नेभिगेशन
राजनीति

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सुनसरी र सिरहा घटनाका दोषीलाई कानुनी दायरामा ल्याइने

धरान ।  प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत स्थानमा भएका हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिप्रति सरकार गम्भीर रहेको जनाउँदै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने बताएका छन्।

बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष र पारदर्शी छानबिनका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिँदै कुनै पनि दोषीलाई कानुनको कठघरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए।

प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइएको बताए।
घटना भएलगत्तै सुरक्षा निकाय परिचालन गरी थप अप्रिय घटना हुन नदिन र शान्ति–सुरक्षा कायम गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले केन्द्रमा सर्वदलीय बैठक बसेको, स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

प्रधानमन्त्रीका अनुसार स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन, पीडित पक्षसँग संवाद तथा शान्ति–सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुरक्षा निकायका उच्च अधिकारीसहित घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। साथै राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पनि परिस्थितिअनुसार आवश्यक निर्णय गरिसकेको उनले बताए।

सम्बोधनमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, अपुष्ट सूचना, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने गतिविधि नगर्न आग्रह गरे। सरकारी निकायबाट जारी आधिकारिक सूचनामात्र विश्वास गर्न उनले सबै नागरिकलाई अनुरोध गरे।

राज्यको पहिलो दायित्व प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भाव र शान्ति कायम गर्नु भएको उल्लेख गर्दै प्रधानमन्त्रीले शान्ति–सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चालिने चेतावनी दिए।

प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा पालना गर्ने मौलिक हक सुनिश्चित गरेको स्मरण गराउँदै त्यसको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले कुनै एक स्थानमा भएको दुःखद घटनाको आधारमा कुनै सम्पूर्ण समुदायलाई दोषी ठहर गर्दै अन्यत्र प्रतिशोध फैलाउनु न्यायोचित हुन नसक्ने स्पष्ट पारे।

सम्बोधनको अन्त्यमा उनले सबै नागरिक, राजनीतिक दल, नागरिक समाज, धार्मिक समुदाय, सामाजिक अगुवा र सञ्चारमाध्यमलाई धैर्य, संयमता र जिम्मेवारीका साथ सामाजिक सद्भाव, भाइचारा तथा राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न अपिल गरे।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति