नेभिगेशन
समाचार

श्रीलङ्का टप्पु : ०४५ सालयता सप्तकोशीमा विलिन भए दशौं बस्ती, १ हजार घर परिवार विस्थापित

श्रीलङ्का टप्पु (सुनसरी) । सप्तकोशी नदीको धार ०३९ सालदेखि पूर्वतर्फ फर्कियो । पूर्वाभिमुख भएर बगेको ४५ वर्ष बित्न लाग्दा सप्तकोशी पूर्ववत् फर्कने हो कि ?, श्रीलङ्का टप्पुका स्थानीय रातैभरि निदाउन सकेका छैनन् । कोशीले पुरानै धार लियो भने, अहिलेको श्रीलङ्का टप्पु डुब्ने छ, अनि यसको क्षति कसैले अनुमान गर्न सक्ने छैन । २०१८ सालदेखि श्रीलङ्का टप्पुमा परिबारसँगै बसोबास गर्दै आएका अर्जुन चन्द्रवंशी (६१) सप्तकोशी नदीको उत्पात सम्झन्छन् ।

"२०१८ सालदेखि हामी श्रीलङ्का टप्पु बसेको । त्यतिबेला सप्तकोशी नदी बेलका छेऊबाट हिंड्ने गर्थ्यो । त्यहीँबाट बग्दैथियो । २०३९ सालमा सानो भँगालो फुटेर पूर्व आयो । ०४५ भदौ ५ गतेको भुइँचालोले रातभरिमै कोशी पल्टेर पूर्व गयो । ०३९ सालदेखि कटान बढेको बढै छ । वर्षमा १ सय लग्गीदेखि २ सय लग्गा कटान गरेकै हुन्छ । अहिले हाम्रो घर नजिकै आइसक्यो । टप्पुवासी धेरैलाई पिरमर्का पर्ने अवस्था आइसक्यो । सप्तकोशी छेऊमै आइपुग्दा कहाँ जाऔं, के गरौं भन्ने चिन्ता छ । स्थानीय सरकारहरू पनि जनतासँगसँगै खटिरहेको छ । खटेर पनि सम्भव हुने अवस्था देखिएन । यसमा नेपाल सरकार आफैं भिड्नु पर्‍यो कि भारत सरकार भिड्नु पर्‍यो । नेपाल सरकारले केही वास्ता गरेको छैन । 

सिर्फ यहाँबाट जनता हटाउने/ भगाउने हो-हल्ला मात्र भइराखेको छ । जनतालाई सही बाटो सही ठाउँ देखाउने काम गरेको छैन । हामी टप्पुका जनता अलपत्र परेका छौं । सरकारले भगाउँछ भने भागेर कहाँ जाने ?, कोशीले भगायो भने भागेर कहाँ जाने ? 

०४५ सालदेखि ४ पटक हामीले घर सारिसक्यौं । पूर्वपट्टी अहिले कोशी बगिरहेको ठाउँमा घर थियो  । ४ पटक सर्दै सर्दै अहिले बसेको ठाउँमा छौं । टप्पुमै छौँ । यही ठाउँमा बसेको २० वर्ष भयो । यहाँ पनि कोशी नजिकै आइसक्यो । मात्र आधी किलोमिटर छ । अहिले पनि कटान भइरहेकै छ । अब यो विषयमा हामीले के भन्ने ? काम गर्ने नेपाल सरकारले हो । बोलेपछि उहाँहरूले वास्ता गरिदिनुपर्छ । तर गर्दिदैन ।

1000223741-1785048316.jpg
तस्बिरमा - अर्जुन चन्द्रवंशी ।

०४५ सालदेखि टप्पुवासीका १ हजार घर कोशीले भत्काइदियो । सिसौली, जलाल, चिलिया टप्पुका १०/२० वटा बस्ती कोशीले उठाइदियो । ती बस्तीवासी कोही पनि छैनन्, कोशी किनारमा सबै टप्पु छाडेर भागिसके । 

कोशीमै नम्बरी जग्गा हुने १ हजार घर अझै छौं, टप्पुमै । हाम्रो १२ बिघा नम्बरी जग्गा कोशीले बगा'को छ । त्यो जग्गाको मौजा (मुआब्जा)/ सट्टाभर्ना नेपाल सरकारले अहिलेसम्म दिएको छैन । केही बुझा'को छैन । सट्टाभर्ना/ मुआब्जा आज भेट्छ कि भोलि भेट्छ कि भन्दै त्यही आशामा बसेको छु । ऐलानी जग्गा भोगचलन गरेर खाइराखेको छु । 

यसमा पनि कोशी टप्पु वन्यजन्तु आरक्षले वर्षैपिच्छे पेलेको पेलै छ । 'तपाईंहरूले ऐलानी जग्गा अतिक्रमण गर्न पाउनुहुन्न, यहाँबाट तपाईंलाई भगाउँछु भनेर सेनाहरूले हामीलाई पटकपटक दबाब दे'कोदे'कै छ । पिर त हामीलाई चारैतिरको छ, कोशीले पनि पेलेकै छ । आरक्षले पनि पेलेकै छ । नेपाल सरकारले पनि पेलेकै छ । कि त नेपाल सरकारले क्षतिपूर्ति, मौजा, सट्टाभर्ना दिएर कुनै ठाउँमा सुरक्षित लगेर राखिदिनुपर्छ । कि त यही जग्गालाई व्यवस्थित बनाइदिनुपर्छ । हाम्रो भनाइ यत्ती नै हो । 

प्रत्येक चुनावमा हामी सहभागी हुन्छौं । 'हामीलाई जिताएर पठाउनुस् तपाईंहरूलाई सुरक्षित गर्छौं,' भनेर नेताहरूले आश्वासन दिन्छन् । केन्द्रमा गइसकेपछि कुर्सीको झगडा गर्दागर्दै उनीहरूको दिन ठीक्क हुन्छ, हामीलाई के व्यवस्था गर्छ । 

अहिले बालेन सरकार दुई तिहाई मतको बन्यो । अब दुई तिहाईले हामीलाई सुरक्षित ठाउँ दिनुपर्छ । तर ऊ आफैं नदी/ खोलाको छेऊछाऊबाट जनता हटाउनुपर्छ, जहाँबाट आयो त्यहीँ भाग्नुपर्छ भन्ने उसको भनाइ अर्कै छ । बहुमतको सरकार पनि झन पेल्नैतर्फमा पुगेको छ । 

कोशीमा पुल बन्छ भनेर हामी पनि सुनेको थिएँ । झोलुङ्गे पुल बन्छ भएर २ करोड रुपैयाँ कोशी प्रदेशबाट छुट्याइएको पनि । त्यो पुल बन्छ र हामीलाई धेरै राहत हुन्छ कि भन्ने आशा त गरेको तर पछिबाट फेरि क्यान्सिल भएर कहाँबाट के भो ? त्यो हामीलाई थाहा भएन । ५ किलोमिटर पुल बन्छ भनेर सुनेको । त्यो बजेट कहाँ गयो कल्ले लग्यो ? अहिलेसम्म त्यो कुनै जानकारी हामीलाई भनेको छैन । टप्पुवासीको लागि कोशीको कटान रोकथाम गरिदिए धेरै सुविधा/ राहत पाउथ्यौँ ।"
**

1000223758-1785048397.jpg
सीताराम चन्द्रवंशी (५२) २०४५ सालअघि आँखै अगाडि उनको डेढ बिघा जग्गा हेर्दा हेर्दै कोशीमा विलिन भयो । 'अधाघण्टा पनि लागेन कोशीले लान,' चन्द्रवंशीले पुराना दिन सम्झिए, 'आँखै अगाडि नम्बरी जग्गा कोशीले लग्यो, भाग्नुसिवाय केही बाँकी थिएन ।' 

१५ कट्ठा जग्गामा उनले पर्वल खेती गरेका थिए । बिक्रीका लागि सुनसरी सदरमुकाम इनरुवा लगिन्थ्यो । ५० रुपैयाँ प्रति क्विन्टल बिक्री हुन्थ्यो । सबै जग्गा कोशीले निल्यो । 

उनी सम्झन्छन्, 'जलालतर्फ २ वटा बस्ती (तल्लो र मथिल्लो) जामपानी र चिलियासहितका बस्तीका मानिसले छाडेर भागे ।'

२०४५ सालदेखि यता सिसौली घाटदेखि आरक्षसम्मका १० वटा बस्ती बगरमा परिणत भयो । 'जलालका मान्छे कोही ठाकुरबारी गए, कोही वान डाँडा पुगे । कति त यो ठाउँ नै छाडेर झापा, मोरङतिर गए ।' चन्द्रवंशीले भने ।

shrilanka-tappu-katan-1779535329.jpg
भोजपुर टेम्के मयुङबाट २०४७ सालमा टप्पु आएका पर्शुराम बिक, २०५७ सालदेखि यहाँ निरन्तर बसोबास गर्दै आएका छन् । राम्रो उब्जनी हुने, पशुपालन र कृषिक्षेत्रमा सम्भावना देखेर उनी यही पेशामा आवद्ध छन् । अहिले उनी पनि कोशीको त्रासमा छन् । 

सप्तकोशी नदी बीच भागबाट बगिरहेको छ । र, कटान गरिरहेको छ, पूर्वपश्चिम दुवैतर्फ । पूर्वी तटमा कोशी सम्झौताअनुसार भारतको बिहार सरकारले तटबन्ध गर्दै आएको छ । पश्चिम तटबन्ध भने स्थानीयले नै बेम्बो पाइलिङ र बोराबाँध लगाउँदै प्राकृति उपाय अपनाइरहेका छन् । 
'कोशीले पश्चिम कटान गरिरहेको छ । बिचमा बगर निकालिरहेको छ, नियन्त्रण गर्न नसके टप्पुमा बस्ने दिन सकिन्छ,' स्थानीय कोशी नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझी भन्छन् । 

श्रीलङ्का टप्पु सुनसरीको वराहक्षेत्र नगरपालिका ६ र ९ तथा उदयपुरको बेलका नगरपालिका २ र ३ मा फैलिएको छ । झण्डै ३ हजार जनसङ्ख्या रहेको टप्पुमा अधिकांश परिवार कृषि र पशुपालनमा निर्भर छन् । मकै, धान, सब्जी खेती, पशुपालन र दूग्ध उत्पादन यहाँका किसानको आम्दानीको मुख्य स्रोत हो । सप्तकोशी नदीले वर्षामा बर्सेनि कटान गर्नाले स्थानीय त्रसित छन् भने खेतीयोग्य जमीन बग्दै गएको छ । बस्ती जोखिममा पर्दै आएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार