नेभिगेशन
समाचार

प्रतिक्रियाविहीन भए पर्यटनमन्त्री पौडेल, जब पुगे विजयपुर

सुनसरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेस) ले धरान पुगेर ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको विजयपुर क्षेत्रको अवलोकन गरेका छन्।

सामाजिक सञ्जालमा 'विजयपुर कस्को?' भन्ने विषयमा तीव्र बहस भइरहेका बेला मन्त्री पौडेल धरान–१४ स्थित लिम्बुवानकालीन राजा विजयनारायणको दरबार रहेको भग्नावशेष स्थल पुगेका हुन्। उनले विजयपुरगढीमा पुगेर भग्नावशेषलाई ढोग्दै सम्मान व्यक्त गरे। करिब तीन मिनेटसम्म स्थलको अवलोकन गरेपछि उनी फर्किएका थिए। सञ्चारकर्मीले विजयपुर विवादबारे प्रतिक्रिया मागे पनि मन्त्री पौडेलले कुनै टिप्पणी गरेनन्।

विवादको पृष्ठभूमि

गत वैशाख पूर्णिमाका बेला विजयपुरगढी नजिक रहेको समाधिस्थलमा याक्थुङ लिम्बू समुदायका सय वर्षभन्दा पुराना करिब दुई दर्जन समाधि रहस्यमय रूपमा भत्काइएपछि विवाद चर्किएको थियो। घटनामा संलग्न व्यक्तिको पहिचान हुन नसकेको अवस्थामा किरात राई समुदायले त्यही क्षेत्रमा चिण्डो (वाबु) गाडेपछि विवाद थप गहिरिएको हो। हालसम्म दुवै समुदायबीच सहमति हुन सकेको छैन।

याक्थुङ लिम्बू समुदायले इतिहासका आधारमा विजयपुरलाई १६औँ शताब्दीअघि विजयनारायणले स्थापना गरेको लिम्बुवानको राजधानी र दरबार भएको दाबी गर्दै आएको छ। उता किरात राई समुदायले भने विजयपुरका अन्तिम सेन शासक कामदत्त सेनको वि.सं. १८२६ मा हत्या गरी केही वर्ष शासन गरेका बुद्धिकर्ण राय नै राई समुदायका व्यक्ति भएको दाबी गर्दै आएको छ।

तर, केही इतिहासकार तथा अनुसन्धानकर्ताले बुद्धिकर्ण राय अहिलेको राई समुदायका नभई याक्थुङ लिम्बू भएको दाबी गरेका छन्। याक्खा समुदायले पनि बुद्धिकर्ण राय अर्थात् पुत्लुङ देवान याक्खा समुदायका व्यक्ति रहेको दाबी गर्दै आएको छ। यसरी विजयपुरको ऐतिहासिक पहिचानलाई लिएर याक्थुङ लिम्बू, किरात राई र याक्खा समुदायबीच फरक–फरक दाबी रहँदै आएको छ।

इतिहासमा के उल्लेख छ?

कर्क प्याट्रिक, बी.एच. हज्सन, इमानसिं चेम्जोङ, शिवकुमार श्रेष्ठ, रिस्ले र ह्यामिल्टनलगायत स्वदेशी तथा विदेशी इतिहासकारहरूले साङ्ला इङपछि पुङ्ला इङले हिन्दू धर्म स्वीकार गरी नामको पछाडि 'नारायण' थपेर अमर राय नाम राखेको उल्लेख गरेका छन्। उनीपछि कीर्तिनारायण, अपनारायण, जोरानारायण, इदिङ नारायण हुँदै विजयनारायणले विजयपुरलाई मोरङको राजधानी बनाएको विवरण विभिन्न ऐतिहासिक स्रोतमा पाइन्छ।

पुराना हस्तलिखित वंशावलीमा राजा विजयनारायणले दश लिम्बू १७ थुममध्ये याङवरक थुम हस्तपुरगढीका राजा युहाङकेप्पाकी बहिनी थाङ्सामासँग राजकीय विवाह गरेको उल्लेख गरिएको छ।

ताप्लेजुङका साउदेन र तेह्रथुमका तम्बाहाङ्फे लिम्बू थरले पनि आफ्ना प्रकाशित वंशावलीमा विजयनारायणलाई आफ्ना पुर्खाका रूपमा उल्लेख गरेका छन्। यस्तै, वि.सं. १८२६ पछि तीन वर्ष शासन गरेका बुद्धिकर्ण राय अहिलेको राई समुदायका भए कुन राई समुदायका पुर्खा हुन् भन्ने स्पष्ट ऐतिहासिक आधार भेटिएको छैन। तर धनकुटाको खेवा तिगेला लिम्बू वंशले उनलाई आफ्ना पुर्खा भएको दाबी गर्दै आएको छ।

इतिहासअनुसार विजयनारायण पाल्पाका राजा लोहाङसेनका समकालीन थिए। सेन राज्य विस्तारका क्रममा विजयनारायणको निधन भएपछि उनका छोरा उत्तराधिकारी नरहेका कारण फेदापका बाजहाङका छोरा पानोहाङ खेवाङलाई चौतारिया नियुक्त गरिएको उल्लेख छ। त्यसपछि सेन शासक र याक्थुङ लिम्बू शासकको सहकार्यमा विजयपुरको शासन सञ्चालन भएको र वि.सं. १८३१ साउन ३१ गते पृथ्वीनारायण शाहसँग नुनपानी सन्धि भएपछि विजयपुर गोरखा राज्यमा समाहित भएको इतिहासमा उल्लेख छ।

ब्रिटिस गोर्खा स्मृति पार्कको पनि अवलोकन

विजयपुर विवादबारे मौन बसेका मन्त्री पौडेलले धरानका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्दै सबै धर्म, जाति र समुदायका साझा सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकासमा जोड दिनुपर्ने बताए।

धरान भ्रमणका क्रममा उनले धरान–२० स्थित माछामारा डाँडामा निर्माणाधीन १३ बिघा क्षेत्रफलको ब्रिटिस गोर्खा स्मृति पार्क को निरीक्षण गर्दै गोर्खा लाहुरे समुदायले राष्ट्रका लागि पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्नुपर्ने बताए।

त्यसपछि मन्त्री पौडेलले धरान–१४ स्थित आदिवासी जनजाति बहुसांस्कृतिक सङ्ग्रहालय र धरान–१६ स्थित बहुभाषिक पाठशालाको पनि अवलोकन गरे। सङ्ग्रहालयमा आयोजित स्वागत कार्यक्रममा उनले अस्पताल, विद्यालय र सडक निर्माण मात्र विकासको सूचक नभएको उल्लेख गर्दै ती संरचनाबाट गुणस्तरीय सेवा प्रवाह हुन सकेपछि मात्र नागरिकले विकासको अनुभूति गर्ने बताए।

मन्त्री पौडेलले वर्तमान सरकारले कार्यालय समयमा नियमित रूपमा काम गर्ने र बिदाको दिन जनतामाझ पुगेर समस्या बुझ्ने तथा अनुगमन गर्ने अभ्यासलाई निरन्तरता दिएको पनि बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार