वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा सञ्चालनमा रहेको सुनौलो प्लाइ उद्योग प्रालिले दैनिक ८० हजारदेखि एक लाख स्क्वायरफुटसम्म भेनियर उत्पादन गर्दै आएको छ । प्लाइउड उद्योगका लागि आवश्यक कच्चा पदार्थका रूपमा प्रयोग हुने भेनियर उत्पादन गर्ने उद्देश्यले स्थापना भएको यो उद्योगले छोटो समयमै स्थानीय क्षेत्रमा नयाँ रोजगारीको अवसरसमेत सिर्जना गरेको छ ।
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा स्थापना भएको उद्योग २०८१ माघ ७ गते दर्ता भएको थियो । उद्योगले भने २०८२ वैशाखदेखि व्यावसायिक रूपमा उत्पादन सुरु गरेको हो । सुरुवातमा करिब डेढ करोड रुपैयाँ लगानीबाट सञ्चालनमा आएको उद्योगमा लगानी बढाएर तीन करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ ।
वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर उद्योग सञ्चालन गरिएको छ । उद्योगबाट दैनिक ठूलो परिमाणमा भेनियर उत्पादन भइरहे पनि यस क्षेत्रमा यस प्रकृतिको उद्योग नयाँ भएकाले सुरुवाती चरणमा दक्ष जनशक्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो ।
उद्योगको व्यवस्थापन तथा लेखा हेर्दै आएका दीपक राना मगरका अनुसार सुरुमा उद्योग सञ्चालनका लागि भारतबाट प्राविधिक जनशक्ति ल्याउनुपरेको थियो । भारतको रायगन्जबाट आएका प्राविधिक कर्मचारी तथा बंगाली मेसिन अपरेटरको सहयोगमा उत्पादन सुरु गरिएको उद्योगमा हाल अधिकांश नेपाली श्रमिकले काम गरिरहेका छन् ।
“सुरुमा भारतीय प्राविधिक र कर्मचारीको सहयोगमा मेसिन सञ्चालन गर्नुपरेको थियो,” राना मगरले भने, “अहिले विस्तारै नेपाली कामदारले सिक्दै गएका छन् । हाम्रो उद्देश्य सकेसम्म नेपाली श्रमिकलाई नै रोजगारी दिनु हो ।”

उद्योगमा अहिले दैनिक ६० देखि ६५ जनासम्म कामदारले रोजगारी पाएका छन् । तर स्थानीय स्तरमा पुरुष श्रमिक पाउन भने कठिनाइ भएको उद्योगको अनुभव छ । कुल कामदारमध्ये १० देखि १२ जनामात्र पुरुष रहेको बताइएको छ । अधिकांश काममा महिला श्रमिकको सहभागिता रहेको छ ।
उद्योगमा मुढा बोक्ने, काठको पट्टा बोक्ने, कैँची चलाउने तथा मेसिनसँग सम्बन्धित कामअनुसार श्रमिकलाई प्रतिघण्टाका आधारमा पारिश्रमिक दिने व्यवस्था गरिएको छ । कामको प्रकृति र जिम्मेवारीअनुसार हाजिरा र पारिश्रमिक निर्धारण गरिने उद्योगले जनाएको छ ।
कालाबन्जरको सुनौलो प्लाइ उद्योगमा स्थापना कालदेखि काम गर्दै आएकी वराहक्षेत्र–५ पुलाहाकी बबिता बस्नेतका लागि उद्योग रोजगारीको मात्र ठाउँ होइन, परिवारको आर्थिक आवश्यकता पूरा गर्ने आधार पनि बनेको छ ।
उनी घरको कामको समय मिलाएर उद्योग पुग्छिन् । कहिले गाडीमा सामान लोड गर्नुपर्ने हुन्छ, कहिले मेसिनमा पत्ता बोक्न र टिप्नुपर्ने हुन्छ । उत्पादनका क्रममा निकालिएका पत्ता सुकाउनेदेखि विभिन्न काममा उनको दिन बित्छ ।
“घरको काम मिलाएर उद्योग आउँछु,” बस्नेतले भनिन्, “कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गरेको छु । कामअनुसार पारिश्रमिक पाइन्छ ।”
उनका अनुसार प्रतिघण्टा ५५ रुपैयाँका दरले पारिश्रमिक पाइन्छ । उद्योगबाट हुने आम्दानीले घरपरिवारको दैनिक खर्च धान्न सहयोग पुगेको उनी बताउँछिन् ।
“मैले कमाएको पैसाले सागसब्जी किन्ने, बच्चाहरूलाई खाजा खर्च दिने काम गर्छु,” उनले भनिन्, “घरको खर्चमा थोरै भए पनि सहयोग गर्न पाउँदा खुसी लाग्छ ।”
उद्योगले भेनियर उत्पादनका लागि मुख्यतः उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ । उत्पादनका लागि आवश्यक अधिकांश काठ तेह्रथुमबाट ल्याइन्छ । त्यसबाहेक फाट्टफुट्ट रूपमा खोटाङ, भोजपुरलगायतका पहाडी जिल्लाबाट पनि काठ आउने गरेको छ ।
गोलिया काठलाई मेसिनमार्फत पातलो तहमा काटेर भेनियर तयार गरिन्छ । यसरी तयार भएको भेनियर स्वायर मिटर तथा स्क्वायरफुटका आधारमा बिक्री हुने गरेको उद्योगले जनाएको छ । १ दशमलव ५ मिलिमिटर मोटाइको भेनियर भारतमा प्रतिवर्गमिटर १६ भारतीय रुपैयाँका दरले बिक्री हुँदै आएको छ ।
वराहक्षेत्रमा उत्पादन भएको भेनियर देशभित्रका विभिन्न प्लाइउड उद्योगसम्म पुग्ने गरेको छ ।
इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरलगायतका स्थानमा यसको बजार रहेको छ । उद्योगले उत्पादनको केही हिस्सा भारतमा पनि पठाउने गरेको छ । भारतको उत्तर प्रदेश, राजस्थान र सिलिगुडीलगायतका बजारमा भेनियर निर्यात हुँदै आएको छ ।
उद्योगले वार्षिक करिब पाँच करोड रुपैयाँको कारोबार गर्दै आएको जनाएको छ । उत्पादन क्षमता र बजार विस्तारसँगै कारोबारसमेत बढ्ने अपेक्षा गरिएको छ ।
भेनियर उत्पादनका क्रममा निस्कने काठका टुक्रा र खेर जाने सामग्रीसमेत उद्योगका लागि थप आम्दानीको स्रोत बनेका छन् । सामान्यतया खेर जाने दाउरा, काठका टुक्रा तथा अन्य वेस्टेज बिक्री गरेर पनि उद्योगले आम्दानी गर्दै आएको छ ।
ठूला दाउरा ट्रकका आधारमा पाँच हजार रुपैयाँदेखि बिक्री हुने गरेका छन् । साना तथा सडेर गलेर जाने प्रकृतिका काठका डल्ला भने प्रतिकिलो तीनदेखि पाँच रुपैयाँसम्ममा बिक्री गरिन्छ । काठ घाममा सुकेको वा नसुकेको अवस्थाअनुसार मूल्य फरक पर्ने गरेको उद्योगले जनाएको छ ।

उद्योग व्यवस्थापनका अनुसार उत्पादनबाट निस्कने सामग्रीलाई सकेसम्म उपयोग गर्ने प्रयास गरिएको छ । यसले एकातिर खेर जाने काठबाट आम्दानी बढाएको छ भने अर्कोतिर उद्योग परिसरमा थुप्रिने फोहोरसमेत घटाउन सहयोग पुगेको छ ।
स्थानीय स्तरमा ठूलो संख्यामा महिला श्रमिकलाई रोजगारी दिँदै आएको सुनौलो प्लाइ उद्योगले उत्पादनसँगै रोजगारीको अवसर पनि विस्तार गरिरहेको छ । भारतबाट प्राविधिक जनशक्तिको सहयोग लिएर सुरु भएको उद्योग अहिले नेपाली श्रमिकलाई सीप सिकाउँदै उत्पादनको जिम्मेवारी उनीहरूकै हातमा विस्तारै सुम्पने क्रममा छ ।
दैनिक एक लाख स्क्वायरफुटसम्म भेनियर उत्पादन गर्ने क्षमतासहित सञ्चालनमा रहेको यो उद्योग वराहक्षेत्र क्षेत्रमा बढ्दै गएको औद्योगिक गतिविधिको एउटा उदाहरण बनेको छ । काठमा आधारित उद्योगले स्थानीय श्रमशक्तिलाई रोजगारी र पहाडी जिल्लाका काठ उत्पादकलाई बजारसँग जोड्दै उत्पादनको दायरा विस्तार गर्ने प्रयास गरिरहेको छ ।