नेभिगेशन
धरान विशेष

धरान खानेपानी बोर्डको नीति तथा कार्यक्रम : कोशी खानेपानी आयोजना कार्यान्वयन, पर्याप्त पानीको सुनिश्चितता

 धरान, साउन १ — धरान खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष२०८३/८४ को नीति तथा कार्यक्रममा कोशी खानेपानी आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउँदै धरान उपमहानगरपालिकावासीलाई पर्याप्त, सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य अघि सारेको छ । 

खानेपानीको पहुँच विस्तार, स्रोत संरक्षण, चुहावट नियन्त्रण, सेवा प्रवाहमा सुधार तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्दै बोर्डले आफ्नो पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

शुक्रबार सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रमअनुसार धरानमा दीर्घकालीन खानेपानी समस्या समाधानका लागि कोशी खानेपानी आयोजना कार्यान्वयनमा बोर्डको भूमिका प्रभावकारी बनाइनेछ । सुरक्षित खानेपानीमा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यले जल प्रदूषण नियन्त्रण तथा वातावरणीय सरसफाइ प्रवर्द्धनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

खानेपानी सेवा नपुगेका क्षेत्रमा थप ट्रङ्क लाइन तथा वितरण पाइपलाइन विस्तार गरिने बोर्डले जनाएको छ। पाइपलाइन विस्तारका क्रममा भत्किएका सडक मर्मतका लागि समेत बजेट विनियोजन गरिने र खानेपानी चेम्बरलाई व्यवस्थित बनाइने नीति लिइएको छ ।

बोर्डले प्रशासनिक तथा पुँजीगत खर्चलाई मितव्ययी बनाउँदै सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने जनाएको छ । अनधिकृत रूपमा खानेपानी उपभोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याइने व्यवस्था पनि नीति तथा कार्यक्रममा समावेश छ ।

खानेपानी उत्पादन तथा वितरण सुधारका लागि स्रोत संरक्षण, चुहावट नियन्त्रण र आवश्यक पूर्वाधार व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हाल सुख्खा मौसममा दैनिक औसत २ करोड ४१ लाख लिटर खानेपानी उत्पादन तथा वितरण हुँदै आएको उल्लेख गर्दै बोर्डले स्रोत व्यवस्थापन र चुहावट नियन्त्रणमार्फत आगामी सुख्खा मौसममा दैनिक २ करोड ७० लाख लिटर खानेपानी उत्पादन तथा वितरण गर्ने लक्ष्य निर्धारण गरेको छ ।

स्रोत संरक्षणका लागि आवश्यक पम्प, मोटर तथा विद्युतीय उपकरण तत्काल प्रयोग गर्न मिल्ने गरी आवश्यक मालसामान खरिदलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नीति पनि सार्वजनिक गरिएको छ ।

संस्थागत सुदृढीकरणतर्फ बोर्डका कर्मचारीको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम सञ्चालन गरिने, कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने तथा कर्मचारी कल्याण कोष स्थापना गरिने कार्यक्रमसमेत समावेश गरिएको छ । त्यसैगरी बोर्ड सञ्चालनका लागि आवश्यक नियम तथा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइने उल्लेख गरिएको छ ।

बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले धरानमा खानेपानी सेवा विस्तार, व्यवस्थापन सुधार तथा दीर्घकालीन रूपमा सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति सुनिश्चित गर्ने लक्ष्य लिएको बोर्डका अध्यक्ष बेघाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप धरान विशेष