नेभिगेशन
शिक्षा

किताबमा पढेको संसद् विद्यालयमै अभ्यास गर्दै सियोनका विद्यार्थी

धरान । संसद्मा सभामुखको आसन, प्रधानमन्त्रीको भूमिका, विधेयकमाथि दफावार छलफल र पक्ष–विपक्षका सांसदको तर्क । यी दृश्य अब संसद् भवनमा मात्र सीमित छैनन् । धरान–१६ स्थित सियोन स्कुलका कक्षा–१० का विद्यार्थी यतिबेला विद्यालयमै प्रतिनिधि सभा सञ्चालनको अभ्यास गरिरहेका छन् ।

सामाजिक शिक्षा विषयमा किताबमा पढ्दै आएका राज्यका तीन अंग, संसद्, सरकार गठन, कानुन निर्माण र संसदीय प्रक्रियालाई व्यवहारमै बुझाउन विद्यालयले नमुना प्रतिनिधि सभा अभ्यास सञ्चालन गरेको हो ।  

श्रावण २१ गते बिहीबारदेखि सुरु भएको अभ्यासको अन्तिम बैठक श्रावण २९ गते शुक्रबार दिउँसो १ बजे विद्यालयको सभा हलमा बस्नेछ । अभ्यासमा विद्यार्थीले वास्तविक प्रतिनिधि सभाकै शैलीमा सभामुख, प्रधानमन्त्री, मन्त्री तथा सांसदको भूमिका निर्वाह गरे । अभ्यासको सहजीकरण प्रशिक्षक तीर्थ कार्कीले गरेका थिए ।

विद्यार्थी आफैँ सांसद, मन्त्री र सभामुख

नमुना प्रतिनिधि सभामा विद्यार्थीले ‘सामाजिक सञ्जालको सुरक्षित तथा जिम्मेवार प्रयोग विधेयक–२०८३’ लाई नमुना विधेयकका रूपमा अघि बढाएका छन्। विधेयकमा दफा १ देखि २९ सम्मका व्यवस्था समेटिएका छन्।

विद्यार्थीले विधेयकमाथि सैद्धान्तिक तथा दफावार छलफल गरिसकेका छन्। अन्तिम बैठकमा भने विधेयकलाई औपचारिक संसदीय प्रक्रियाबाट अघि बढाउँदै पारित गर्ने अभ्यास गरिने विद्यालयले जनाएको छ।

अन्तिम बैठकमा छात्रा कृष्मा सुनुवारले नमुना सभामुख र ग्रेसी ब्लोनले नमुना प्रधानमन्त्रीको भूमिका निर्वाह गर्नेछिन्। नमुना सञ्चार तथा सूचना प्रविधिमन्त्री लोजिना लिम्बुले सामाजिक सञ्जालसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्नेछिन्।

अन्य विद्यार्थीले विभिन्न राजनीतिक दल तथा सांसदको भूमिका निर्वाह गर्दै विधेयकमाथि पक्ष र विपक्षमा आफ्ना धारणा राख्नेछन्। उनीहरूले प्रश्न गर्ने, छलफलमा सहभागी हुने र संसदीय प्रक्रियाअनुसार निर्णयमा पुग्ने अभ्याससमेत गर्नेछन्।

किताबको ज्ञानलाई सदनको अभ्याससँग जोड्दै

प्रशिक्षक कार्कीका अनुसार अभ्यासमा राज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका काम, अधिकार र भूमिकाका साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संरचना, सरकार गठन प्रक्रिया तथा संसदीय अभ्यासबारे विद्यार्थीलाई जानकारी दिइएको छ।

कानुन निर्माण प्रक्रियाअन्तर्गत कानुनको मस्यौदा, विधेयक, ऐन, कानुन र संविधानजस्ता विषयमा समेत विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको उनले बताए।

“कक्षा–१० को सामाजिक शिक्षा विषयमा पढाइने 

विषयवस्तुलाई प्रत्यक्ष अभ्याससँग जोड्दा विद्यार्थीले किताबमा पढेको विषयलाई व्यवहारमै बुझ्ने अवसर पाएका छन्,” कार्कीले भने।

विद्यालयका निर्देशक तथा प्रिन्सिपल खड्गबहादुर थापा मगरका अनुसार नमुना संसद् अभ्यासले विद्यार्थीमा आत्मविश्वास, नेतृत्व क्षमता, तार्किक सोच र सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउनेछ।

उनका अनुसार संसद्, सरकार र कानुन निर्माणजस्ता विषयलाई कक्षाकोठाको पढाइमा मात्र सीमित नराखी व्यवहारिक अभ्यासमा जोड्दा विद्यार्थीले लोकतान्त्रिक प्रणाली र जिम्मेवार नागरिकको भूमिकालाई अझ प्रभावकारी रूपमा बुझ्न सक्छन्।

विद्यालयले नमुना प्रतिनिधि सभा अभ्यासलाई विद्यार्थीलाई भाषण वा अभिनय सिकाउने कार्यक्रमका रूपमा मात्र नभई लोकतान्त्रिक अभ्यास, विधिको शासन र नागरिक जिम्मेवारी बुझाउने प्रयोगात्मक शिक्षण विधिका रूपमा अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा