूलाई पनि मन नपरेको बताउँछन् । दशकौंपछि रामधुनीमा बजेट छुटिँदा केही नहुनुभन्दा केही भएकै राम्रो भन्ने मनशायले विकास निर्माण गर्दै जाँदा कङक्रिटको थुप्रो लागेको अध्यक्ष कार्की स्वीकार गर्छन् । 

Ramdhuni-Mandir-btvnepal-1783668026.jpg
सुनसरीको रामधुनी नगरपालिका–४ स्थित, वराहक्षेत्र नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको सीमाक्षेत्र नजिकै रहेको रामधुनी मन्दिर रामधुनी जङ्गलको बीचमा अवस्थित छ । पौराणिक मान्यताअनुसार श्रीरामले वनवासका क्रममा यस तपोभूमिमा धुनी बालेर विश्राम गरेको र त्यसैको स्मृतिमा यहाँको धुनी तथा चरणचिह्नप्रति श्रद्धा व्यक्त गरिँदै आएको छ । यही धार्मिक विश्वासका कारण यहाँ दैनिक नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन् ।

स्थानीयका अनुसार विगतमा ओझेलमा परेको मन्दिर पछिल्लो समय तीनै तहका सरकारको लगानीपछि बाह्य रूपमा आकर्षक बन्दै गएको छ । तर मन्दिर क्षेत्रको विकास पुरातात्त्विक शैलीमा नभई कङक्रिटमुखी संरचनामा केन्द्रित हुँदा यसको मौलिक स्वरूप बिग्रँदै गएको गुनासो बढ्न थालेको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले कङक्रिटको विकास निर्माण चित्त नबुझेको भए पनि सरकारको असारे विकासको नीतिले कङक्रिटको बाहेक अरु काम गर्न नसकिएको बताउँछन् । उनी भन्छन्, 'मलाई पनि चित्त बुझेकै छैन ।' 

अध्यक्ष कार्कीका अनुसार मन्दिर क्षेत्रको विकासका लागि सङ्घीय सरकार र रामधुनी नगरपालिकाले विभिन्न समयमा बजेट विनियोजन गरेका छन् । ती बजेटबाट मन्दिर परिसरमा प्रवेशद्वार निर्माण, भुइँमा ब्लक बिछ्याउने, कमलकुण्ड पोखरी वरिपरि स्टिल रेलिङ जडान, घेराबार तथा अन्य भौतिक संरचना निर्माण गरिएका छन् । उनका अनुसार मन्दिरलाई थप व्यवस्थित बनाउने उद्देश्यले रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्री चन्द्र बाबा वनस्खण्डी तथा प्रीतम दासका मन्दिरसमेत निर्माण भइरहेका छन् ।

Ramdhuni-Mandir-dhara-btvnepal-1783668057.jpg
अध्यक्ष कार्कीका अनुसार १ करोड ३५ लाख रुपैयाँको संघीय बजेटबाट रामधुनी मन्दिर परिसरमा १०८ धारा निर्माण गरिएको छ । स‌ंघ र नगरपालिकाको आधाआधा लगानी गर्ने गरी २ करोड रुपैयाँ विनियोजन भएपछि धर्मशाला निर्माणको काम हुँदैछ । पर्यटन कार्यालय विराटनगरको ५० लाख रुपैयाँमा तपस्वीथानमा सिंढी र सीता कुण्डमा आसपासमा टायल लगाउने काम गरिएको छ । गुठी संस्थानबाट आएको ५ लाख रुपैयाँले  यसअघि सीताको मूर्ति बनाइएको छ । 

तर स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले मन्दिरको ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्वलाई आत्मसात् गरेर विकासको दीर्घकालीन दृष्टि बनाउन नसकेको टिप्पणी पनि हुन थालेको छ । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विस्तार हुँदै गएको रामधुनीलाई प्राकृतिक तपोभूमि र पौराणिक धरोहरका रूपमा संरक्षण गर्नुको सट्टा कङक्रिटका संरचना थपिँदै जाँदा मन्दिरको मौलिकता हराउने खतरा बढेको सरोकारवालाहरू बताउँछन् ।

स्थानीयवासीको भनाइमा रामधुनीको विकास आवश्यक भए पनि त्यसको स्वरूप परम्परागत, वातावरणमैत्री र पुरातात्त्विक चरित्र जोगाउने खालको हुनुपर्छ । मन्दिरको धार्मिक गरिमा, जङ्गली परिवेश, तपोवनको शान्त वातावरण र पौराणिक चिनारीलाई केन्द्रमा राखेर विकास योजना अघि नबढाइए रामधुनी क्रमशः ‘धार्मिक स्थल’ भन्दा बढी ‘कङक्रिट संरचनाको परिसर’ मा सीमित हुने चिन्ता बढ्दो छ ।

Ramdhuni-Mandir-congcrit-1-btvnepal-1783668082.jpg
धार्मिक आस्था, ऐतिहासिक महत्व र पर्यटन सम्भावनाले भरिएको रामधुनी मन्दिरलाई संरचना थपेर होइन, यसको मौलिकता, पौराणिकता र पुरातात्त्विक पहिचान जोगाउने गरी विकास गर्नुपर्ने आवश्यकता अहिले झन् टड्कारो बनेको छ । 

यद्यपि  धर्मावलम्बीको आस्थाका कारण पछिल्ला वर्षहरूमा भारतबाट उदासी सम्प्रदायका भक्तजन दर्शनका लागि आउन थालेका छन् । श्री चन्द्र बाबा, वनस्खण्डी र प्रीतम दासका मन्दिरको प्राणप्रतिष्ठापछि भक्तजनको आगमन अझ बढेको व्यवस्थापन समितिको भनाइ छ ।

स्थानीयका अनुसार मन्दिर क्षेत्रमा संरचना निर्माण भएसँगै धार्मिक पर्यटकको आकर्षण बढेको छ । रामनवमी, विवाहपञ्चमी, ऋषिपञ्चमी, शिवरात्रि, तीजलगायत पर्वमा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट आउने भक्तजनको घुइँचो लाग्छ । धुनी मन्दिरमा पूजा–आराधना गर्दा मनोकामना पूरा हुने जनविश्वास छ ।

Ramdhuni-Mandir-1-btvnepal-1783668104.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन