नेभिगेशन
शिक्षा

भगवती स्कुलको ७ करोड बढीको भवन निर्माणमा गम्भीर कैफियत, हस्तान्तरणअघि नै भुक्तानी

डेढ वर्षदेखिका अधुरा काम अलपत्र

धरान । धरान उपमहानगरपालिका–१६ स्थित श्री भगवती आधारभूत विद्यालयको नयाँ भवन निर्माणमा गम्भीर कैफियत देखिएको छ ।

सङ्घीय विशेष अनुदानअन्तर्गत दुई चरणमा प्राप्त ७ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवन पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । पहिलो चरणमा प्राप्त रकमबाट निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि धेरै काम अलपत्र परेका छन् । 

पहिलो चरणकै काम सम्पन्न भई विद्यालयलाई हस्तान्तरण भएको छैन । तर निर्माण कम्पनीले भुक्तानी लिइसकेको तथ्य खुलेको छ । भुक्तानी पाइसकेपछि निर्माण कम्पनी सम्पर्कविहीन भएको छ । 

निर्माण सम्पन्न भएको दाबी गरिए पनि विद्यालयले प्रयोगका क्रममा देखिएका दर्जनौँ समस्या समाधान नभएको भन्दै २०८२ जेठ २९ गते धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुखलाई पत्राचार गर्दै तत्काल छुट कार्य सम्पन्न गराइदिन अनुरोध गरेको थियो । तर पत्राचार भएको लामो समय बित्दासमेत अधुरा काम पूरा नभएको विद्यालयका प्रधानाध्यापक दिनेशकुमार खतिवडाले बताए ।

1000227514-1786600001.jpg
सङ्घीय विशेष अनुदान कार्यक्रमअन्तर्गत २०८३ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ । अन्यथा सङ्घले विनियोजन गरेको रकम फ्रिज हुन्छ । सोको भुक्तानी उपमहानगरले नै गर्नुपर्ने हुन्छ ।  

प्रधानाध्यापक खतिवडाले हस्ताक्षर गरेको पत्रमा भवन निर्माण पूरा हुने अवस्थामा पुगे पनि लामो समयदेखि विभिन्न निर्माण कार्य सम्पन्न नभएकाले यथाशीघ्र आवश्यक समन्वय गरी काम सम्पन्न गराउन आग्रह गरिएको छ ।

विद्यालयले उपमहानगरलाई बुझाएको पत्रअनुसार अझै सम्पन्न हुन बाँकी रहेका प्रमुख काममा निर्माणका लागि भत्काइएका विद्यालय परिसरका दुईवटा कम्पाउण्ड पर्खाल पुनःनिर्माण, निर्माणस्थलमा थुपारिएका निर्माण सामग्री, माटो तथा ढुंगाको व्यवस्थापन गरी विद्यालय परिसर सुरक्षित बनाउने, भवनको उत्तरतर्फ शौचालय जाने र पूर्वतर्फ खानेपानीको धारासम्म पुग्ने सिँढी निर्माण, खेलमैदानको दक्षिण–पश्चिमतर्फको कम्पाउण्ड पर्खाल बन्द गर्ने, पानी प्रणालीमा मोटर जडान गरी युरिनल तथा वासरुम सञ्चालनमा ल्याउने, खुला तार व्यवस्थापन गरी विद्युत् सुरक्षाको प्रबन्ध मिलाउने, निर्माणका क्रममा हटाइएको सरस्वती मन्दिर पुनःनिर्माण तथा भवनका विभिन्न स्थानमा उप्किएको प्लास्टर मर्मत गर्ने लगायतका काम छन् ।

1000227521-1786600324.jpg
पत्रमा भवन निर्माणका क्रममा विद्यालयको पानी र विद्युत् प्रयोग गरिएको तथा ठेकेदार कम्पनी, विद्यालय र उपमहानगरपालिकाबीच भएको सहमतिअनुसार त्यसको शुल्क विद्यालयलाई उपलब्ध गराउने निर्णय भए पनि हालसम्म भुक्तानी नगरिएको उल्लेख गरिएको छ । सम्बन्धित निर्माण कम्पनीलाई पालिकाबाट हुने भुक्तानीमध्ये विद्यालयले पाउनुपर्ने रकम उपलब्ध गराइदिन पनि विद्यालयले अनुरोध गरेको छ ।

योजनाको निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई भुक्तानी गरिनु, विद्यालयले औपचारिक रूपमा अधुरा कामको सूची बुझाउँदा पनि सुधार नगर्नु तथा भवन अझै हस्तान्तरण हुन नसक्नुले योजना कार्यान्वयन, प्राविधिक अनुगमन र भुक्तानी प्रक्रियामा धरान उपमहानगरको कैफियत देखिएको छ । 

यता धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले विद्यालयको काम सम्पन्न भइसकेको दाबी गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा

धमाधम बन्दैछ, पब्लिक हाइस्कुल