नेभिगेशन
आर्थिक

तरकारी खेतीमा युवाको आकर्षण : श्रीलङ्का टप्पुमै कुवेत र मलेसियाभन्दा राम्रो आम्दानी

श्रीलङ्का टप्पु (सुनसरी ) । दुई वर्ष कुवेतमा पसिना बगाएका बालक चन्द्रवंशी श्रीलङ्का टप्पुमा ४ बिघा जमिनमा तरकारी खेती गर्छन् । वराहक्षेत्र -६ स्थित टप्पुका चन्द्रवंशी तरकारी खेतीबाटै वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्छन् । 

उनीजस्तै राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए । भाडामा जग्गा लिएर उनले पनि तरकारी खेती थाले । १० कट्ठा जमिनमा पसिना बगाउने महतोले वार्षिक सात लाख रुपैयाँ आम्दनी गर्दै आएका छन् । यी दुवै युवाको कथा आआफ्नै छ । 
**

1000236466-1789545132.jpg
दुई वर्ष कुवेतमा काम गरेपछि बालक चन्द्रवंशी स्वदेश फर्किए । विदेशमा कमाइ राम्रो होला भन्ने सोच थियो । तर सोचेअनुसार भएन । त्यसपछि उनले आफ्नै गाउँको माटो रोजे ।

५० हजार रुपैयाँ लगानीबाट सुरु गरेको खेती अहिले करिब चार बिघामा फैलिएको छ । उनको खेतमा मौसमअनुसार विभिन्न तरकारी फल्छन् । करिब अढाई बिघामा गोलभेँडा लगाएका छन् । बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायतका तरकारी छन् ।

“पहिले बारी बाँझो हुन्थ्यो । घरमा काम गर्ने मान्छे हुँदैनथे । थोरै जग्गामा धान र मकै लगाउँथ्यौँ । खानलाई पुग्थ्यो । तर नगद पैसा हात पर्दैनथ्यो,” चन्द्रवंशीले भने ।

नेपालमा जागिर गर्दा आम्दानी कम थियो । त्यसैले उनी विदेशिए । कुवेतमा दुई वर्ष बिताए । तर विदेशमा पनि अपेक्षाअनुसार कमाउन सकेनन् ।

“अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ । त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन,” उनले भने, “नेपाल फर्किएर कृषि सुरु गरेँ । अहिले यही पेसाबाट राम्रो आम्दानी भइरहेको छ ।”

चन्द्रवंशीका लागि तरकारी खेतीको अर्को विशेषता नियमित आम्दानी हो । खेतमा उत्पादन भएको तरकारी बिक्री भइरहन्छ । व्यापारी बारीमै आइपुग्छन् ।

1000236465-1789545180.jpg
धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायतका ठाउँबाट व्यापारी तरकारी किन्न आउने गरेका छन् । सडक तथा यातायातको पहुँचले उत्पादन बजार पुर्‍याउन सहज भएको चन्द्रवंशी बताउँछन् ।

गोलभेँडा उनको मुख्य उत्पादन हो । भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ । कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ । अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन हुने गरेका छन् ।

आधुनिक जातका गोलभेँडा लामो समयसम्म नबिग्रिने भएकाले टाढाको बजारमा पठाउन सहज हुन्छ । त्यसैले उनले गोलभेँडालाई प्राथमिकता दिएका छन् ।

“गोलभेँडाका केही कलमी बिरुवा भारतबाट ल्याएर रोप्छु । बाँकी बिरुवा आफैँ उत्पादन गर्छु,” उनले भने, “अन्य तरकारीका बिरुवा स्थानीय बजारबाट खरिद गरेर ल्याउने गरेको छु ।”

तरकारी खेतीमा श्रम पनि उत्तिकै आवश्यक पर्छ । चन्द्रवंशीको खेतमा वर्षभरि १२ जनाभन्दा बढी कामदारले काम गर्छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदार खटिन्छन् ।

कामदारलाई मासिक १८ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको छ । श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था छ ।

“यहाँ कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” चन्द्रवंशीले भने ।

1000236462-1789545276.jpg
चन्द्रवंशीको खेतमा चार वर्षदेखि काम गर्दै आएका सप्तरीका राजकुमार पनि यही खेतीमा आफ्नो रोजगारी देख्छन् ।
“आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन,” उनले भने, “यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु ।”

राजकुमारका लागि आफ्नै देशमा रोजगारी पाउनु महत्वपूर्ण छ । विदेशमा हुने खर्च र नेपालमा हुने बचतलाई उनी आफ्नै अनुभवसँग जोड्छन् ।

“विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ,” उनले भने, “यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर ४०–५० हजार कमाए पनि आफैँलाई खर्च पुर्‍याउन गाह्रो हुन्छ । नेपालमा १५–२० हजार कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ ।”

तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिघामा मकै पनि लगाएका छन् । मकै बिक्रीबाट वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । कृषिबाट भएको आम्दानीले उनले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत किनेका छन् ।

“गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु,” उनले भने, “राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि ।”
**

1000236503-1789545229.jpg
श्रीलङ्का टप्पुकै अर्का युवा हुन्, राकेशकुमार महतो । तीन वर्ष मलेसियामा काम गरेपछि उनी पनि स्वदेश फर्किए । विदेशमा श्रम गरे । तर अपेक्षित प्रतिफल पाउन सकेनन् ।

नेपाल फर्किएपछि उनले फेरि खेती समाते । सुरुमा आफ्नै जग्गामा खेती गर्दै आएका थिए । करिब चार बिघा जमिन थियो । तर सप्तकोसी नदीको कटानले त्यो जमिन बगायो ।
जग्गा बगेपछि उनको खेती रोकिएन । उनले अरूको जग्गा भाडामा लिए । अहिले करिब १० कट्ठा जमिनमा तरकारी खेती गरिरहेका छन् ।

गोलभेँडा, बोडी, साग, भिण्डीलगायत मौसमी तरकारी उनको खेतमा छन् । आठ कट्ठामा मल्चिङ प्रविधिबाट गोलभेँडा लगाएका छन् ।

“पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोसी नदीले कटान गरेर लग्यो,” महतोले भने, “अहिले आफ्नो जग्गा छैन । अरूको जग्गा भाडामा लिएर तरकारी खेती गरेको छु ।”

1000236500-1789545333.jpg
खेतीमा महतो आफैँ खटिन्छन् । श्रीमतीले पनि सघाउँछिन् । मुख्य सिजनमा आवश्यक परे मजदुर बोलाउँछन् ।

बीउ, मल, औषधि र मजदुरीमा वार्षिक दुई लाख रुपैयाँसम्म खर्च हुन्छ । खर्च कटाएर वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको महतोले बताए ।

“यही आम्दानीले घरपरिवार धानेको छु,” उनले भने ।
तरकारी खेतीको आम्दानीले घरखर्च मात्रै चलेको छैन । तीन छोराछोरीको पढाइ र दैनिक आवश्यकतासमेत यही आम्दानीबाट पूरा हुँदै आएको उनले बताए ।

महतोका लागि पनि बजारको समस्या छैन । धनकुटा, धरान, उदयपुर र इनरुवालगायतका ठाउँबाट व्यापारी खेतबारीमै पुग्छन् । टमाटर र अन्य तरकारी खरिद गरेर लैजान्छन् ।
गोलभेँडाबाट राम्रो आम्दानी हुने भएपछि उनले अन्य तरकारीको तुलनामा त्यसलाई प्राथमिकता दिएका छन् । गोलभेँडाको मूल्य भने सिजनअनुसार फरक हुन्छ ।

“खेतबारीबाटै प्रतिकिलो ४० रुपैयाँमा बिक्री हुन्छ,” उनले भने, “कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाएका बेला ८० देखि ८५ रुपैयाँसम्ममा गोलभेँडा बिक्री हुन्छ ।”

पहिले महतोको परिवारमा खेतीसँगै पशुपालन पनि थियो । आफ्नै जग्गा धेरै भएकाले गाईभैँसी पाल्थे । कोसी कटानले खेतीयोग्य जमिन बगाएपछि चरनका लागि ठाउँ पनि रहेन ।
“पहिला बारी धेरै हुँदा तरकारी खेतीसँगै गाईभैँसी पनि थिए,” उनले भने, “कोसी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि चरनस्थल छैन । अहिले गाईभैँसी पाल्न पनि छाडियो ।”

1000236502-1789545380.jpg
अहिले उनको परिवारको मुख्य आधार तरकारी खेतीसँगै धान र मकै खेती हो । तर खेती गरिरहँदा महतोको मनमा नदीको डर भने हटेको छैन । बर्खा सुरु भएपछि श्रीलङ्का टप्पुमा बाढी र कटानको त्रास बढ्छ । हरेक वर्ष खेतीयोग्य जमिन साँघुरिँदै गएको छ । नदी बस्ती नजिकिँदै गएको छ । आफू बसिरहेको घरसमेत सुरक्षित रहनेमा उनलाई ढुक्क हुने अवस्था छैन ।

“अहिले बसिरहेको यो सानो बास र टिनले बारेर बनाएको कटेरो घर पनि कुन दिन बगाएर लैजाला भन्ने डर छ,” उनले भने, “आफ्नै जग्गा भएको भए तरकारी खेतीबाटै राम्रो आम्दानी गर्न सकिन्थ्यो । अहिले खेती गर्न आफ्नो जमिन छैन ।”

खेतीपाती र पशुपालनबाट परिवारको गुजारा चलाउँदै आएका श्रीलङ्का टप्पुका बासिन्दाका लागि बर्खा हरेक वर्ष नयाँ चिन्ता लिएर आउँछ । बाढी र कटानले वर्षभरि गरेको मिहिनेतमा असर पार्ने चिन्ता महतोको अनुभवमा पनि जोडिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक