धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोशी प्रदेशका १४ वटै जिल्लामा इन्टिग्रेटेड प्यालिएटिभ एण्ड हस्पिसस केयर (उपशामक तथा मृत्युको मुखमा पुगेकाहरूलाई गरिने हेरचाह र सहयोग सम्बन्धी सेवा) विस्तार गर्दै बिरामीको घरमै सेवा पुर्याउने योजना अघि सारेको छ ।
प्रतिष्ठानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले उपशामक सेवालाई पूर्वी नेपालमा विस्तार गर्न प्रतिष्ठानको विशेषज्ञता, स्थानीय स्वास्थ्य संस्था र समुदायलाई जोडेर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
‘कोशी प्रदेशका लागि एकीकृत उपशामक तथा हस्पिस हेरचाहका आधारभूत पक्षसम्बन्धी विकास परियोजना’ अन्तर्गत आयोजित कार्यशालामा प्रा. डा. कार्कीले ‘पूर्वी नेपालमा उपशामक सेवाको सुदृढीकरण र विस्तारमा बीपी प्रतिष्ठानको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै यस्तो अवधारणा अघि सारेकी हुन् ।
प्रतिष्ठानको चिकित्सा क्यान्सर उपचार सेवाको पछिल्लो एक वर्षको तथ्यांकअनुसार जीवनको अन्तिम चरणमा पुगेका करिब २०० जना क्यान्सरका बिरामी देखिए पनि सीमित स्रोत, जनशक्ति र भौगोलिक दूरीका कारण १९ जना बिरामीको घरमै पुगेर मात्र हस्पिस सेवा दिन सकिएको उनले बताएकी छन् ।
प्रतिष्ठानले २०८२ साल असारदेखि चिकित्सा क्यान्सर उपचार विभागमार्फत घरमै हस्पिस सेवा सुरु गरेको हो । प्रत्यक्ष घरदैलो सेवा विस्तार गर्न कठिनाइ भएका ठाउँमासमेत ह्वाट्सएप, भाइबरलगायतका माध्यमबाट दूरपरामर्शमार्फत बिरामीको फलोअप भइरहेको कार्कीले बताइन् ।
‘हामीले चाहेर पनि समय, जनशक्ति र भौगोलिक दूरीका कारण प्रत्येक बिरामीसम्म प्रत्यक्ष पुग्न सकिरहेका छैनौं,’ उनले भनिन्, ‘गत एक वर्षको क्यान्सर उपचार सेवाको अनुभव हेर्दा करिब २०० जना बिरामी जीवनको अन्तिम चरणमा पुगेका देखिएका छन्, तर प्रत्यक्ष भेटघाट १९ जना बिरामीसँग मात्र हुन सक्यो ।’
विशेषज्ञ केन्द्रदेखि बिरामीको घरसम्म सेवा
कार्कीको कार्यपत्रले बीपी प्रतिष्ठानलाई विशेषज्ञ सेवाको मुख्य केन्द्र र जिल्ला तथा स्थानीय स्वास्थ्य संस्थालाई सेवा प्रवाहका आधारका रूपमा विकास गर्ने अवधारणा अघि सारेको छ ।
यसअनुसार प्रतिष्ठानले विशेषज्ञ परामर्श, तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने तथा स्थानीय स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमार्फत समुदाय र बिरामीको घरसम्म सेवा पुर्याउने योजना बनाएको छ ।
कार्यशालामा प्रा. डा. विष्णुदत्त पौडेलले ‘आवश्यक उपशामक सेवा प्याकेज र चार आधारस्तम्भमा आधारित उपशामक सेवा प्रणाली’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा उपशामक सेवालाई प्रभावकारी बनाउन आवश्यक आधारभूत सेवा तथा त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने चार प्रमुख आधारस्तम्भमा आधारित सेवा प्रणालीबारे चर्चा गरिएको थियो ।
त्यस्तै प्रा. डा. सञ्जीवकुमार शर्माले ‘स्वास्थ्य प्रणालीमा उपशामक सेवा एकीकरण गर्ने रणनीति : केएचडीसी नमुनाबाट प्राप्त सिकाइ’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । स्वास्थ्य प्रणालीमै उपशामक सेवालाई समेट्ने रणनीति तथा यसका लागि विगतका अभ्यासबाट सिक्नुपर्ने विषय उनको प्रस्तुतिको केन्द्रमा थियो ।
बीपी प्रतिष्ठानकी डा. सोनिया दुलाल र नर्स रोजिता शाक्यले धरानमा प्रतिष्ठानले सञ्चालन गरेको घरमै आधारित हस्पिस सेवाको प्रभाव मूल्यांकन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । घरमै सेवा पुर्याउँदा बिरामी र परिवारमा पर्ने प्रभाव तथा सेवाको प्रभावकारिता मापन गर्ने विषय प्रस्तुतिमा समेटिएको थियो ।
नीति, औषधि र समुदायस्तरको सेवामा जोड
कार्यशालाको पहिलो दिन उपशामक सेवासम्बन्धी नीतिगत संरचना, विद्यमान कमी, चुनौती तथा प्रदेश र स्थानीय सरकारको प्रतिबद्धताबारे छलफल गरिएको थियो ।
त्यस्तै ‘नेपालमा उपशामक सेवा र पीडानाशक औषधिसम्बन्धी नीतिको अवस्था’ विषयमा अन्तरक्रियात्मक सत्र सञ्चालन गरिएको थियो । नेपालमा पीडानाशक औषधिसम्बन्धी नीति, यसको प्रयोगका लागि कानुनी व्यवस्था तथा स्थानीय र तृतीय तहमा औषधिको उपलब्धतामा रहेका कमीका विषयमा छलफल भएको थियो ।
भक्तपुर क्यान्सर अस्पतालकी उपशामक सेवा नर्स राधिका मकाजुले ‘हस्पिस तथा उपशामक सेवामा नर्सको भूमिका’ विषयमा प्रस्तुति दिएकी थिइन् । उनले उपशामक तथा हस्पिस सेवामा नर्सिङ जनशक्तिको भूमिका र समुदायस्तरको हेरचाहमा आवश्यक दक्षताका विषयमा प्रस्तुति दिएकी हुन् ।
अस्पतालको उपचारदेखि घरमै हेरचाहसम्मको अभ्यास
कार्यशालाको दोस्रो, तेस्रो र चौथो दिन सहभागीलाई तीन समूहमा विभाजन गरी नैदानिक व्यवस्थापन, घरमै हस्पिस भ्रमण र बिरामीको अवस्थासम्बन्धी छलफलमा आधारित अभ्यास गरिने कार्यक्रम छ ।
यस क्रममा सहभागीले अस्पतालको वार्डमा गरिने उपचार तथा व्यवस्थापनसँगै बिरामीको घरमै पुगेर हस्पिस सेवा दिने अभ्यास र विभिन्न बिरामीका अवस्थामाथि समूहगत छलफल गर्नेछन् ।
अन्तिम दिन समूहगत कार्य, भूमिकामा आधारित अभ्यास तथा बिरामीलाई आवश्यक सेवाका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने प्रणाली र दूरचिकित्साबारे अभ्यास गरिनेछ । सहभागीको तालिमपूर्व र तालिमपछिको मूल्यांकनसमेत गरिने बताइएको छ ।
परियोजनापछि पनि सेवा निरन्तरता दिने लक्ष्य
उपशामक तथा हस्पिस सेवा विस्तारका लागि नेपाल हस्पिस केयर सेन्टरको आयोजनामा र बीपी प्रतिष्ठान विद्यार्थी क्यान्सर उपचार समूहको समन्वयमा कार्यशाला भइरहेको छ ।
परियोजनालाई क्यानडाको टु वर्ल्डस क्यान्सर कोलाबोरेसन, रोटरी इन्टरनेसनलको विश्वव्यापी अनुदान, रोटरी क्लब अफ काष्ठमण्डप, बीपी प्रतिष्ठान, कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र धरान उपमहानगरपालिकाले सहयोग गरेका छन् ।
कार्यशालाको उद्घाटन सोमबार बीपी प्रतिष्ठानको अडिटोरियम हलमा गरिएको हो । साउन २७, २८ र २९ गते प्रशिक्षण सत्र सञ्चालन हुने र साउन ३० गते समापन तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम छ ।
उपकुलपति कार्कीले परियोजनाको अवधिभर मात्र सेवा सञ्चालन गरेर रोक्न नहुनेमा जोड दिँदै स्थानीय सरकारको स्वामित्व तथा प्रदेश सरकारको नीति र स्रोत सुनिश्चिततामार्फत यसलाई दिगो स्वास्थ्य प्रणालीको अंग बनाउनुपर्ने बताएकी छन् ।
‘हामीले परियोजनाको अवधिभर मात्र सेवा चलाएर रोकिनु हुँदैन,’ उनले भनिन्, ‘स्थानीय सरकारको स्वामित्व र प्रदेश सरकारको नीति तथा स्रोत सहयोगबाट यसलाई दिगो स्वास्थ्य प्रणालीमा रूपान्तरण गर्नुपर्छ ।’
कार्यशालामा प्रस्तुत विभिन्न कार्यपत्र र अभ्यासले उपशामक तथा हस्पिस सेवालाई बीपी प्रतिष्ठानमा मात्र सीमित नराखी विशेषज्ञ अस्पताल, जिल्ला तथा स्थानीय स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीच समन्वय गरी बिरामीको घरसम्म पुर्याउने दिगो प्रणाली विकास गर्नुपर्ने निष्कर्ष अघि सारेको छ ।