वराहक्षेत्र (सुनसरी) – हिन्दू धर्मग्रन्थदेखि किराँत मुन्दुमसम्म मानव सभ्यताको प्रारम्भसँग जोडिएको पवित्रस्थलका रूपमा वर्णित वराहक्षेत्र धार्मिक आस्थाको केन्द्र भए पनि संरक्षण, पूर्वाधार विकास र प्राकृतिक विपद्को जोखिमका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यो क्षेत्र बाढी, पहिरो र जीर्ण संरचनाको समस्यासँग जुधिरहेको सरोकारवालाहरू बताउँछन्।
वराह पुराण, स्कन्द पुराण, महाभारतलगायतका धार्मिक ग्रन्थमा महिमामण्डित गरिएको वराहक्षेत्रलाई भगवान विष्णुको तेस्रो अवतार वराहले रसातलबाट पृथ्वीको उद्धार गरी मानव सभ्यताको आधार स्थापना गरेको स्थलका रूपमा व्याख्या गरिएको छ। हिन्दू धर्ममा मात्र होइन, किराँत मुन्दुममा उल्लेख गरिएको मानव सभ्यताको प्रारम्भिक बिन्दु 'खुवालुङ क्षेत्र' सँग पनि वराहक्षेत्रको सम्बन्ध रहेको मान्यता छ। अनादिकालदेखि पूजा, आराधना र धार्मिक अनुष्ठान हुँदै आएको यो क्षेत्र हिन्दू, किराँत र याक्थुङ संस्कृतिको साझा आस्थास्थलका रूपमा परिचित छ।

वराहक्षेत्रसँगै रामधुनी, चतराधामस्थित औलिया मठ, पिण्डेश्वर, विष्णुपादुका, छिन्ताङदेवी र उदयपुरको मैना रानी क्षेत्रलाई समेटेर पञ्चकोष धार्मिक क्षेत्र निर्माण गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यी धार्मिकस्थललाई सहज सडकमार्गमार्फत जोडेर धार्मिक सर्किट विकास गर्न सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटनमा उल्लेखनीय वृद्धि हुने स्थानीयको विश्वास छ। साथै, कोशीटप्पु वन्यजन्तु आरक्षसँग धार्मिक क्षेत्रलाई जोडेर एकीकृत पर्यटन विकास गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीका अनुसार वराहक्षेत्र श्वेत वराह कल्पमा भगवान नारायणको वराह अवतारले पृथ्वीको उद्धार गरेको स्थल हो। भगवान नारायणले पितृ उद्धारका लागि श्राद्ध गरेको स्थान भएकाले यसलाई आदि श्राद्धस्थल, पहिलो धाम र पहिलो तीर्थका रूपमा पनि मानिन्छ। मन्दिर परिसरको 'चन्दनशिला' मा रहेको प्राकृतिक वराह आकृति पुरातात्त्विक दृष्टिले करिब पाँच हजार वर्ष पुरानो मानिने भए पनि त्यसको संरक्षण र अध्ययन अझै पर्याप्त हुन सकेको छैन। उनले वराहक्षेत्रमा अवस्थित कोका वराहका मूर्ति नवौं शताब्दीका रहेको तथ्यसमेत उल्लेख गरे।

भण्डारीका अनुसार वराहक्षेत्रका धार्मिक कथा चतराधामस्थित औलिया मठ, रामधुनी र पिण्डेश्वरसँग अभिन्न रूपमा जोडिएका छन्। औलिया मठ नेपालमै च्यादर चढाइने विशेष परम्परा रहेको मठका रूपमा परिचित छ। कार्तिके मेला र मकर सङ्क्रान्तिमा लाग्ने विशाल मेलाले धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। उदयपुरको मैनामैनी क्षेत्रमा रहेको विशेष शिवलिङ्गलाई पनि वराहक्षेत्रसँग जोडेर धार्मिक पर्यटनको दायरा विस्तार गर्न सकिने उनको भनाइ छ।
वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले वराहक्षेत्र विश्व सनातन परम्परामा धर्तीको पहिलो तीर्थ, आदि श्राद्धभूमि र चार प्रमुख क्षेत्रमध्ये एक भए पनि यसको अन्तर्राष्ट्रिय स्तरमा अपेक्षित प्रचार हुन नसकेको बताए। विशेषगरी दक्षिण भारतमा भगवान वराहलाई इष्टदेवताका रूपमा मान्ने ठूलो समुदाय रहेकाले त्यहाँ लक्षित प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमा उल्लेखनीय परिवर्तन आउने उनको भनाइ छ।
धार्मिक महत्त्वसँगै वराहक्षेत्र प्राकृतिक जोखिमको चपेटामा पनि पर्दै आएको छ। कोका खोला र सप्तकोशी नदीको सङ्गम क्षेत्रमा रहेको डाँडा निरन्तर भत्किरहेको छ। गत वर्ष मन्दिरको आन्तरिक स्रोतबाट करिब ३० लाख रुपैयाँ खर्चेर संरक्षणका लागि पर्खाल निर्माण गरिए पनि जोखिम पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। सप्तकोशीको कटानका कारण स्थानीय बासिन्दा अघिल्लो वर्षदेखि नै त्रसित छन्।

वराहक्षेत्र पुग्ने सडक पनि पहिरोको जोखिममा रहेको स्थानीयको गुनासो छ। करिब पाँच दशकअघि सवारी सञ्चालन सुरु भएको मार्ग अहिले पनि पूर्ण रूपमा सुरक्षित र स्तरोन्नत हुन सकेको छैन। निर्माणाधीन तमोर करिडोर अन्तर्गत धनसार खोला र बाहुनी खोलामा निर्माण गरिएका पुलसमेत पहिरोका कारण जोखिममा पर्ने सम्भावना रहेको स्थानीयको भनाइ छ। विकास निर्माणका क्रममा खोला सतहभन्दा तल पुल निर्माण गरिएकाले बाढी र पहिरोले क्षति पुर्याउन सक्ने उनीहरूको आशंका छ।
स्थानीयका अनुसार कोशी पुलदेखि वराहक्षेत्र मन्दिरसम्म करिब तीन हजार आठ सय मिटर सडक अझै व्यवस्थित रूपमा निर्माण हुन सकेको छैन। धार्मिक पर्यटक र भक्तजनको सङ्ख्या वर्षेनी बढ्दै गए पनि सडक, पार्किङ, अपाङ्गमैत्री पूर्वाधार र अन्य आधारभूत सुविधा अभावमै छन्। मन्दिरका पुराना संरचना जीर्ण बन्दै गएका छन् भने पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र जीर्णोद्धार पनि अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।
स्थानीयवासीले धार्मिक सम्पदा संरक्षणलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने माग गर्दै वराहक्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व जोगाउन दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार धार्मिक आस्था, पुरातात्त्विक सम्पदा र प्राकृतिक सौन्दर्यलाई एकीकृत रूपमा संरक्षण र प्रवर्द्धन गर्न सके वराहक्षेत्र नेपालको प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुन सक्छ।
वराहक्षेत्र धाम शान्ति, मोक्ष र वरदायक क्षेत्रका रुपमा रहेको मन्दिरका प्रधान पुजारी किरण भण्डारी बताउँछन् । उनका अनुसार यहाँ एकै पटक हरि (विष्णु भगवान) र हर (महादेव) को दर्शन गर्न सकिन्छ । बाढी र पहिरोको जोखिमका कारण साउन महिनाभरि लाग्ने बोलबम मेलासमेत प्रभावित बनेको छ ।