नेभिगेशन
स्वास्थ्य/जीवनशैली

बीपी प्रतिष्ठानको नयाँ व्यवस्था : स्वास्थ्य बीमाको ओपीडी कार्ड सात दिनसम्म मान्य हुने

डाक्टरले विभागीय रेफर गरे पुनः दर्ता गर्न नपर्ने

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाका बिरामीले दर्ता गर्ने ओपीडी टिकट सात दिनसम्म मान्य हुने भएको छ । ओपिडी कार्ड दर्ता गरेको सात दिनभित्रमा डाक्टरले रेफर गरे अर्को विभागमा पनि ओपिडी दर्ता गर्नु पर्ने छैन । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिने बहिरङ्ग सेवा (ओपीडी)लाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको हो । 

प्रतिष्ठानले स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ (पहिलो संशोधन, २०८१) बमोजिम ओपीडी सेवा प्रवाह, अभिलेखीकरण र दाबी व्यवस्थापनसम्बन्धी व्यवस्था कडाइका साथ लागू गर्न सूचना जारी गरेको छ ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. इन्द्रकुमार लिम्बूले जारी गरेको सूचना/परिपत्रअनुसार स्वास्थ्य बीमाअन्तर्गत ओपीडी टिकटको दर्ता तथा पुनःदर्ता तोकिएको कार्यालय समयभित्र मात्र गर्न सकिनेछ । यसरी दर्ता गरिएको ओपीडी टिकट सात दिनसम्म मात्र मान्य हुनेछ । सो अवधिभित्र सोही विभागमा फलोअप सेवा लिन पुनः ओपीडी दर्ता गर्नुपर्ने छैन ।

ओपीडी टिकटको मान्य अवधिभित्र बिरामीलाई अर्को विभागमा चिकित्सकीय परामर्श आवश्यक परेमा पुनः ओपीडी दर्ता गर्नुपर्ने छैन । तर उपचाररत चिकित्सकले ओपीडी कार्डमा सम्बन्धित विभागमा ‘रेफर’ गरिएको स्पष्ट उल्लेख गर्दै चिकित्सकीय कारणसमेत खुलाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । सात दिनको मान्य अवधि समाप्त भएपछि थप सेवा लिन भने पुनः ओपीडी दर्ता गर्नुपर्नेछ ।

उपचाररत चिकित्सकको रेफरलविना स्वास्थ्य बीमितले आफ्नो इच्छाअनुसार अर्को विभागको ओपीडी सेवा लिन चाहेमा पुनः ओपीडी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ । यद्यपि, सोही दिन अर्को कुनै विभागको ओपीडी वा फलोअप सेवा लिएको अवस्थामा उक्त सुविधा उपलब्ध नहुने प्रतिष्ठानले स्पष्ट पारेको छ ।

स्वास्थ्य बीमाअन्तर्गत प्रयोगशाला, रेडियोलोजी, औषधि वा अन्य सेवा लिनुअघि बीमितले आफ्नो ओपीडी कार्ड र आवश्यक सम्बन्धित कागजातसहित तोकिएको काउन्टरमा उपस्थित भई स्क्यानिङ गराउनुपर्नेछ । स्क्यानिङ पूरा भएपछि सम्बन्धित काउन्टरका कर्मचारीले ओपीडी कार्डमा ‘स्क्यान्ड’ छाप अनिवार्य रूपमा लगाई प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिष्ठानले प्रत्येक ओपीडी कार्डमा उपचाररत चिकित्सकले बिरामीको रोगको पहिचान, चिकित्सकीय परीक्षणबाट प्राप्त विवरण, उपचार योजना, आवश्यक प्रयोगशाला तथा रेडियोलोजी परीक्षण र गरिने प्रक्रिया वा शल्यक्रियाको नाम स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ । बिलिङ कोड मात्र उल्लेख गरेमा त्यसलाई मान्य नहुने परिपत्रमा उल्लेख छ ।

त्यसैगरी, सिफारिस गरिएका औषधि तथा औषधिजन्य सामग्रीको विवरण स्पष्ट, पूर्ण र पढ्न सकिने गरी लेख्नुपर्नेछ । उपचाररत चिकित्सकको नाम, नेपाल मेडिकल काउन्सिलमा दर्ता नम्बर तथा हस्ताक्षर वा आधिकारिक छापसमेत अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिष्ठानले तोकिएका अनिवार्य प्रक्रिया, आवश्यक विवरण तथा मापदण्ड पूरा नभएको अवस्थामा स्वास्थ्य बीमाअन्तर्गत सम्बन्धित सेवा, परीक्षण, औषधि वा अन्य सेवाको स्क्यानिङ तथा बिलिङ प्रक्रिया अगाडि नबढाउने जनाएको छ । त्यस्ता दाबीहरू स्वास्थ्य बीमा दाबीको समीक्षा तथा मूल्याङ्कनका क्रममा अस्वीकृत वा न्यून मूल्याङ्कन हुन सक्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक प्रक्रिया र मापदण्ड अनिवार्य रूपमा पालना गर्न प्रतिष्ठानले आग्रह गरेको छ ।

प्रतिष्ठानले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा लिने बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै सेवा प्रवाह र दाबी व्यवस्थापनलाई व्यवस्थित बनाउन परिपत्र कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप स्वास्थ्य/जीवनशैली