नेभिगेशन
शिक्षा

कोशी प्रदेशको उत्कृष्ट शैक्षिक गन्तव्य धरान मोडल कलेज

धरान । धरानलाई कोशी प्रदेशको शैक्षिक सहरका रूपमा चिनिन्छ । यहाँ थुप्रै कलेज छन् । तर, धरान–१ मा नेपाल टेलिकमको दक्षिणतर्फ रहेको धरान मोडल कलेजले आफ्नो छुट्टै पहिचान बनाएको छ । वि.सं. २०६६ सालमा स्थापना भएको यो कलेज पछिल्ला वर्षमा राम्रो नतिजा, व्यवहारिक सिकाइ र विद्यार्थीमैत्री वातावरणका कारण धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्न थालेको छ ।

कलेजको मूलद्वारबाट भित्र छिर्दा नै यहाँको वातावरण फरक महसुस हुन्छ । अनुशासन, सक्रियता र आत्मीयताले भरिएको माहोलले विद्यार्थीलाई पढाइतर्फ आकर्षित गर्छ । यहाँ पढाइ कक्षाकोठामा सीमित छैन । कलेजले विद्यार्थीलाई पाठ्यपुस्तकको घेराभन्दा बाहिर निकालेर जीवन, समाज र कामको वास्तविकतासँग जोड्ने अभ्यास गराउँदै आएको छ ।

कलेज प्रमुख प्रबिन राई भन्छन्, “हाम्रो उद्देश्य विद्यार्थीलाई डिग्री दिलाउनु मात्र होइन, उनीहरूलाई जिम्मेवार, आत्मविश्वासी र सक्षम नागरिकका रूपमा तयार गर्नु हो ।” उनको भनाइले कलेजको सोच स्पष्ट गर्छ । धरान मोडल कलेजले पढाइलाई नतिजासँग मात्र होइन, जीवन उपयोगी सीप, सामाजिक उत्तरदायित्व र भविष्यको तयारीसँग पनि जोडेको छ ।

1000220010-1783522046.png
यस कलेजको शैक्षिक उपलब्धि पनि उल्लेखनीय छ । कलेज प्रमुख राईका अनुसार कलेजका विद्यार्थीले पूर्वाञ्चल टपरदेखि जिल्ला प्रथमसम्मको सफलता हासिल गरेका छन् । विशेष गरी बीबीएसतर्फ २०७४ सालमा सुनिता गुप्ताले ७५ प्रतिशत अङ्क ल्याएर पूर्वाञ्चल टपर बन्ने गौरव प्राप्त गरेकी थिइन् । त्यसैगरी, २०८० सालमा सन्ध्या लिम्बूले ८० प्रतिशत अङ्कसहित सुनसरी जिल्लामै प्रथम स्थान हासिल गरिन् । नुरज तिमिल्सिना र सुबास कार्की ढोलीले धरान टपर बनेर कलेजको प्रतिष्ठा थप उँचो बनाएका छन् ।

बीएसडब्ल्यूतर्फ पनि कलेजका विद्यार्थीहरूले निरन्तर राम्रो नतिजा ल्याउँदै आएका छन् । धेरै विद्यार्थीले ७५ प्रतिशतभन्दा बढी अङ्क ल्याएर विशिष्ट श्रेणीमा उत्तीर्ण हुने गरेका छन् । अझ महत्त्वपूर्ण कुरा, सामाजिक कार्य विषय अध्ययनकै क्रममा कतिपय विद्यार्थी विभिन्न सामाजिक संस्थाहरूमा काम गर्न थालेका छन् । यसले यहाँको पढाइ कागजमा सीमित नभई व्यवहार र पेशासँग जोडिएको छ भन्ने देखाउँछ ।

धरान मोडल कलेजको अर्को विशेषता हो, ‘पुस्तकभन्दा परको सिकाइ’ । विशेषगरी बीएसडब्ल्यूका विद्यार्थीहरूका लागि हप्ताको दुई दिन फिल्ड भिजिट अनिवार्य छ । घलेगाउँको संस्कृति, सोलुखुम्बुको पात्ले क्षेत्रको ग्रामीण जीवन र समुदायको वास्तविक अवस्थालाई नजिकबाट बुझ्ने अवसर विद्यार्थीले पाउँदै आएका छन् । यसले कक्षामा पढेका विषयलाई व्यवहारसँग जोड्न मद्दत पुर्‍याएको छ ।

त्यसैगरी, बैंकिङ इन्टर्नशिप, उद्योग अवलोकन भ्रमण र अन्य व्यवहारिक अभ्यासले विद्यार्थीलाई पढाइपछि कामको संसारमा प्रवेश गर्न सहज बनाएको छ । डिग्री लिएर मात्रै बाहिरिने होइन, काम गर्न सक्ने सीपसहित अगाडि बढ्ने वातावरण कलेजले बनाएको कलेज प्रमुख राई बताउँछन् ।

धरान मोडल कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासलाई पनि उत्तिकै महत्त्व दिएको छ । खेलकुद सप्ताह, मन्दिर सरसफाइ, रक्तदान, आश्रममा सेवा जस्ता कार्यक्रमले विद्यार्थीलाई समाजसँग जोड्छन् । यस्ता गतिविधिले उनीहरूमा सहकार्य, नेतृत्व, अनुशासन र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न मद्दत गर्छ ।

Dharan-Model-college-DMc-1783576135.jpg
भौतिक पूर्वाधारका हिसाबले पनि कलेजले आफूलाई समयअनुसार अघि बढाएको छ । यहाँ अत्याधुनिक कम्प्युटर ल्याब, ई–लाइब्रेरी, प्रोजेक्टरसहितका कक्षाकोठा र विद्यार्थीमैत्री वातावरण छ । यसले पढाइलाई थप सहज, रोचक र प्रभावकारी बनाएको छ ।

कलेजको पुस्तकालयमा देखिने एकाग्रता, प्रांगणमा सुनिने विद्यार्थीहरूको हाँसो र कक्षाकोठामा हुने शिक्षक–विद्यार्थीबीचको खुला संवादले यहाँको शैक्षिक संस्कृतिलाई जीवन्त बनाएको कलेज प्रशासनको भनाइ छ । यहाँ शिक्षा पाठ्यक्रम पूरा गर्ने प्रक्रियामा सीमित छैन । यसले विद्यार्थीलाई जीवन बुझ्न, समाजसँग घुलमिल हुन र भविष्यका लागि तयार हुन सिकाउँछ ।

कलेजका प्राध्यापकहरू भन्छन्, “हामी विद्यार्थीलाई पढाउँछौँ मात्र होइन, उनीहरूको सपना पूरा गर्न सक्ने वातावरण पनि बनाउँछौँ ।” यही सोच, अभ्यास र प्रतिबद्धताका कारण धरान मोडल कलेज आज धरान मात्र होइन, कोशी प्रदेशकै एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको प्राध्यापकहरूको भनाइ छ । राम्रो नतिजा, व्यवहारिक सीप, सामाजिक चेतना र व्यक्तित्व विकासलाई सँगै अघि बढाएको यो कलेज धेरै विद्यार्थीका लागि उज्यालो भविष्यतर्फ डोर्‍याउने पाठशाला बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा