नेभिगेशन
Dashain Banner
Dashain Banner
शिक्षा

हिबिस्कस बोर्डिङ स्कुलका विद्यार्थीलाई खेतमै व्यवहारिक ज्ञान

धरान । हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल, धरान–१५ ले विद्यार्थीलाई कृषि तथा खाद्य उत्पादन प्रक्रियाबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले शनिबार धरान–५ स्थित देवीगाउँ सिरानको खेतमा धान रोपाइँ कार्यक्रममा सहभागी गराएको छ।

कार्यक्रममा विद्यार्थीहरूले धान रोप्ने, बिउ ओसार्ने तथा आली बनाउने कार्यमा प्रत्यक्ष सहभागिता जनाएका थिए। यसक्रममा उनीहरूले धान रोपाइँदेखि चामल उत्पादनसम्मको सम्पूर्ण प्रक्रियाबारे व्यवहारिक रूपमा सिक्ने अवसर पाए ।

विद्यालयका प्रबन्ध निर्देशक गङ्गाराम राईले कक्षाकोठामा प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्दै कृषि पेसाप्रति सम्मान र रुचि अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

रोपाइँमा सहभागी छात्रा आस्था उदासले पहिलो पटक धान रोप्ने अनुभव निकै रमाइलो र सिकाइपूर्ण रहेको बताइन्। अर्का विद्यार्थी सिद्धार्थ श्रेष्ठले समूहमा मिलेर काम गर्दा सहकार्यको महत्त्व बुझ्नुका साथै काम छिटो र प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने अनुभव भएको प्रतिक्रिया दिए।

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । विद्यालयले यस्ता व्यवहारिक कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, कृषि सम्बन्धी ज्ञान तथा सामूहिक रूपमा काम गर्ने संस्कार विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा