वराहक्षेत्र । एकातिर नेपाल प्रहरीमा बिताएको १७ वर्षको जागिरे जीवन, अर्कोतिर लकडाउनले सिर्जना गरेको अनिश्चितता; यही मोडमा अर्जुन विष्टले आफ्नो जीवनको बाटो परिवर्तन गर्ने निर्णय गरे । प्रहरीको जागिर छोड्दा हातमा परेको १४ लाख रुपैयाँ उनले व्यापार वा विदेश जाने योजनामा होइन, कृषिकर्ममा लगानी गर्ने निधो गरे ।
२०७७ सालदेखि सुरु भएको उनको कृषि यात्रा अहिले केरा, भुइँकटहर, खरबुजा, मेवा र सयपत्री फूलसम्म फैलिएको छ । पाँच बिघा जग्गा लिजमा लिएर उनले फलफूल तथा नगदेबाली खेती गर्दै आएका छन् । नेपाल प्रहरीको जागिरबाट अवकाशपछि कृषिमा सक्रिय विष्ट अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वराहक्षेत्र–६ सभापति पनि हुन् ।

लकडाउनको समयमा मेवा र केरा खेतीबाट सुरु भएको उनको कृषि यात्रा सुरुआती दिनमा सहज भने थिएन । खेत तयार पार्नेदेखि पानीको व्यवस्था गर्नसम्म ठूलो मिहिनेत गर्नुपरेको उनी सम्झन्छन् ।
जग्गा सम्याउन मात्रै उनले ६५ हजार रुपैयाँ खर्च गरे । बोरिङ, पानी र बिजुलीको व्यवस्थापनमा थप दुई लाख रुपैयाँ खर्च भयो । जमिनको उर्वराशक्ति बढाउन ६० ट्रयाक्टर गोबर मल खेतमा हाले ।
“जागिर छोड्दा पाएको १४ लाख रुपैयाँ नै कृषिमा लगानी गरेको हुँ,” विष्ट भन्छन्, “सुरुमा खेती गर्नेभन्दा पनि बन्जर जग्गा तयार पार्ने र पूर्वाधार बनाउने काममै धेरै खर्च भयो ।”
अहिले उनको खेतमा जी-नाइन अर्थात् जहाजी र चिनीचम्पा जातका केरा लहलहाइरहेका छन् । करिब डेढ बिघा क्षेत्रमा फैलिएको केरा खेतीबाट उनले वर्षमा आठदेखि १० लाख रुपैयाँसम्मको बिक्री गर्ने गरेका छन् । यस वर्ष हालसम्म पाँच लाख रुपैयाँ बराबरको केरा बिक्री भइसकेको र खेतमा अझै तीनदेखि चार लाख रुपैयाँ बराबरको उत्पादन रहेको उनी बताउँछन् ।
केरा रोपेको एक वर्षपछि उत्पादन लिन सकिन्छ र एउटै बोटबाट करिब तीन वर्षसम्म उत्पादन लिन सकिने उनको अनुभव छ । तर, केरा खेतीमा निरन्तर श्रम आवश्यक पर्ने उनी बताउँछन् ।
“केरामा रोगकीराको समस्या हुन्छ । गोडमेल गर्नुपर्छ, अनावश्यक बच्चा हटाउनुपर्छ,” उनी भन्छन्, “खेतीमा आफैं समय दिन सकिएन भने उत्पादन राम्रो हुँदैन ।”
खेतीबाटै व्यापारीलाई प्रतिदर्जन ५० रुपैयाँमा केरा बिक्री हुने गरेको छ । तर चैतदेखि असारसम्म केराको बजार भाउ राम्रो हुने विष्टको अनुभव छ । यही समयमा बजारमा केराको अभाव हुने भएकाले प्रतिदर्जन ८० रुपैयाँसम्म मूल्य पुग्ने गरेको उनी बताउँछन् । एउटा घरीको मूल्य एक हजार आठ सय रुपैयाँसम्म पुगेको अनुभव पनि उनीसँग छ ।
विष्टको खेतमा भुइँकटहर पनि अर्को प्रमुख बाली हो । पहिलो वर्ष २४ हजार बिरुवा लगाएर सुरु गरिएको भुइँकटहर खेती अहिले वार्षिक औसत १५ देखि १६ हजार बिरुवा लगाएका छन् । गत वर्ष मात्रै उनले करिब १५ लाख रुपैयाँ बराबरको भुइँकटहर बिक्री गरेका थिए ।
उनका अनुसार नेपाली बजारमा भुइँकटहरको मूल्य निर्धारणमा भारतको उत्पादनले पनि प्रभाव पार्छ । भारतबाट उत्पादन धेरै भित्रिँदा स्थानीय उत्पादनको मूल्य घट्ने गरेको छ । तर यस वर्ष नेपाली भुइँकटहरले राम्रो बजार मूल्य पाएको उनी बताउँछन् ।
“यो वर्ष एउटा भुइँकटहर १५० देखि २०० रुपैयाँसम्म बिक्री भयो,” विष्ट भन्छन्, “नेपालमै व्यावसायिक रूपमा ठूलो क्षेत्रमा उत्पादन गर्न सकियो भने धरान, इटहरी र विराटनगरजस्ता सहरको बजार धान्न सकिन्छ ।”
उनको अनुमानमा एक सय बिघा क्षेत्रमा योजनाबद्ध रूपमा भुइँकटहर खेती गर्न सके पूर्वी नेपालका प्रमुख सहरमा स्थानीय उत्पादन पुर्याउन सकिन्छ । असारदेखि भदौसम्म भुइँकटहरको मुख्य सिजन हुने गरेको छ ।

उनले १२ कट्ठा क्षेत्रमा खरबुजा खेती पनि गरेका छन् । चैत, वैशाख र जेठ खरबुजाको मुख्य उत्पादन सिजन हो । भारतबाट ल्याइने बीउ प्रयोग गरी उत्पादन गरिएको खरबुजा प्रतिकिलो ५० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
फलफूलका साथै विष्टले सयपत्री फूल खेती पनि गरिरहेका छन् । गत वर्ष मात्रै सयपत्री फूलबाट करिब डेढ लाख रुपैयाँको बिक्री भएको थियो । उनको भनाइमा, राम्रो योजना र बजार व्यवस्थापन गर्न सकिए सानो क्षेत्रबाट पनि आकर्षक आम्दानी लिन सकिन्छ ।
“एक कट्ठा जग्गामा सयपत्री फूल खेती गर्दा तीन महिनामै एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ,” उनी भन्छन्, “तर उत्पादन गरेर मात्रै हुँदैन, बिक्री गर्ने जिम्मेवारी पनि किसान आफैंले लिनुपर्छ ।”
उनका उत्पादन धरान कृषि बजार, इटहरी, दमक र विराटनगरसम्म पुग्ने गरेका छन् । करिब दुई वर्षअघि चक्रघट्टी बजारमा ‘विष्ट फलफूल पसल’ सञ्चालन गरेपछि भने उत्पादन आफैं बिक्री गर्न थप सहज भएको उनको अनुभव छ । पसल सञ्चालनमा परिवारका सदस्यले पनि सहयोग गर्दै आएका छन् । आफ्नै उत्पादन आफैं बिक्री गर्न थालेपछि बिचौलियामा निर्भरता घटेको र बजारको माग बुझ्न पनि सहज भएको विष्ट बताउँछन् ।
पाँच बिघा जग्गामा फैलिएको उनको खेतीबाट वार्षिक २८ लाख रुपैयाँसम्मको कारोबार हुने गरेको छ । खेतीमा ज्यालादारी मजदुरलाई मात्रै वर्षमा पाँच लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । गोडमेल, केरा काट्ने, फलफूल बोक्ने, भुइँकटहर ढुवानी गर्ने, जमिन जोत्ने र रोपाइँका काममा मजदुर आवश्यक पर्छन् । सबै खर्च जोड्दा मजदुरलाई मात्र वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म खर्च हुने उनको हिसाब छ ।
कृषि व्यवसायमा सफलता मात्रै छैन, प्राकृतिक विपत्तिको जोखिम पनि उत्तिकै छ । गत वर्षको बर्खा र बाढीले उनको खेतीमा करिब १० लाख रुपैयाँ बराबरको क्षति पुर्याएको थियो । १२ कट्ठामा लगाइएको खरबुजा नष्ट भयो भने करिब साढे तीन लाख रुपैयाँ बराबरको फूल खेतीमा क्षति पुगेको थियो । केरा खेती पनि डेढ महिनासम्म डुबानमा परेको उनी बताउँछन् । बाढीपछि खेतको अवस्था हेर्दा वर्षभरको मिहिनेत पानीसँगै बगेजस्तो लागेको उनी सम्झन्छन् ।
विष्टका अनुसार स्थानीय तहबाट फलफूल खेतीका लागि प्रभावकारी अनुदानको व्यवस्था छैन । कृषि क्षेत्रलाई सहयोग गर्ने स्पष्ट कार्यविधिको अभाव रहेको र कृषि ज्ञान केन्द्रसँग पनि आफूहरूको नियमित सम्पर्क नरहेको उनी गुनासो गर्छन् । तर, उनी कृषकलाई अनुदानकै प्रतीक्षामा बस्नुभन्दा बजार र प्रविधि बुझ्न सुझाव दिन्छन् ।
“कृषिमा अनुदान चाहिँदैन, प्रविधि र बजार चिन्नुपर्छ । उत्पादनले बजार भाउ पाउँछ,” उनी भन्छन्, “अहिले सरकारको कृषि नीति पनि ठूलो लगानी गर्न सक्ने मानिसलाई केन्द्रमा राखेजस्तो देखिन्छ । किसानले दुई करोड रुपैयाँ लगानी गर्न सक्दैन । कृषि सानो लगानीबाटै सुरु गर्न सक्नुपर्छ ।”

कृषिमा प्रवेश गर्न चाहने युवालाई पनि विष्टको सुझाव सरल छ । ठूलो ऋण लिएर तत्काल ठूलो व्यवसायमा हाम फाल्नुभन्दा उपलब्ध जग्गा र पुँजीअनुसार सानो क्षेत्रबाट सुरु गर्नुपर्ने उनको भनाइ छ ।
“ऋण खोजेर कृषि नगर्नू,” उनी भन्छन्, “पाँच कट्ठासम्म जग्गाबाट पनि सामान्य आम्दानी सुरु गर्न सकिन्छ । विस्तारै अनुभव, बजार र पुँजी बढाउँदै जानुपर्छ ।”
उनका अनुसार आधुनिक कृषिका लागि उन्नत जातको बीउ, ड्रिप इरिगेसन प्रणाली र प्लास्टिक मल्चिङजस्ता प्रविधिको प्रयोग आवश्यक छ । तर प्रविधि प्रयोग गरे पनि किसानले आफ्नै खेतमा पसिना बगाउनुपर्ने उनको विश्वास छ ।
“खेतीमा आफैं मिहिनेत र पसिना बगाउनुपर्छ,” विष्ट भन्छन्, “अर्काको भरमा मात्रै कृषि गरेर सफल हुन सकिँदैन ।”