नेभिगेशन
आर्थिक

सरकार अनुदार बन्दा बङ्गुरपालक किसान मर्कामा, भन्छन् : पुरस्कार होइन, आर्थिक प्रोत्सान दिनुहोस्

धरान । सुनसरीको वराहक्षेत्र नगरपालिका पशुपालनको उर्वर क्षेत्रका रुपमा परिचय बनाएको भए पनि स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले समेत पशुपालनमा प्रोत्साहन नगर्दा कृषक हतोत्साहित हुँदै आएका छन् । 

वराहक्षेत्र नगरपालिकामा मात्रै ६३ वटा बङ्गुरपालन फार्म स्थापना भएका थिए । तर हाल रोग, प्रकोप र सरकारको अनुदारताले उद्यमीका फार्म खाली छन् । देशमै केही गरौं भन्ने उद्देश्यले वैदेशिक रोजगारीबाट आयआर्जन गरेको रकम युवाले बङ्गुरपालनमा लगाए । तर उनीहरूलाई सरकारले सघाएन ।

उद्यमशील युवालाई लगानी प्रोत्साहनस्वरूप राज्यले सहुलियतपूर्ण ऋण, अनुदान तथा अन्य प्रोत्साहनका कार्यक्रम प्रभावकारी रूपमा उपलब्ध नगराएका कारण वराहक्षेत्रका बङ्गुरपालक किसान चुर्लुम्मै डुबेको वराहक्षेत्र-५ का किसान नवीन राई बताउँछन् । 

'स्थानीय सरकारको त चासै छैन, हामीले करोडौं लगानी गरेर पशुपालन सुरु गरेका छौं, तर सरकारको सहयोग छैन,' बङ्गुरपालक युवा राईले भने,'लगानी र फार्म हेरेर सरकारले उत्कृष्ट किसान भन्दै सम्मान गर्छ, हामीलाई सम्मान होइन, आर्थिक प्रोत्साहन चाहिएको छ ।' 

कृषि क्षेत्रमा थप युवा आकर्षित हुने र स्वरोजगार सिर्जना गर्ने वातावरण स्थानीय सरकारसहित तिनै तहका सरकारले वातावरण तयार गर्नुपर्ने युवा उद्यमी राई बताउँछन् । कृषि र पशुपालनको क्षेत्रमा लगानी गर्न चाहाने युवाले बजारको अवस्था, प्रविधि र व्यवसायको सम्भावनाबारे पर्याप्त अध्ययन गरेर मात्र लगानी गर्नुपर्ने उनको सुझाव छ । 

'एकैपटक ठूलो लगानी गर्नु उपयुक्त हुँदैन । सानो लगानीबाट व्यवसाय सुरु गरेर अनुभवसँगै लगानी विस्तार गर्दा जोखिम कम हुनसक्छ ।' उद्यमी राई भन्छन् । 

1000220102-1783576588.jpg
पाँच वर्ष कोरियामा लगानी, पाँच वर्षयता गाउँमै उद्यमी 

वैदेशिक रोजगारीबाट फर्किएका सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका नवीन राई  व्यावसायिक बङ्गुर पालन गर्दै आएका छन् ।

पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर स्वदेश फर्किएका राईले २०७७ मा ‘किरात एग्रिकल्चर फार्म’ दर्ता गरी व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गरेका हुन् । कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना देखेर उनले करिब चार करोड ५० लाख रुपैयाँको लगानीमा अढाई बिघा क्षेत्रफलमा फार्म स्थापना गरेको बताए ।
 
फार्ममा हाल होम्सार, ल्यान्ड्रेस, पाख्रीबासेलगायत चारदेखि पाँच प्रजातिका ४०० भन्दाबढी बङ्गुर छन् । सुरुमा स्थानीय किसानबाट ३३ वटा बङ्गुर खरिद गरेर व्यवसाय सुरु गरेका राईले सुरुआती चरणमा प्राविधिक ज्ञानको अभाव र बजार व्यवस्थापनमा समस्या भए पनि अहिले व्यवसाय विस्तार हुँदै गएको राईले बताए ।

“सुरुमा पशुपालनसम्बन्धी खासै ज्ञान थिएन । उत्पादन भए पनि बजार र उचित मूल्य पाउन कठिन थियो । बिस्तारै सिक्दै जाँदा व्यवसायमा टिकाउपन आयो । परिवारको साथ र सहयोगले पनि धेरै सहज भयो,” उनले भने । 

उत्पादित मासुको बजारीकरणमा समस्या भएपछि उद्यमी राई आफैँ बजार व्यवस्थापनमा लागेका छन् । अहिले धरान, कालाबन्जर, वराहक्षेत्र, नडाहा र चक्रघटीलगायत क्षेत्रमा आफैँले ६ वटा मासु पसल सञ्चालन गरेका छन् । कालाबन्जरमा आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याएपछि उत्पादित मासुको बिक्री सहज भएको उनी बताउँछन् ।

फार्मबाट उत्पादन हुने बङ्गुरका पाठापाठी प्रतिगोटा  आठ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म तथा मासुका लागि तयार पारिएका बङ्गुर प्रतिगोटा ३० हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ । 

पाठापाठी स्थानीय बजारका साथै मुख्य रूपमा काठमाडौँ पठाइने गरिएको छ । पछिल्लो समय फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानबाट अनलाइन अर्डर आउने गरेको उद्यमी राईको भनाइ छ ।

फार्मबाट उत्पादित लोकल कुखुरा प्रतिकेजी ६०० रुपैयाँमा बिक्री हुने गरेको छ । वैशाख र मङ्सिर महिनामा पितृपूजाका लागि पहाडी जिल्लाबाट ग्राहक आउने गरेका छन । यहाँ उत्पादन भएका कुखुरा स्थानीय बजारका साथै धरान, इटहरी र चतरासम्म बिक्री हुने गरेको छ ।

राईको उद्यमले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । फार्ममा हाल तीन जना तथा मासु पसल र रेस्टुरेन्टमा गरी २१ देखि २२ जनाले रोजगारी पाएका छन् । 

"फार्म सञ्चालन गरेपछि आफू र परिवार मात्र होइन, अरूलाई पनि रोजगारी दिन सकेको छु । देशमै बसेर आम्दानी गर्न र अरूलाई रोजगारी दिन सक्नु ठूलो सन्तुष्टिको विषय हो । नेपालमा सम्भावना छैन भन्ने होइन, मेहनत गर्न सक्नेका लागि कृषिमा प्रशस्त अवसर छन ।" उहाँले भन्नुभयो ।

विदेश पलायन हुनुभन्दा आफ्नै गाउँठाउँमा श्रम गरे देश समृद्ध हुनुका साथै परिवार पनि आत्मनिर्भर बन्न सक्ने उनको विश्वास छ । वार्षिक चार करोड रुपैयाँभन्दा बढीको कारोबार हुने गरे पनि बैङ्क ऋणको किस्ता, कर्मचारीको पारिश्रमिक तथा बङ्गुर र कुखुराको दानालगायत सञ्चालन खर्चका कारण वार्षिक खुद नाफाको यकिन हिसाब गर्न कठिन हुने उनको भनाइ छ ।

"व्यवसायबाट घाटा छैन, जीविकोपार्जन, बालबालिकाको शिक्षाको खर्च र परिवारका सदस्यलाई रोजगारी दिन सफल भएको छु ।" उद्यमी राई भन्छन्, "व्यवसायबाट सन्तुष्ट छु ।" 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक