धरान । धरानमा दुई दिनसम्म चलेको ‘विजयपुर सम्मेलन–२०८३’ ले विजयपुरको इतिहास, याक्थुङ–लिम्बू समुदायको ऐतिहासिक पहिचान, भूमि अधिकार र सांस्कृतिक सम्पदाको संरक्षणसँग सम्बन्धित विभिन्न निष्कर्षसहित ‘विजयपुर घोषणापत्र–२०८३’ जारी गरेको छ ।
विजयपुरको ऐतिहासिकता, लिम्बुवानको राजनीतिक तथा सांस्कृतिक इतिहास र उपलब्ध ऐतिहासिक स्रोतको अध्ययनका आधारमा सम्मेलनले १० बुँदे निष्कर्ष सार्वजनिक गरेको हो । सम्मेलनले विजयपुरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा संरक्षण, अनुसन्धान र अभिलेखीकरण गर्नुपर्नेमा जोड दिएको छ ।
घोषणापत्रमा विजयपुरका संस्थापक राजा विजयनारायण राय रहेको निष्कर्ष निकालिएको छ । विजयपुर निर्माणका सम्बन्धमा विभिन्न ऐतिहासिक लेखनमा फरक–फरक मत रहे पनि उपलब्ध ऐतिहासिक परम्परा, स्रोत तथा वंशावलीका आधारमा विजयनारायण रायलाई विजयपुरका संस्थापकका रूपमा सम्मेलनले स्वीकार गरेको हो ।
त्यस्तै, विजयनारायण रायको वंशीय तथा याक्थुङ पहिचानका विषयमा पनि सम्मेलनले निष्कर्ष प्रस्तुत गरेको छ । विभिन्न इतिहासकार तथा लेखकका फरक मतका बीच उपलब्ध वंशावली, ऐतिहासिक विवरण र प्रमाणको तुलनात्मक मूल्याङ्कनबाट विजयनारायण रायलाई सिद्धिचरण, साइहाङ र फुलहाङ याक्थुङ/लिम्बूसँग सम्बन्धित भएको सम्मेलनको निष्कर्ष छ ।
याक्थुङ इतिहाससँग जोडियो विजयपुर
घोषणापत्रले महारानी याक्थुङमाको तथ्य परीक्षणका आधारमा विजयनारायण रायको विवाह चिन्देलुङ चौहाङका सन्तती याकुङ हाङसर हाङ (हाङ/हक्से यक) गादीका राजा मुहाङकेप/युङहाङ र रानी हाङसामकी छोरी याक्थाङमासँग भएको तथ्यलाई स्वीकार गरेको छ ।
घोषणापत्रअनुसार याक्थाङमाले विजयपुर पिण्डेश्वरी मन्दिर परिसर, देवीथानको पाटीघाट र ताम्रबुङको चैत्यपुर क्षेत्रमा गोठ निर्माण गराई सामाजिक कार्य गरेको उल्लेख छ । युद्ध प्रभावित महिलाको उद्धार तथा नामसालाको संरक्षण गरेको तथ्यलाई पनि घोषणापत्रले समेटेको छ ।
यसैगरी मुरेहाङ र सिङ्गा रायको पहिचान तथा परम्पराका विषयमा पनि सम्मेलनले उपलब्ध वंशावली, ऐतिहासिक विवरण र प्रमाणको तुलनात्मक मूल्याङ्कन गरेको जनाएको छ । ऐतिहासिक लेखनमा मुरेहाङ र सिङ्गा रायका नाम फरक–फरक रूपमा उल्लेख भए पनि सम्मेलनले उपलब्ध प्रमाणका आधारमा निष्कर्ष प्रस्तुत गरेको छ ।
‘मोरङ’ नामको उत्पत्तिबारे पनि निष्कर्ष
विजयपुर सम्मेलनले ‘मोरङ’ नामको उत्पत्तिसम्बन्धी विभिन्न ऐतिहासिक लेखन, विश्वविद्यालयीय शोधकार्य, स्थानीय ऐतिहासिक परम्परा तथा भाषिक–ऐतिहासिक प्रमाणको तुलनात्मक अध्ययन गरेको जनाएको छ ।
घोषणापत्रमा मुग्वाराङ्दा, मोराहाङ, मावाराङ, मुरेहाङलगायत शब्दसँग मोरङ नामको सम्बन्धबारे अध्ययन गरिएको उल्लेख छ । सम्मेलनले मध्य क्षेत्रसँग सम्बन्धित राजा मुरेहाङ, चौबिसे क्षेत्रका मोरङ राजा र महाराजाको नामबाट मोरङको उत्पत्ति भएको हुनसक्ने निष्कर्ष स्वीकार गरेको छ ।
लिम्बुवानको तहसिल राजधानी विजयपुर
घोषणापत्रमा विजयपुरलाई लिम्बुवानको तहसिल राजधानीका रूपमा समेत व्याख्या गरिएको छ ।
ऐतिहासिक स्रोतमा विजयपुरलाई कहिले छुट्टै राज्य, कहिले मोरङ राज्यको केन्द्र, कहिले विजयपुर देश तथा लिम्बुवानको सङ्घीय राजधानी वा केन्द्रका रूपमा उल्लेख गरिएको सम्मेलनले जनाएको छ । लिम्बुवानको राजनीतिक संरचना, दीर्घकालीन प्रशासनिक तथा सांस्कृतिक विकासक्रमका आधारमा विजयपुरलाई लिम्बुवानको राजधानीका रूपमा विकास भएको सम्मेलनको निष्कर्ष छ ।
घोषणापत्रमा वि.सं. १९०१ को गोर्खा–लिम्बुवानबीच भएको तस्ली मुलुकी (सन्धि) लालमोहरमा लिम्बुहरूले परापूर्वकालदेखि उपभोग गर्दै आएको अधिकारसम्बन्धी उल्लेख रहेको विषयलाई पनि ऐतिहासिक निरन्तरतासँग जोडिएको छ ।
विजयपुरको अन्तिम राजा बुद्धिकर्ण राय
विजयपुरको अन्तिम राजाका सम्बन्धमा पनि सम्मेलनले निष्कर्ष निकालेको छ । घोषणापत्रअनुसार इतिहासकार तथा लेखकहरूले रघुनाथ सेन र कर्ण सेनको नाम उल्लेख गरे पनि विजयपुरबाट उनीहरूले शासन गरेको पुष्टि गर्ने राजकीय अभिलेख हालसम्म फेला परेको छैन ।
कर्ण सेनलाई विजयपुरका राजा मान्ने आधारका रूपमा प्रस्तुत गरिएका इस्ट इन्डिया कम्पनीका केही अभिलेख र पत्राचारको तुलनात्मक अध्ययनबाट सम्मेलनले वि.सं. १८२९ देखि १८३१ सम्म विजयपुरका अन्तिम राजा बुद्धिकर्ण राय (याक्थुङ) रहेको निष्कर्ष प्रस्तुत गरेको छ ।
विजयपुरको ऐतिहासिक भूगोल र सीमाबारे निष्कर्ष
घोषणापत्रले विजयपुर–लिम्बुवानको ऐतिहासिक भूगोलबारे पनि चर्चा गरेको छ । उपलब्ध ऐतिहासिक स्रोत र परम्पराका आधारमा विजयपुर क्षेत्रको भौगोलिक सीमालाई वर्तमान सप्तकोसी आसपासको भूगोलसँग जोडेर व्याख्या गरिएको छ ।
घोषणापत्रमा विजयपुर तथा लिम्बुवानको ऐतिहासिक भूगोल अध्ययनका क्रममा पूर्वमा मेची नदी, उत्तरमा चीनतर्फको स्थापित क्षेत्र, दक्षिणमा नेपाल–भारत सीमासँग सम्बन्धित भूगोल तथा पश्चिममा अरुण–सप्तकोशी क्षेत्रसम्मको ऐतिहासिक सन्दर्भ उल्लेख गरिएको छ ।
सम्मेलनले यस आधारमा अरुण–सप्तकोशीदेखि पूर्व मेची नदीसम्मको भूभाग, उत्तरमा चीनतर्फको स्थापित क्षेत्र तथा दक्षिणमा नेपाल–भारत सीमासम्म विकसित ऐतिहासिक भूगोललाई विजयपुर–लिम्बुवानको सन्दर्भमा अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
याक्थुङ–लिम्बूको ऐतिहासिक भूमि अधिकार अभिलेखीकरण गर्न माग
घोषणापत्रले याक्थुङ–लिम्बू आदिवासी समुदायको ऐतिहासिक भूमि अधिकार र अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी मान्यतालाई समेत सन्दर्भमा राखेर अध्ययन गर्नुपर्ने उल्लेख गरेको छ ।
सम्मेलनले विजयपुरको भूमि, सांस्कृतिक स्थल तथा ऐतिहासिक सम्पदासम्बन्धी याक्थुङ समुदायको ऐतिहासिक, परम्परागत तथा सांस्कृतिक अधिकार र दाबीलाई स्थानीय तहमा अभिलेखीकरण गर्नुपर्ने माग गरेको छ ।
विजयपुर संरक्षण र अतिक्रमण नियन्त्रणमा जोड
सम्मेलनले विजयपुरलाई एउटा ऐतिहासिक दरबार परिसर वा पुरातात्त्विक स्थलका रूपमा मात्रै नहेरी याक्थुङ–लिम्बू इतिहास, लिम्बुवानको राजनीतिक इतिहास तथा बहुसांस्कृतिक ऐतिहासिक सम्पदासँग सम्बन्धित महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गरेको छ ।
घोषणापत्रमा विजयपुरमा भएका तथा हुनसक्ने ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भूमिसम्बन्धी अतिक्रमणको अभिलेखीकरण तथा अनुसन्धान गर्न माग गरिएको छ । ऐतिहासिक प्रमाणबाट अतिक्रमण पुष्टि भएको अवस्थामा सम्बन्धित क्षेत्रलाई पूर्ववत् अवस्थामा पुनर्स्थापना तथा कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्नुपर्ने सम्मेलनको माग छ ।
त्यस्तै विजयपुरका पुरातात्त्विक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षणका लागि स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्नुपर्ने उल्लेख छ ।
प्राथमिकताका साथ अनुसन्धान र अभिलेखीकरण
घोषणापत्रले सम्मेलनपछि पनि विजयपुर तथा लिम्बुवानको इतिहाससम्बन्धी कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
यसका लागि उपलब्ध मूल अभिलेख, लालमोहर, स्याहामोहर, वंशावली, ताम्रपत्र, शिलालेख, नक्सा तथा अन्य प्राथमिक स्रोत खोजी, संरक्षण र डिजिटल अभिलेखीकरण गर्ने उल्लेख छ । विजयपुरका शासक, सेन वंश, याक्थुङ शासकीय परम्परा र मोरङ–फेदाप सम्बन्धसम्बन्धी स्रोतको अध्ययन गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा छ ।
पुराना तथा आधुनिक नक्सा तयार गरी विजयपुर र लिम्बुवानको ऐतिहासिक भूगोलको तुलनात्मक अध्ययन गर्ने तथा विजयपुरका पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य गर्ने घोषणा गरिएको छ ।
त्यसैगरी याक्थुङ समुदायको ऐतिहासिक भूमि तथा सांस्कृतिक अधिकारसम्बन्धी दाबीलाई प्रमाण, राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय आदिवासी अधिकारका मान्यताका आधारमा अध्ययन गरी विजयपुर भूमिलाई याक्थुङ–लिम्बूसँग सम्बन्धित भूमिको रूपमा स्थानीय तहमा अभिलेखीकरण गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।
विजयपुरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन अनुसन्धान, प्रकाशन, संग्रहालय तथा अभिलेख केन्द्र स्थापना गर्नुपर्ने माग पनि सम्मेलनले गरेको छ ।
सम्मेलनले विजयपुरको ऐतिहासिक भूमिलाई टुक्र्याउने, ऐतिहासिक तथ्य तोडमोड गर्ने तथा विजयपुर दरबार परिसरमा अतिक्रमण गर्ने कार्यको प्रतिवाद गर्ने प्रतिबद्धता जनाएको छ । साथै सरोकारवाला समूह, प्रदेश तथा स्थानीय सरकारलगायतसँग वार्ता र संवाद खुला राख्ने घोषणा गरेको छ ।
विजयपुर सम्मेलन–२०८३ को घोषणापत्रमा आयोजक समितिका अध्यक्ष तीर्थराज मादेन र सचिव मनोज कन्दङ्वाले हस्ताक्षर गरेका छन् । सम्मेलनमा कार्यपत्र व्यवस्थापन, प्रस्तुति तथा टिप्पणीमा विभिन्न अध्येता, इतिहासकार तथा अनुसन्धानकर्ता सहभागी थिए ।